काठमाडौं । सहकारी संस्थाहरुले सूचिकृत नभएका सफ्टवेयरहरु अव प्रयोग गर्न नपाउने भएका छन् । सहकारी संस्थाहरुले सूचिकृत भएका सफ्टवेयरहरु मात्र प्रयोग गर्नुपर्ने भएको छ ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले सूचिकृत नभएका सफ्टवेयर प्रयोग नगर्न सूचना जारी गरेको हो । कार्यालयले असोज १३ गते सूचना जारी गरि सहकारीलाई सेवा दिइरहेका सफ्टवेयर कम्पनिहरुलाई सूचिकृत हुन सूचना जारी गरेको छ ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले सहकारी सफ्टवेयर सेवाप्रदायक संस्थाहरुलाई सूचीकरण गर्न आउने सूचना जारी गरी प्रदेशको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संघसंस्थाले प्रयोग गर्ने सबै प्रकारका सफ्टवेयर प्रदायकहरुले सफ्टवेयरहरु तोकिए बमोजिमको मापदण्ड पुरा गरी अनिवार्य रुपमा सूचीकरण हुनुपर्ने बताएको छ ।
प्रदेशका सहकारी रजिष्ट्रार हरिबहादुर खत्रीले सूचीकरण नभएका सफ्टवेयरहरु प्रयोग गर्न नपाउने प्रावधान भएकाले सो प्रयोजनका लागि सबै सफ्टवेयर प्रदायक संस्थाहरुले सूचिकृत हुन भनेको बताए ।
कार्यालयले सहकारी ऐन, २०७४ को दफा ७२ र प्रदेश सहकारी ऐन, २०७६ को दफा ५९ तथा सहकारी नियमावली, २०७५ को नियम २८ को उपनियम ३ तथा प्रदेश सहकारी नियमावली २०७६ को नियम २० को उपनियम ३ बमोजिम पाँच करोडभन्दा वढी कारोवार गर्ने सहकारी संस्थाले एप्लिकेशन सफ्टवेयरमा लेखांकन गर्न सक्ने व्यवस्था भए बमोजिम सोको प्रभावकारी नियमनका लागि कोशी प्रदेशले सहकारी संस्थाको एप्लिकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि, २०८१ जारी भएको जनाएको छ ।
कार्यालयले उक्त कार्यविधिको अनुसूची १ को ढाँचामा आवेदन दिन र आवेदनका साथमा आफ्नो सफ्टवेयरको टेष्ट युजरनेम र पासवर्ड सहित सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सूचीकरणका लागि आवेदन दिन भनेको छ ।
त्यसैगरी मापदण्डभित्र रही सफ्टवेयर प्रयोग तथा संचालन गर्नका लागि सहकारीले प्रयोगमा ल्याएको सफ्टवेयर कम्पनीलाई सूचीकरणका लागि जानकारी दिन समेत कार्यालयले भनेको छ ।

Leave a comment