हाइलाइट

यो वर्षको सहकारी थिम ‘मर्यादित सहकारी:समुन्नत समाज’

यो वर्षको सहकारी थिम ‘मर्यादित सहकारी:समुन्नत समाज’ :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ‘मर्यादित सहकारी : समुन्नत समाज’ लाई यो वर्षको सहकारीको थिम तय गरेको छ । नेपालमा सहकारी अभियानको औपचारिक थालनी भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गते मनाइने राष्ट्रिय सहकारी दिवसको यस वर्षको थिम सार्वजनिक गरेको हो । राष्ट्रिय सहकारी महासंघ, नेपालले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उक्त मूल नारा घोषणा गरेको छ।

महासंघमा भएको पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष ओमदेवी मल्लले औपचारिक रूपमा यो थिम सार्वजनिक गरेकी थिइन् । अध्यक्ष मल्लले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व, र सुशासनका आधारमा मर्यादित बनाई मूलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता रहेकाले सो थिम छनोट गरिएको बताइन् ।

सहकारी क्षेत्रको महत्व अझ बढिरहेको उल्लेख गर्दै संविधान सभा सदस्य मल्लले सरकारसँग सहकार्य गरी यस वर्षको राष्ट्रिय सहकारी दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने तयारी भएको जानकारी दिइन् ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको अध्यक्षतामा १५१ राष्ट्रिय सहकारी दिवस मूल आयोजक समारोह समिति बनेको समेत बताइन् । विश्वभरि नै सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रूपमा मनाइरहेको सन्दर्भलाई समेत दृष्टिगत गर्दै सहकारी अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सो थिम तय भएको अध्यक्ष मल्लले बताइन् ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष खेम पाठक, सञ्चालकहरू टेकप्रसाद चौलागाईं र सारदा दाहाल, तथा महासंघका महाप्रबन्धक सुरेश थापाको उपस्थिति थियो । संस्थाहरूको सुदृढीकरणका लागि नीति सुधार, सुशासन, र सदस्यहरूको सशक्तीकरण आवश्यक रहेको महासंघले बताएको छ।

नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेबाट भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै वि.सं. २०५१ सालदेखि हरेक वर्ष चैत २० गतेलाई ‘राष्ट्रिय सहकारी दिवस’ का रूपमा मनाउने परम्परा बसेको हो ।

नेपालकै पहिलो आधिकारिक सहकारी संस्था बखान सहकारी संस्था, चितवन, वि.सं. २०१३ मा स्थापना भएको थियो, जसले नेपालको सहकारी अभियानलाई संस्थागत गर्ने आधार तयार गर्यो । सहकारी आन्दोलनले देशभरका समुदायलाई संगठित गर्दै समृद्धि र सशक्तीकरणको मार्ग प्रशस्त गर्दै आएको छ।

नेपालभर ३२ हजार सहकारी संघ–संस्थाहरूमा ७३ लाखभन्दा बढी सदस्य आबद्ध छन् । सहकारी संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने, वित्तीय पहुँच विस्तार गर्ने, तथा आर्थिक समृद्धि प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेलिरहेका महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सहकारी संस्थाहरूलाई मर्यादित, प्रतिस्पर्धात्मक र समाजमुखी बनाउने दिशामा महासंघको नेतृत्व महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरिएको छ ।  महासंघले सम्पूर्ण सहकारी संघ–संस्था तथा सरोकारवालाहरूलाई ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा मनाउन समेत  आह्वान गरेको छ।



Leave a comment