काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) मा पदको भागवण्डा नमिलेपछि दुई प्यानल बिच चुनाव हुने भएको छ ।
दलगत पदको भागवण्डामा कुरा नमिलेपछि निर्वाचन हुने भएको हो । संघको कार्तिक २३ गते शुक्रबार हुने निर्वाचनमा पार्टीगत भागवण्डामा सहमति नभएपछि निर्वाचनकालागि प्यानल घोषणाको तयारी भएको जनाइएको छ ।
नेकपा एमाले एक्लै र नेपाली कांग्रेसले अरु दलसंग गठबन्धन गरी निर्वाचनामा जाने तयारी गरिरहेको जनाइएको छ । संघमा एमाले पार्टी निकट सहकारीकर्मीले महासचिवको पद छाड्न नमानेपछि सहमती हुननसकेको बताइएको छ ।
महासचिवमा एमालेबाट ठाकुरप्रसाद बास्कोटा र नेपाली कांग्रेसबाट गोविन्दप्रसाद काफ्लेको दावेदारी रहेको छ । बास्कोटा संघका संचालक हुन भने काफ्ले सचिव रहेका छन् ।
सहमतिकालागि नेकपा एमालेले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष महासचिव र लेखा समिति संयोजक जस्ता महत्वपूर्ण पद सहित ९ पद माग गरेको छ भने नेपाली काँग्रेस निकट सहकारीकर्मीले महासचिव लेखा समिति तथा मुख्य तीन पदसहित ६ पदको दावी गरेको एक सहकारीकर्मीले बताए ।
सहमति नहुँदा गठबन्धनले समाजबादीलाई अध्यक्षको उम्मेदवार बनाई निर्वाचनमा जाने तयारी गरेको उनले जनाएका छन् । त्यसैगरी सहमती हुँदा नेकपा माओवादी केन्द्र र अन्य दललाई तीन पदमा सहमति गराई जाने तयारी रहेको जनाइएको छ ।
‘नेकपा एमालेको एकलौटी पनाले सहमती हुने अवस्था देखिको छैन, त्यसैले निर्वाचन हुने पक्का पक्की भएको छ’, उनले भने । संघले साधारण सभामा भाग लिन संस्था नविकरण तथा प्रतिनिधि पठाउने समय कार्तिक १४ गतेसम्मकोलागि थप गरेको थियो ।
संघमा ५२३ सहकारी संघसंस्था रहेकोमा ४५७ संघसंस्थाले नविकरण गरिसकेको संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले जानकारी दिए । उनले प्रदेश सहकारी संघको निर्वाचन प्रकृयामा भाग लिनकालागि ३६४ जनालाई संघसंस्थाले प्रतिनिधिका रुपमा पठाइसकेको बताए ।
Leave a comment