हाइलाइट

साकोस मैत्री कानून निर्माणमा मधेश प्रदेशका सहकारीको पनि ऐक्यवद्धता

साकोस मैत्री कानून निर्माणमा मधेश प्रदेशका सहकारीको पनि ऐक्यवद्धता :: Sahakari Akhabar

काठमाडौं । मधेश प्रदेशका सहकारीले पनि साकोस मैत्री कानून निर्माण तथा परिपालनामा ऐक्यवद्धता जनाएका छन् । मधेश प्रदेशका सहकारीहरुले पनि सघ मार्फत स्थानीय तहदेखि संघीय तहसम्म साकोस मैत्री कानून निर्माण तथा परिपालनाको पहलकदमीमा ऐक्यवद्धता रहेको जनाएका हुन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)ले आइतबार बर्दिबासमा आयोजना गरेको मधेश प्रदेशस्तरीय साकोस गोष्ठीमा सहभागिले साकोस मैत्री कानून निर्माणमा ऐक्यवद्धता जनाएका हुन । संघले २५ गते इटहरीमा आयोजना गरेको कोशी प्रदेशस्तरिय साकोस गोष्ठीमा पनि साकोस मैत्री कानून निर्माणमा ऐक्यवद्धता जनाएका थिए ।

गोष्ठीमा मधेश प्रदेशका सहकारी संघसंस्थाहरुका २१५ जना सञ्चालक समिति तथा व्यवस्थापनको प्रतिनिधित्व रहेको थियो । गोष्ठीले साकोस मैत्री कानून निर्माणमा ऐक्यवद्धता सहित पाँच बुँदे साझा प्रतिवद्धता पत्र जारी गरेका छन् ।

बचत तथा ऋण सहकारी संस्थाहरुको उत्साहलाई उर्जावान बनाउने अभिप्रायले प्रदेशस्तरीय गोष्ठी आयोजना गरेको नेफ्स्कूनले जनाएको छ । प्रदेशभित्रका बचत तथा ऋण सहकारी संस्थाहरुबीच विद्यमान सहकारी कानूनी संरचनाको विषय, आन्तरिक नियन्त्रण प्रणाली र बचत तथा ऋण सहकारीको आगामी कार्यदिशाका बारेमा वृहत छलफल गरी सहकारी क्षेत्रका साझा चुनौती र सम्भावनाका विषयमा गोष्ठी केन्द्रीत रहेको जनाइएको छ ।

गोष्ठीमा मधेश प्रदेशका अर्थ मन्त्री सुनिलकुमार यादवले आर्थिक वर्ष २०८२ / ०८३ को बजेटमा सहकारीलाई प्राथमिकता दिईने बताए । गोष्ठीको उद्घाटन गर्दै अर्थ मन्त्री यादवले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि मधेश प्रदेशले आगामी आवको बजेट निर्माणका क्रममा सहकारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्न अभियानसँग परामर्श लिने बताए ।

उनले सहकारीलाई सफल र दिगो बनाउन यसको निगरानी र अनुगमन बलियो बनाउनु जरुरी रहेको बताए । मन्त्री यादवले बचत तथा ऋण सहकारीले समाज र अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेलेको भन्दै यस क्षेत्रको विकास र बिस्तारमा सबैले उक्तिकै महत्वका साथ योगदान गर्नुपर्ने बताए ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई प्रवद्र्धन, विकास र सहजीकरणका लागि सहकारी नियमन प्राधिकरणले सहज बातावरण निर्माण गर्ने विश्वास अभियानले लिएको बताए। उनले बचत तथा ऋण सहकारी संस्थाहरूको लागि नेफ्स्कूनले अभिभावकीय भूमिका खेलिरहेको भन्दै विद्यमान नीतिगत समस्याहरूको समाधानका उपायहरुको खोजीमा पनि संघले निरन्तर सरोकारवालाहरुसँग छलफल गरिरहेको जानकारी दिए ।

मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले सहकारीलाई उत्पादनशील क्षेत्रमा जोड्न अनुरोध गरे । कृषि, नगदेबाली, उखु, दुग्धजन्य पदार्थ, बाख्रा पालन, माछापालनमा सहकारी जोडिएको र अत्यन्त राम्रो परिणाम प्राप्त भएको उनले बताए ।

मधेश प्रदेशले सहकारीको लगानीलाई उत्पादनमुलक क्षेत्रमा जोडेर देशव्यापी र बाह्य मुलुकसम्म उत्पादन र उपभोगमा आत्मनिर्भर बनाउने गरि कामगर्न सक्ने उनको भनाइ थियो । गोष्ठीमा नेफ्स्कूनका सिईओ डा.शिवजी सापकोटाले ‘साकोस अभियानको  प्रवद्र्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी सिए राजन अधिकारीले ‘सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवद्र्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका’ र ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशका विभिन्न बचत तथा ऋण सहकारी संघ संस्थाबाट २ सय १० जनाको सहभागिता रहेको थियो ।

मधेश प्रदेशको साझा प्रतिबद्धता:

१, हामी हाम्रो संघरसंस्थाले अभियान मार्फत मार्गदर्शन गरिएका चरणवद्ध रणनीतिहरुलाई प्राप्त उपलव्धिहरुका आधारमा आगामी दिनहरुमा पनि अनुशरण गर्दै अघिवढ्न प्रतिवद्ध छौं ।

२, हामी हाम्रो संघरसंस्थाहरु भित्र आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन जोखिम सुपरिवेक्षण गराई लेखा सुपरिवेक्षण समितिको भूमिकालाई सुपरिवेक्षकको रुपमा,आन्तरिक नियन्त्रकको रुपमा,आन्तरिक लेखापरीक्षण गर्ने गराउने अङ्गको रुपमा एवम् संगठनको समग्र मार्गदर्शकको रुपमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाई संस्थागत सुशासन कायम राख्न प्रतिवद्ध छौ ।

३, हामी संघरसंस्थामा नेपालको बचत तथा ऋण सहकारीको प्रवद्र्धन विकास व्यावसायिकीकरण,गुणस्तर विकास र सञ्जाल व्यवस्थापनको हरेक चरणहरुमा सहभागिता जनाउने र सघ मार्फत स्थानीय तह देखि संघीय तह सम्म साकोस मैत्री कानून निर्माण तथा परिपालनाको पहलकदमीमा ऐक्यवद्ध छौं ।

४, हामी हाम्रो संघरसस्थाहरुको वित्तीय, सदस्यता, आन्तरिक सञ्चालन र सिकाइ एवम् वृद्धिका विषयमा अभियानले विकास गरेको स्तरीकरणका कार्यक्रमहरु मार्फत साझा सञ्जालमा आवद्ध भई अद्यावधिक गराउन प्रतिवद्ध छौं ।

५, हामी साकोस अभियन्ताहरु सहकारी ऐन बमोजिम गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, तहगत सरोकारवालाहरु,अन्तर्गत रही सहकारी मुल्य, मान्यता र सहकारी सिद्धान्तहरु अंगिकार गर्दै समाज परिवर्तनमा भएका क्रियाकलापहरुको निरन्तरताका लागि संघ मार्फत आफ्नो भूमिका निर्वाह गर्न प्रतिवद्ध छौ ।

नेफ्स्कूनले कोशी प्रदेशस्तरिय साकोस गोष्ठी २५ गते, मधेश प्रदेशस्तरीय साकोस गोष्ठी वैशाख २८ गते सम्पन्न गरेको छ भने लुम्बिनी, कर्णाली तथा सूदुरपश्चिम प्रदेशस्तरीय संयुक्त गोष्ठी नेपालगञ्जमा वैशाख ३१ गते गर्नलागिएको जनाइएको छ ।



Leave a comment