प्राधिकरणले हस्तक्षेप हैन सहकार्यमा काम गर्छः मन्त्री अधिकारी

प्राधिकरणले हस्तक्षेप हैन सहकार्यमा काम गर्छः मन्त्री अधिकारी :: Sahakari Akhabar

काठमाडौं । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आज उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्राधिकरणको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री अधिकारीले सहकारीका समस्या समाधानमा गम्भिर भएर लाग्न प्राधिकरणको गठन गरिएको जनाए ।

उनले सहकारीमा देखिएका विकृति र विसंगतीको अन्त्य गर्दै सहकारी प्रवद्र्धनमा योगदान गर्न प्राधिकरणले भूमिका खेल्ने बताए । उनले नयाँ आउँदैमा काम नहुने भनने शंका नगर्न भन्दै सवैलाई सकरात्मक सोच्न आग्रह गरे । सहकारीको वर्तमान समस्या समाधानकालागि प्राधिकरणको आवश्यकता भएर नै सरकारले कदम चालेको बताए ।

उनले वर्तमान समयमा सवैको मागको आधारमा आएको भनाइ थियो । उनले सहकारीको कर्जा सूचना केन्द्र, कर्जा असुली न्याधिकरण लगायता विषय पनि अगाडी बढीसकेको जनाए । प्राधिकरण स्वायक्त र अधिकार सम्पन्न हुने भन्दै यसले हस्तक्षेपको नीति नभएर स्थानीय निकायहरुसंगको सहकार्यमा काम गर्ने जनाए ।

कार्यक्रममा प्राधिकरणका नवनियुक्त अध्यक्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारीका समस्या समाधान गर्न र सहकारीलाई ब्यवस्थित बनाउन प्राधिकरणले आजैदेखि काम थाल्ने बताए । उनले उनले प्राधिकरण दोश्रो तहको नियमक निकायकै रुपमा काम गर्ने जनाए ।

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले प्राधिकरणले आफ्नो उद्देश्य अनुरुप काम गर्ने विश्वास लिएको बताए । प्राधिकरणले अब सहकारी सुशासन र सुद्धीकरणको लागि उद्देश्यअनुरुप काम गर्ने विश्वास लिएको बताएका छन् ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा, लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मार्फत पुस १४ गते सहकारी ऐन २०७४ संशोधन गर्दै प्राधिकरण गठनको व्यवस्था गरेको थियो ।

संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियमनका लागि सरकारले प्राधिकरण गठन गरेको हो । राष्ट्रिय सहकारी विकास बोर्ड रहेको पुल्चोक हरिहर भवनस्थित कार्यालयलाई नै प्राधिकरणको कार्यालय बनाइएको छ । सहकारी अध्यादेश मार्फत बोर्ड ऐन खारेजीसँगै प्राधिकरण स्थापना भएको हो ।



Leave a comment