काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नियमक निकायका निर्देशन अक्षरशः पालना गरेको संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् । उनले पछिल्लो समय संघका वित्तीय विवरणहरु प्रगतिउन्मुख भएको भन्दै विचलित नहुन सदस्य संघ संस्थाहरुलाई आग्रह गरेका छन ।
आर्थिक वर्ष २०७९ / ८० को अन्तिम लेखापरिक्षण यताका सबै वित्तीय विवरणहरु सुधारोन्मुख रहेको उनले दाबी गरे । स्वयं नियमनकारी निकाय सहकारी विभागको प्रतिवेदनले पनि संघको अवस्था संतोषजनक बताइसकेको अध्यक्ष ढकालले बताए ।
अघिल्लो पटक सहकारी विभाग र नेपाल राष्ट्र बैंकले गरेको संयुक्त अनुगमनको आधारमा संघको पर्फमेन्स र पछिल्लोपटक विभागले गरेको फलोअप अनुगमनले पनि संघको समग्र वित्तीय अवस्था सन्तोषजनक तथा सुधारोन्मुख रहेको देखाइसकेको छ, उनले भने । ‘विभागले गरेका दुईवटा अनुगमन प्रतिवेदनले हाम्रो वित्तीय अवस्था स्पष्ट चित्रण गरेका छन्,’ अध्यक्ष ढकालले भने, ‘नियामक निकाय हाम्रो प्रोग्रेसबाट सन्तुष्ट छ ।’
अध्यक्ष ढकालले सहकारीका मूल्य, मान्यता र सिद्धान्त, बचत ऋण सहकारीका सञ्चालन सिद्धान्त, वित्तीय मापदण्ड तथा सरकार एवम् नियामक निकायका निर्देशनहरुलाई संघले अक्षरशः पालना गर्दै आएको बताए । उनले भने, ‘हामीले नक्कली विवरण बनाएका छैनौं । अडिटरले दिएको रिपोर्टमा कहीकतै म्यानिपुलेशन गरेका छैनौं ।
नाफा बाँढ्ने भनेपनि नियमनकारी निकायले सुझाव दिएपछि रोकेका छौं ।’ ‘हिजोको अवस्थाबाट उल्लेख्य सुधार गर्दै सुझाव र निर्देशनहरु पालना गर्दै आएका छौं, सुधार गर्ने विषय कसरी दण्डनीय हुन्छर ।’ अध्यक्ष ढकालले भने, ‘हामीले युवा परिषद्लाई तिनुपर्ने रकम पनि करिब ८ करोडबाट ४ करोड भन्दा तल झारेका छौं । स्थिरीकरण कोषमार्फत सदस्यहरुको गैरस्थलगत जोखिम सुपरिवेक्षणका कामहरु सुरु भएका छन् जसलाई तालुकदार मन्त्रालयले पनि सरकारले गर्ने काम संघबाट भयो भनेर तारिफ गरिसकेको छ ।’
संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले पनि संघको सर्वोच्च निकाय साधारण सभामा पेश भएका वित्तीय विवरणहरु, लेखा परिक्षकले दिएका प्रतिवेदनहरु कुनै किसिमले तोडमोड गरी सदस्यको अहित हुने कार्य संघ सञ्चालक समितिबाट नभएकोले सदस्य संघ संस्थाहरुलाई आश्वस्त रहन आग्रह गरे । उनले सदस्यहरुको बचतको सुरक्षा संघको पहिलो प्राथमिकता भएको र सुरक्षित ऋण लगानीलाई जोड दिएको बताए ।
उनले ‘सम्पत्ति व्यवस्थापनबाट लगानीहरु अहिले राम्रोसँग रिकभर भैरहेको बताए । संघको वित्तिय अवस्था नियमितरुपमा नियामक निकालाई पनि बुझाएका छौं,’ नेफ्स्कूनका प्रवक्ता समेत रहेका बरिष्ठ उपाध्यक्ष अधिकारीले भने, ‘साधारण सभामा जस्ताको तस्तै प्रस्तुत गरिएको छ, हामीसँग अहिले १ अर्ब १३ करोडको गैर बैंकिङ सम्पति छ । प्राथमिक पुँजी कोष २ अर्ब १० करोड रहेको छ भने तरलता ४८.६८ रहेको छ । विभिन्न कोषहरुमा गरी कुल ७० करोड ८१ लाख बढी रकम छ ।’
उनले सदस्यहरुको विश्वास र उत्तिकै बलियो बिरासतको जगमा उभिएको नेफ्स्कूनको वित्तीय अवस्था र कामकारवाही दण्डनीय हुने गरी सञ्चालन हुन्छ भनेर सोच्नु सही होइन । परिस्थितिजन्य प्रतिकूलताले उब्जिएका कमजोरीहरु सुधार भएका छन् ।
संघका महासचिव घनश्याम अधिकारीले संघको नीति कार्यक्रम मार्फत बुटवलमा भएको ३३औं वार्षिक साधारण सभामा आम सदस्यहरुलाई वास्तविक वित्तीय स्थिति उजागर गरेको बताए । सभाले प्रतिनिधिहरुमार्फत ओनरशीप पनि लिएको हो, उनले भने त्यति हुँदाहुँदै पनि विभागको निर्देशन अनुसार प्रर्याप्त प्रोभिजन नहुँदा सम्म लाभांश वितरण स्थगन गर्नु भनिएकोले हामी सोही प्रक्रिया भित्र रहेका छौं । हामी सधैं अभियानको हितमा अभियानलाई साक्षी राखेर काम गर्छौं । त्यस बाहेक एक इन्च पनि तलमाथि वा दायाँबायाँ हुँदैन । परिस्थितजन्य घटनाक्रम र परिवेशले परेको अफ्ठ्यारो हामी सुधार्दै छौं ।’
Leave a comment