काठमाडौं । नेकपा (एमाले) का सांसद तारा लामा तामाङसहित संचालकलाई ऋण तिर्न नेफ्स्कूनले ३५ दिने सूचना जारी गरेको छ । जनसेवा बचत तथा ऋण सहकारी संस्था कञ्चनपुरले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बाट लिएको ऋण नतिरेपछि सञ्चाकलको नाममा ३५ दिने सूचना जारी गरेकोे हो ।
प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत कञ्चनपुर क्षेत्र नं १मा नेकपा (एमाले)बाट निर्वाचित तामाङ नेकपा(एकीकृत समाजवादी) पार्टीबाट सुदूरपश्चिम प्रदेशको तत्कालीन आर्थिक मामिला मन्त्री समेत रहेका थिए । उक्त संस्थाको अध्यक्ष रहेका तामाङ राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक समेत हुन् ।
कञ्चनपुर जिल्ला पुनर्वास ३, आईबिआरडीमा रहेको संस्थाले नेफ्स्कूनबाट लिएको कर्जा नतिरेपछि सञ्चालकको नाममा ३५ दिने सूचना प्रकाशन गरेको हो । सूचनामा संस्थाले नेफ्स्कूनबाट लिएको ऋणको साँवा, व्याज र हर्जना रकमसमेत तिर्न पर्नेमा हालसम्म नबुझाएको जनाइएको छ।
सहकारीलाई मौखिक तथा लिखित पत्र पठाएर ऋणी संस्था, धितोदाता एवं जमानीकर्ताले तिर्न बुझाउन पर्ने कर्जाको साँवा, व्याज र हर्जना तथा अन्य दस्तुरको रकम भुक्तानी नगरी आलटाल गरेको सूचनामा जनाएको छ ।
तत्काल कर्जा चुक्ता नगरेमा ऋणी संस्था, धितोदाता, धन जमानीकर्ता तथा व्यक्तिगत जमानीकर्ताहरुको सम्पूर्ण धितो लिलाम बिक्रीबाट असुल गर्ने जनाएको छ ।
त्यसबाट पनि असुल नभएमा धनजमानीकर्ता, व्यक्तिगत जमानतदाता एंव ऋणी संस्थाको संचालकहरु वा निजहरुको एकाघर सगोल परिवारको नाममा रहेको चल अचल सम्पति तथा अन्य जायजेथा समेतबाट सहकारी ऐन, नियमावली तथा प्रचलीत कानुन बमोजिम लिलाम बिक्री गरी उठाउने सूचनामा उल्लेख छ ।
उक्त रकम असुल उपर गरी लिने तथा ऋणी संस्थाका पदाधिकारी, धितोदाता एंव व्यक्तीगत जमानीकर्ताहरुलाई कालो सूचिमा राख्ने जनाएको छ । सूचनामा संस्थाका अध्यक्ष तारा लामा तामाङ, उपाध्यक्ष टिका कुमारी सापकोटा, सचिव फैरु तामाङको नाम उल्लेख छ ।
त्यसैगरी धन जमानी दिने संचालक सदस्यमा पार्वती बि.क (लुहार), बलबहादुर तामाङ, देवि खरेल भट्ट, देवि पौडेल, बम बहादुर तामाङ, र मोलाम तामाङ छन । यसैगरी संस्थाको ब्यवस्थापकमा झुरकानी तामाङ रहेका छन् ।
Leave a comment