काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षको जिम्मेवारी केदारनाथ शर्मालाई नै दिइएको छ । भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका शर्मालाई प्राधिकरणको अध्यक्षको पनि जिम्मेवारी दिइएको हो ।
शर्मालाई हिजो बैशाख १७ गते भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पद बहाली गरेका थिए । सोमबार मन्त्रालयमा हाजिर हुन आएका सचिव शर्मालाई मन्त्रीपरिषद्को वैशाख १५ गतेको बैठकले सहकारी प्राधिकरण अध्यक्ष तोक्ने निर्णय गरेको थियो ।
यसअघि पनि उक्त मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल नै प्राधिकरणको अध्यक्ष रहेका थिए । पोखरेल सेवा निवृत भएपछि मन्त्रालयमा प्रदेशका मुख्य सचिव शर्मालाई संघिय सचिवमा ल्याइएको थियो ।
अध्यक्ष नियुुक्तिका लागि लोकसेवा आयोगका अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य संयोजक रहने गरी सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्थ छ।
तर, सरकारले सिफारिस समिति निर्माण गर्नेभन्दा पनि मन्त्रालयको पकडमा प्राधिकरण राख्न चाहेकोले सचिवलाई अध्यक्षको जिम्मेवारी दिने गरेको देखिएको छ ।
प्राधिकरणका सदस्यहरु गुरुप्रसाद पौडेल र मदन कोइराला तथा प्राधिकरणका सचिव रविन ढकाल लगायतले अध्यक्षको स्वागत गरेका थिए ।
शर्माको अध्यक्षतामा बसेको पहिलो बैठकले प्राधिकरणका काम, कर्तव्य सक्रिय रुपमा कार्यान्वयन गर्ने र सहकारी दर्ता, नियमन र अनुगमनका मापदण्डहरु यथाशिघ्र स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको जनाइएको छ ।
Leave a comment