संस्थाले सदस्य संग बचत र ऋणको मात्र काम गरेन अन्य सेवा सुविधा पनि दिनु पर्छ भनेर २०५८ सालमा संस्थाले सदस्यलाई राहत दिन सदस्य सुरक्षण कार्यक्रम संचालन गर्यो । उक्त कार्यक्रमका साथै विषेश उपचार खर्च लगायतबाट अहिले प्रति सदस्यले ८१ हजार बराबरको राहत पाउँदै आएका छन्।
काठमाडौं । २०५० साल कार्तिक २९ गते काभ्रेको खोपासीमा स्थानीय गुरागाई बन्धुहरु कूल पूजा गर्न भेला हुन्छन् । कूल पूजाकै मेसोमा बन्धुहरु बिच स्थानीयहरुको वित्तिय आवश्यकता परिपूर्ति गर्ने विषयमा छलफल चल्छ । स्थानीयहरुको वित्तिय आवश्यकता पुरा गर्न कि त ! सहकारी की ! गैह्रसरकारी संस्थाको विकल्प खोजिन्छ र उत्तम विकल्पका रुपमा रोजिन्छ सहकारी ।
वित्तिय संस्था गाउँमा नभएको र सेवा लिन काभ्रेको धुलिखेल र बनेपा धाउनु पर्ने बाध्यतालाई चिर्न सहकारी स्थापना गर्ने निधो हुन्छ । उसै वर्ष पुष १२ गते सहकारी संस्था स्थापनाकालागि विधान पनि तयार गरियो ।विधान तयार भएको करिव २ महिना पछि ५५ जनाको समुहले फागुन ६ गते तत्कालिन जिल्ला सहकारी कार्यालय धुलिखेलमा संस्था दर्ता गरे । संस्थाका संस्थापक अध्यक्ष भने भरतप्रसाद शर्मा बने ।
संस्था अहिले ३२ औं स्थापना दिवस मनाउँदै छ । विषेशगरि स्थानीयहरुलाई बचत गर्ने बानिको बिकास गर्ने र उनीहरुलाई गर्जो टार्न, आय बृद्धि गर्न र स्वरोजगार बनाउन सानो तिनो ऋण प्रवाह गर्ने संस्थाले नीति तय गरेको थियो ।
सदस्यले सेवा पाउँदै गए, संस्थाले सफलता चुम्दै गएपछि सदस्यको माग पनि बढ्दै गयो र बैंक वित्तिय संस्थाले दिने सेवाको माग आयो। त्यसपछि संस्थाले २०५२ सालमा नेपाल राष्ट्र बैंकको सिमित बैंकिङ कारोबारको पनि स्विकृति लियो (०७५ / ०७६ बाट राष्ट्र बैंकले हटाएको ) र सदस्यले खोजेजस्तै सेवा दिन थाल्यो ।
सदस्यले अन्य बैंक वित्तिय संस्थासंग कारोबार नै गर्न छाडे । तत्कालिन समयमा संस्थाले स्थानीयहरुलाई वित्तिय मात्र सेवा दिएन स्थानीयस्तरमा भएका सदस्यका सामाजिक समस्यमा पनि सहयोग गर्यो । खोपासिमा भएको खानेपानीको समस्यमा संस्था जोडियो ।
विभिन्न संघ संस्थाको सहयोगमा संस्थाले खानेपानीको समस्या समाधान मात्र गरेन खानेपानीको धारा ब्यवस्थापन गरि संस्थाको बेग्लै छाप छोडन सफल भयो । अहिले पनि उक्त स्थानमा बिन्धबासिनीको नाम भएको ७५ वटा धाराबाट पानी आइरहेको छ । २०५३ सालमा संस्थाले सदस्यकै मागमा आफ्ना हाँगा फिजायो र जिल्लाभर कार्यक्षेत्र बिस्तार गर्यो ।
२०५५ सालमा नेफ्स्कूनको सहयोगमा एसियाली ऋण महासंघ (ओक्कु) ले नेपालमा बचत तथा ऋण सहकारीको प्रवर्धन गर्ने कार्यक्रम ल्यायो । उक्त कार्यक्रममा बिन्धवासिनी सहित नेपालका १५ वटा साकोसहरु सहभागी भएका थिए ।
