काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालकमा केन्द्रीय संघको तर्फबाट चन्द्रप्रसाद ढकाल र बिनोद पराजुली निर्वाचित भएका छन् । बोर्डको आज भएको निर्वाचनमा ढकाल र पराजुली निर्वाचित भएका हुन् । केन्द्रीय संघका तर्फबाट संचालककालागि ढकाल र पराजुली संगै रामचन्द्र कुशवाह सहित तीन जनाको उम्मेदवारी परेको थियो । १६ केन्द्रीय संघहरु मध्येबाट ढकाल र पराजुली निर्वाचित भएका हुन् ।
राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ अनुसार बोर्डमा केन्द्रीय सहकारी संघहरु मध्येबाट २ जना सञ्चालक रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष ढकाल र कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघका अध्यक्ष पराजुली निर्वाचित भएका हुन् । सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ ।
बोर्डमा भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री वा राज्य मन्त्री अध्यक्ष रहने ब्यवस्था छ । त्यसैगरी सहअध्यक्षमा नेपाल सरकारले तोकेको ब्यक्ति नियुक्त हुनेछ भने सदस्यहरुमा राष्ट्रिय सहकारी संघको अध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिव, आपूर्ति मन्त्रालयका सचिवलगायत उद्योग मन्त्रालयका सचिव राष्ट्रिय योजना आयोगका प्रतिनिधि रहने ब्यवस्था छ ।
त्यसैगरी सहकारी विभागका रजिष्ट्रार, पाँच विकास क्षेत्रका सहकारी वा सामाजिक कार्यकर्ताहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत पाँच जना, महिला सहकारीकर्मी हरुबाट एक जना, सम्बन्धित विषयका विशेषज्ञहरुबाट दुई जना साथै कृषि विकास बैंकका महाप्रबन्धक सदस्य रहने ब्यवस्था छ।
त्यसैगरी बोर्डको सदस्य सचिव नेपाल सरकारले तोकेको व्यक्ति नियुक्त हुने ब्यवस्था छ । सदस्य सचिवमा हालै सहकारी विज्ञ, लुम्विनी प्रदेश विशिष्टिकृत सहकारी संघका अध्यक्ष समेत रहेका डा.खगराज शर्मा नियुक्त भएका छन् ।
Leave a comment