मकवानपुरका सहकारीमा सफट्वेयर मार्फत मनपरी

मकवानपुरका सहकारीमा सफट्वेयर मार्फत मनपरी :: Sahakari Akhabar

काठमाडौं । जिल्ला संघहरुको भूमिका कमजोर हुँदा मकवानपुरका सहकारीले सफट्वेयर मार्फत मनपरी कारोबार गर्ने गरेको पाइएको छ । जिल्लाका बचत तथा ऋण सहकारी संस्थामा प्रयोग गर्ने सफट्वेयरमा डिलिट र ब्याक डेटमा ईन्ट्रि गर्ने सुविधा रहेको पाइएको हो । सहकारी ऐन ०७४ले सहकारी संघहरुले संस्थाको अनुगमन गर्नसक्ने ब्यवस्था गरे पनि संघको भूमिका प्रभावकारी नहुँदा सफट्वेयर मार्फत सहकारीले मनपरी गर्नपाएका हुन् ।

जिल्लाको प्रतिनिधित्व गर्दै सहकारीका केन्द्र र महासंघ सम्म सहकारीका नेताहरु रहेपनि सहकारीमा भएको विकृति ढाकछोप गर्ने प्रवृति रहेको र सुधारका कार्य नगरेको पाइन्छ । पछिल्लो समय बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले गरेको एक कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका बचत संघहरुले प्रस्तुती गरेका थिए ।

उक्त कार्यक्रममा प्रस्तुत गरिएको बागमती प्रदेशका बचत तथा ऋण सहकारी संस्थाले सुधार गर्नुपर्ने विषयमा मकवानपुर जिल्लाका सहकारीमा सफट्वेयरमा डिलिट र ब्याक डेटमा ईन्ट्रि गर्ने सुविधा रहेको बताइएको छ । मकवानपुर जिल्ला बचत संघको प्रतिनिधिका रुपमा संघकी अध्यक्ष कल्पना श्रेष्ठ प्रदेश बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष समेत हुन् ।

जिल्लाका समस्यामा मौन रहेका नेताहरु अहिले राष्ट्र बैंकको निर्देशन पछि सलबलाएका छन् । निर्देशनमा जिल्ला संघहरुमा रहेको बचतलाई तरलता गणना नगरिने नीर्देशनले सहकारी नेताहरु संघको मात्र लविङमा लागेको आरोप खेप्दै आएका छन् । यसैगरी जिल्लाका सहकारीमा नगद अपचलन तथा कृतिम ऋण फाईल बनाउने, समयमा लेखापरिक्षण र साधारण सभा नगर्नेजस्ता समस्या देखाइएको छ ।

संचालक, लेखा समितिको बैठक नियमित नभएको, सफ्टवेयरको दुरुपयोग (सफट्वेयरमा डिलिट सुविधा र ब्याक डेटमा ईन्ट्रि) गर्ने सुविधा भएका सफ्टवयेर प्रयोग गर्ने गरेको बताइएको छ । त्यसैगरी सवै संचालकको नाममा ऋण लगानी तथा भाखा नाघेको ऋण धेरै रहेको, प्राथमिक पंजी कोषको १० प्रतिशत भन्दा बढी ऋण लगानी भएको जनाइएको छ ।

ऋण असुलीमा केन्द्रित नभएको, ९० प्रतिशतसम्म ऋणको भाखा नाघेको, संचालक समितिबाट कार्यकारी भएर कार्य गरेको, संस्थाले राखेको हिसाब किताब र बाह्य लेखा परिक्षण नमिलेको कुरा औंल्याइएको छ । धितो भन्दा बढी ऋण लगानी, कार्यक्षेत्र भन्दा बाहिर सदस्यता, अन्तर सहकारी शेयर बचतको कारोबार, सदस्य र संचालकमा भेदभाव (ब्याजदरमा फरकता), साधारण सभाको गणपुरक नपुगेको जस्ता समस्या औल्याइएको छ ।

त्यसैगरी निर्णय पुस्तिका प्रमाणित नभएको, सुचिकृत मूल्यांकन कर्ताबाट धितो मूल्यांकन विना लगानी गरेको पाइएको जनाइएको छ । जिल्लामा जम्मा २०९ वटा बचत तथा ऋण सहकारी रहेकोमा जिल्ला संघमा १३५ वटा संस्था अवद्ध रहेको भएपनि ७४ वटा संस्था संघमा आवद्ध भएका छैनन् । यस वर्ष संघमा १३५ वटा संस्था मध्ये १२२ संस्थाले मात्र नविकरण गरेको जनाइएको छ । त्यसैगरी संघमा आवद्ध १० वटा संस्था समस्याग्रस्त रहेको र ८ वटा समस्याउन्मुख रहेको जनाइएको छ ।

संघले १२२ संस्था मात्र नविकरण गरी ६५ वटा संस्था अनुगमन गरेको र अनुगमन पछि संस्थालाई सुधारात्मक सुझाव दिएको, तरलता ब्यवस्थापन, बहस पैरवी, सुधार योजना निर्माणमा सञ्चालक समितिसंग छलफल गरेको जनाएको छ । त्यसैगरी ब्यवसाय निरन्तरता योजना निमार्ण, सञ्चालन क्षमता विकासका लागि प्राविधिक सहयोग, पदाधिकारी र ब्यवस्थापनसंग अन्र्तक्रियाका साथै स्थानीय तहसंग सम्पर्क र समन्वय गरेको जनाएको छ ।



Leave a comment