उक्त कार्यक्रमले सहकारीले दिने सेवामा वित्तिय मात्र नभएर अन्य सेवाका विषयका साथै सदस्य सहभागिताका कुरामा पनि ध्यान दिनुपर्ने विषय थाहा भयो । त्यस लगत्तै संस्थाले विपन्न महिला विकास कार्यक्रम पनि संचालन गर्यो ।
सहकारीले स्थानीयस्तरबाटै सेवा दिनु पर्छ भनेर जिल्लाको चार स्थानबाट सम्पर्क कार्यालयको रुपमा संस्थाको सेवा अगाडी बढ्यो । २०६८ सालमा सेवाकेन्द्रको अवधारण आयो र उक्त सम्पर्क कार्यालयहरु सेवाकेन्द्रका रुपमा संचालन भएर सेवा प्रवाह भइरहेको छ ।
संस्थाले सदस्य संग बचत र ऋणको मात्र काम गरेन अन्य सेवा सुविधा पनि दिनु पर्छ भनेर २०५८ सालमा सदस्यलाई राहत दिन सदस्य सुरक्षण कार्यक्रम संचालन गर्यो । उक्त कार्यक्रमका साथै विषेश उपचार खर्च लगायतबाट अहिले प्रति सदस्यले ८१ हजार बराबरको राहत पाउँदै आएका छन् ।
सदस्य संग संगै चिया त खाने तर पैसा आआफैले तिर्ने सहकारी संस्कार पनि बसालेको छ । वर्तमान अवस्थामा पनि संस्थामा मासिम २ करोडसम्म नियमित रुपमा बचत बृद्धि भइरहेको कार्यकारी प्रमुख लामाको भनाइ छ ।
यसै शिलशिलामा संस्थाले गत आर्थिक वर्ष १ करोड ४७ लाख रुपैंयाँ सदस्यलाई राहत वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामा बताउँछन् । उनी भन्छन्, यो वर्ष झण्डै पौने दुई करोड खर्च हुने देखिएको छ । यो वर्ष काभ्रेमा गएको बाढी पहिरोका कारण भएको सदस्यलाई क्षती बापत संस्थाले करिव ३० लाख राहत बितरण गरेको छ ।
अहिले ७५३ वटै पालिकामा बैंक वित्तिय संस्था पुग्यो भन्छ सरकार तर त्यहाँ आम सर्वसाधारणमा वित्तिय पहँच पुगेको छैन्, बचत गर्न खाता खोल्नेसम्मको काम भएको होला तर सम्पूर्ण वित्तिय कारोबार गर्नसक्ने अवस्था भएको छैन । बरु सहकारीले ती सवैलाई वित्तिय पहुँच पुर्याएको प्रमुख कार्यकारी अधिकृत लामाले बताए ।
हाल अध्यक्ष शान्तकुमार श्रेष्ठको नेतृत्वमा रहेको संस्थाले सदस्यलाई मोबाइल बैंकिङका साथै एटिएम सेवा समेत प्रवाह गरिरहेको छ । संस्थाले सदस्यलाई वित्तिय साक्षरताका साथै ब्यवसाय परामर्शदाता नै नियुक्ती गरेर ब्यवसाय साक्षरताका कार्यक्रम त्यसैगरी जेटिएबाट कृषि सम्वन्धि परामर्श कार्यक्रम संचालन गरेर उद्यमी र स्वरोजगार बन्न चाहनेलाई तालिमको ब्यवस्था पनि गरेको छ।
बचतका साथै ऋण सदुपयोगका कुराहरु पनि संस्थाले सिकाइरहेको छ । साथै संस्थाले संचालक कर्मचारी र सदस्यलाई वित्तिय अनुशासनमा राख्न विभिन्न तालिम शिक्षाका कार्यक्रमहरु नियमितरुपमा संचालन गर्ने गरेको छ । सदस्य संगसंगै चिया त खाने तर पैसा आआफैले तिर्ने सहकारी संस्कार पनि बसालेको छ । वर्तमान अवस्थामा पनि संस्थामा मासिक २ करोडसम्म नियमित रुपमा बचत बृद्धि भइरहेको लामाको भनाइ छ ।
