सहकारी महासंघकी अध्यक्ष मल्ल ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’बाट सम्मानित

सहकारी महासंघकी अध्यक्ष मल्ल ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’बाट सम्मानित :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’बाट सम्मानित भएकी छन् । अध्यक्ष मल्ललाई पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको हो । संस्थाले १७ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष मल्ललाई ५१ हजार १ सय ११ रुपैँयाँ नगद सहित सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकको अध्यक्षता तथा रािष्ट्रय सहकारी महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश बाँस्कोटाको प्रमुख आतिथ्यतामा चैत्र ३१ गते प्रमुख अतिथि बाँस्कोटाले अध्यक्ष मल्ललाई सम्मान गरेका थिए ।

२०५५ सालमा सहकारी क्षेत्रमा प्रवेश गरेकी मल्लले यो क्षेत्रमा २६ बर्ष भन्दा लामो समय विताई सकेकी छन् । रिलायवल सहकारी संस्थाबाट सहकारी क्षेत्रमा प्रवेश गरेकी मल्लले जिल्ला संघ, विषयगत संघ, राष्ट्रिय सहकारी महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपध्याक्ष हुँदै हाल अध्यक्षको रुपमा रहेर काम गरिरहेकी छन् ।

नेपालबाट भारतमा गई सहकारीमा डिप्लोमा गर्ने मल्ल पहिलो महिला हुन् । त्यसैगरी मल्लले एसिया प्रान्तबाट अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल वोर्ड सदस्यमा निर्वाचित भएर नेपालको सहकारी अभियानलाई विश्वमा चिनाउन समेत महत्वपूर्ण भूमिका खेलेकी छिन् ।

सम्मानित मल्लले सम्मानले आफुलाई थप जिम्मेवार बोध गराएको भन्दै सरकारले गर्नुपर्ने काम प्रारम्भिक सहकारी संस्थाले गरेको भन्दै सहकारी अभियानमा योगदान गर्ने अभियान्ताहरुलाई सम्मान गर्ने सोच सकरात्मक भएको बताइन् ।

उनले राष्ट्रिय अर्गनाइजेशनले गर्ने काम प्रारम्भिक सहकारीले गर्नु आफैमा गर्वको विषय भएको बताइन् । सदस्य र समुदाय केन्द्रीत संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तमा सञ्चालित भई समाजमा राम्रो छाप छाड्न सकेको उनको भनाई छ ।

सहकारी क्षेत्र विषम परिस्थितिबाट गुज्रेको र बितेका केही बर्ष यो क्षेत्रले थुप्रै कुराको सामना गर्नु परेको मल्लको भनाई छ । सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार र अभियानसँगै मिलेर हिडेको र केही सुधार गर्दै लगेको समेत उनको भनाइ छ ।

सरकारले सहकारी क्षेत्रको समस्या समाधान गर्न प्रतिस्थापन विधेयक मार्फत् ऐन संशोधन गरेको भन्दै अध्यक्ष मल्लले अभियानले उठाएका केहि  कुरा सम्बोधन भएको उनको भनाई छ । अभियानमैत्री ऐन बनाउन आफुले निरन्तर पहल गर्दै आएको उनले जानकारी दिइन् ।

सहकारी क्षेत्रको नियमनको लागि सहकारी प्राधिरकण गठन भई सकेकाले बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु पूनः रजिष्ट्रेशन गरी नियमन तथा अनुगमन गर्ने उनले जनाइन् ।

सहकारीका लागि कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष स्थापनाको लागि समेत पहल भई राखेको र सरकारले छिट्टै ल्याउने उनले जानकारी दिइन् ।

संविधान सदस्य हुँदा सहकारीमा महिला नेतृत्वको लागि आफुले पहल गरेको भन्दै उनले अहिले ऐनमा नै व्यवस्था गरेर ३३ प्रतिशत महिलाको सुनिश्चतता भएको बताइन् ।

संस्थाका सञ्चालक, कर्मचारी र सदस्यले सहकारी बुझ्न आवश्यक रहेको भन्दै मल्लले सञ्चालकले सदस्यको कर्तव्य बुझाउनु पर्ने उल्लेख गरिन् ।

नेपालमा नै  सहकारीमा डिप्लोमा र मास्टर युनिर्भसिटीको सुरुवात गरेको जानकारी दिदैँ मल्लले शिक्षा तथा तालिम लिएर काम गर्दा संस्थामा धेरै फरक आउने बताइन् । उनले पाँच तारा जस्ता सहकारी समुदायमा भएको भए यस्ता समस्या नआउने बताइन् ।



Leave a comment