काठमाडौं । सहकारी अभियानको माउ निकाय राष्ट्रिय सहकारी महासंघका गतिविधिमा चरम राजनीतिक हस्तक्षेप देखिन थालेको छ । संचालक समितिमा एकलौटी रुपमा नेकपा एमाले निकट व्यक्तिहरु मात्र चयन गरी दलको भातृ संगठन बनाएको महासंघले कर्मचारी नियुक्तीमा पनि राजनीतिक आस्थाका आधारमा चलखेल गरेको हो ।
महासंघले गत मंगलबार सुरेश थापालाई महाप्रवन्धमा (जिएम) नियुक्ति गरेको छ । उनी महासंघमा कार्यरत कर्मचारीहरुमध्ये तेस्रो वरियतामा भएपनि उनलाई जिएम नियुक्ती दिनका लागि चलखेल भएको र कर्मचारी प्रशासन कार्यविधि मिचेर छनोट गरेको पाइएको छ ।
महासंघको कर्मचारी प्रशासन कार्यविधि–२०५० मा योग्यता, दक्षता र अनुभवका आधारमा महासंघमा स्थायी रुपमा कार्यरत सिनियर कर्मचारीलाई महाप्रवन्धक नियुक्ती गर्न सकिने प्रावधान छ । यही प्रावधान अनुसार सिनिएर नायव महाप्रवन्धक रहेका बाबुल खनाललाइ बढुवा गर्न सकिने आधार थियो ।
महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बालाई नियुक्ती गर्दा पनि बरिष्ठताको आधारमा बढुवा गरिएको थियो । तर, खनाल भने नेपाली कांग्रेस निकट रहेको भन्दै महाप्रवन्धक नबनाउनका लागि महासंघको संचालक समितिले सुब्बाको राजिनामा स्विकृत गरेकै दिन पदपुर्ति समिति गठन गरी अर्को प्रक्रिया अघि बढाएको थियो ।
खनाललाई नेपाली कांग्रेस निकट भएकै कारण बढुवा नगरिएको महासंघकै एक संचालकले बताए । ‘योग्यता र दक्षताका आधारमा वावुल जी योग्य हुनुहुन्छ’ एक संचालकले भने, ‘राजनीतिक आस्था अर्को भएकै कारण उहाँलाई बढुवा गरिएन ।’
सुब्बाको नियुक्ती बढुवा प्रकृयाबाट संचालक समितिले नै गरेकोले यसपटक पनि सोही प्रकृयाबाट महाप्रवन्धकमा नियुक्ति हुनुपर्ने धेरै संचालकहरुको भनाइ थियो । तर, नेकपा एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारीले थापालाई जिएम बनाउन निर्देशन दिएपछि संचालकहरुले विरोध गर्न सकेनन् ।
महाप्रवन्धक नियुक्तीमा राजनीतिक आधारमा चलखेल भएको भन्दै महासंघका संस्थापक अध्यक्ष दिपक प्रकाश वास्कोटाले साधारणसभामा नै विरोध गर्दै महासंघलाई बहिस्कार गर्ने चेतावनी पनि दिएका थिए । खुल्ला प्रतिस्पर्धाबाट थापालाई महाप्रवन्धकमा ल्याउन पनि चलखेल भएको पाइएको छ ।
महासंघले खुल्ला प्रतिस्पर्धा सुरु भएपछि संचालकहरुले नै खनाललाई प्रतिस्पर्धामा भाग नलिन र बढुवाका लागि निवेदन लेख्न सुझाव दिए । त्यसपछि महासंघ भित्रबाट भने थापालाई मात्र आवेदन गर्न लगाएर छनोट गरिएको देखिएको छ ।
नेकपा एमाले निकट रहेका थापालाई महाप्रवन्धक बनाउन महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडालले पहल गरेका थिए । आफुलाई महाप्रवन्धक बनाउनका लागि अनुरोध गर्न थापा बडालमार्फत पार्टी विभाग प्रमुख अधिकारीसम्म पनि पुगेको स्रोतले बताएको छ । बडाल र अधिकारीको चाहाना अनुसार थापालाई जिएम बनाउनका लागि छनोट समिति पनि बडाल निकट मानिने महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा बनाइएको थियो ।
यसैगरी समितिमा विज्ञका रुपमा समेत बडालका आफन्त रहेका लेखापरिक्षक कमल खरेललाई आमन्त्रित गरिएको थियो । परिक्षाका लागि समेत विज्ञका रुपमा मन्त्रालयबाट सहकारी विभागका उपरजिष्ट्रारबाट हालै सरुवा भएका उपसचिव टोलराज उपाध्यायलाई बोलाइएको थियो ।
सबै सेटिङ मिलाएर मंगलबार नै जिएम छनोटदेखि नियुक्तीसम्मको प्रक्रिया सकाइएको छ । छनोट उपसमितिले आवेदन दिएकाहरुको प्रस्तुतीकरण र अन्तरवार्ता भएपनि सर्ट लिष्ट निकालिएको थिएन । प्रस्तुतीकरण र अन्तरवार्ताबाट मूल्यांकन गरेको थियो ।
उपसमितिको सिफारीसलगत्तै मंगलबार बेलुका नै जुममार्फत संचालक समितिको बैठक राखेर जीएम नियुक्ती सदर गरिएको छ । थापाको नियुक्ती विवादमा पर्ने डरले हतार हतार एकैदिन परिक्षा, अन्तरवार्ता र संचालक समितिको निर्णय प्रक्रिया पुरा गरि पत्र समेत दिइएको स्रोतले बताएको छ ।
महाप्रवन्धक सुब्बाले दुई महिना अघि राजिनामा दिएपछि मंसिर ८ गते खुल्ला प्रतिष्पर्धाको विज्ञापन प्रकाशन गरेको थियो र पछि पुस ८ गते पूनः १२ गतेसम्मको समयवाधी राखेर सूचना प्रकाशन गरेको थियो । १४ जनाको आवेदन परेकामा कोशी प्रदेश सहकारी महाशाखाका बहालवाला रजिष्ट्रार हरिबहादुर खत्रिको समेत आवेदन परेको थियो ।
पहिलो पटकको विज्ञापनमा ८ जनाको मात्र आवेदन परेको भएपनि दोश्रो पटकको सूचनामा थापासंगै ६ जनाको आवेदन परेको देखिन्छ । महासंघको पुष १२ गते ३२ औं बार्षिक साधारण सभा भएको थियो उक्त दिनसम्म आवेदन दिने समय तोकिएको थियो ।
महासंघले कांग्रेस समर्थक संचालक र कर्मचारीलाई निशेध गर्ने नीति लिएको एक कर्मचारीले बताए । यस अघिको समितिले महासंघको कर्मचारी सुब्बालाई महाप्रवन्धकमा नियुक्ती पछि कर्मचारी प्रशासन कार्यविधि समेत परिवर्तन गरेको पाइएको छ ।
Leave a comment