संस्थामा १०५ जना कर्मचारी छन् । सातवटा सेवा कार्यालय र नौवटा सेवाकेन्द्र संचालनमा छन् । काठमाडौमा रहेका सदस्यलाई सेवा दिइरहेको संस्थाले भक्तपुर र ललितपुरमा रहेका संस्थाका सदस्यलाई पनि सेवा दिनेगरी सेवाकेन्द्र संचालनको तयारी गरिरहेको छ ।
संस्थामा हाल ५७ हजार ५०० सदय, ११ हजार ८०० बाल बचतकर्ता रहेका छन् । ५४ करोड सेयर पूँजी, ३ अर्ब ८८ करोड बचत, ५७ करोड विभिन्न कोष र संस्थाको ५ अर्ब १६ करोडको ब्यालेन्ससिट रहेको प्रमुख कार्यकारी अधिकृत लामा बताउँछन्।
आजका दिनसम्म आइपुग्दा संस्थाले विभन्न अन्तराष्ट्रिय पुरस्कार र सम्मान पनि पाएको छ । कर्मचारी, संचालकको मेहनत र सदस्यको विश्वासका कारण २०६५ सालदेखि एक्सेस कार्यक्रममा आवद्ध भएर सिल्भर ब्राण्डसम्म पाएको छ ।
सहकारीले ग्रामिण भेगका मानिसलाई बचत गर्ने चेतना दिएको छ । सहकारीका कारण सदस्यलाई अर्थिकरुपमा अनुशसित त हुन सिकाएको छ नै शिक्षा, स्वास्थ्यलगायत सदस्यको नेतृत्व र ब्यक्तित्व विकासमा पनि सहकारीको योगदान धेरै रहेको उनी बताउँछन्।
पहिला ऋण लिन डराउने सदस्यहरुले अहिले ऋण लिएर सदुपयोग गर्न जानेका छन, भने सहकारीले उद्यमी र सफल ब्यवसायी बनाउने रहेछ भन्ने चेतना दिएको उनको भनाइ छ । संस्थाको नेतृत्व विकास कार्यक्रमले गर्दा संस्थाका सदस्य आज स्थानीय तहको नेतृत्व गर्नेसम्म भएको उनको भनाइ छ । संस्थाले बार्षिक रुपमा गर्ने सामाजिक कर्मकालागि बार्षिक क्यालेण्डर नै तय गरेको छ, उनले भने, बार्षिक रुपमा कम्तिमा २ वटा सामाजिक कार्य गर्नुपर्ने हुन्छ ।
संस्थाका सदस्यहरु उत्पादनमूलक काममा पनि लागेका छन्, तर सदस्यले कुन क्षेत्रमा कति उत्पादन गरेका छन् र त्यसले राज्यको कूल जिडिपिमा कति योगदान पुगेको छ भन्ने तथ्याङ्क संकलन भने गर्न नसकेकोमा उनको दुखेसो छ । संस्थामा भुकम्प, कोरोना अनि वित्तिय संकटजस्ताले पनि छुन सकेन, उनी गर्वका साथ बताउँछन् ।
सहकारी सामाजिक संस्थाका रुपमा रहनुपर्ने उनी भन्छन्, त्यसैले सहकारी सामाजिक संस्था भएकोले यसलाई कुनै संकटले पनि छुननहुने उनको तर्क छ । यस्ता संस्थामा ब्यक्ति गौढ हुने र संस्था प्राथमिकतामा रहनुपर्ने र सदस्यको विश्वास नै संस्थाको भरोषा भएको उनको भनाइ छ।
जिल्लाबाट संस्था भ्रमणमा नियमित सहकारीकर्मी आउने गरेको उनले बताए । गत वर्ष मात्र विभिन्न जिल्लाबाट २६ संस्थाका ४ सय जनाले भ्रमण गरेको उनले बताए । संस्थाले सुरु गरेको लघुवित्त कार्यक्रम र सदस्यलाई राहत बितरण गर्ने कार्यक्रम धेरैले बिन्धवासिनी सहकारीबाट अनुसरण गरेका छन् । संस्था अहिले एकजना सदस्यलाई ९ करोडसम्म ऋण लगानी गर्नसक्ने अवस्थामा पुगेको छ ।
Leave a comment