काठमाडौं । बुधबार प्रतिनिधि सभामा पास भएका पाँचवटा अध्यादेश सरकारले आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत गर्दैछ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन २०८१ लगायत, ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, ‘निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र ‘लगानी अभिवृद्धि अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्तावहरु बहुमतबाट पारित भएको थियो ।
प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लगायत ५ वटा अध्यादेशलाई बहुमतले पारित गरेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेकोे उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभामा यी पाँच अध्यादेशलाई बिहीबार राष्ट्रिय सभामा ‘स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने सरकारको तयारी छ । संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ।
राष्ट्रिय सभाबाट स्वीकार भएपछि सरकारलाई प्रतिस्थापन विधेयक संसदमा लैजाने बाटो खुल्नेछ । प्रतिनिधिसिभामा स्वीकार गरियोस् भनी प्रस्तुत भएका पाँच अध्यादेश नै बिहीबारको सम्भावित कार्यसूचीमा रहेको जनाइएको छ ।
माघ १८ गते सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सहित ६ वटा अध्यादेश पेस गरेको थियो ।
त्यसमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु पास भएका थिए । प्रतिनिधिसभाको बैठक २२ गते दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।
Leave a comment