नेपाली कांग्रेसको प्रदेशस्तरिय सहकारी अभियान कार्यक्रम चारप्रदेशमा सम्पन्न

नेपाली कांग्रेसको प्रदेशस्तरिय सहकारी अभियान कार्यक्रम चारप्रदेशमा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । सहकारीमा विकृति बढ्नथालेपछि नेपाली कांग्रेसले प्रदेशस्तरिय सहकारी जनचेतना अभिवृद्धि कार्यक्रम थालेको छ । सहकारी अभियानको विषयमा तल्लो तहमा जनचेतना फैलाउन प्रदेशस्तरिय कार्यक्रम संचालन गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेलले आज राजधानीमा भएको सहकारीमा महिला नेतृत्व र भूमिका विषयको छलफल कार्यक्रममा नेपाली कांग्रेसले सातै प्रदेशमा सहकारी चेतना अभिवृद्धि अभियान सुरु गरेको जानकारी दिए ।

उनले तल्लो तहमा गएर सहकारीका बारेमा जनचेतना फौलाउन सके सहकारीमा विकृति कम हुँदैजाने बताए । सहकारी बिना मूलुकले कुनै प्रगती गर्न नसक्ने भन्दै केन्द्रीय सदस्य कंडेलले सरकारले सहकारीका नामबाट ठगी गर्ने, गलत नियतले सहकारीमा संलग्न हुने र सदस्यको बचत अपचलन गर्नेलाई दण्ड जरिवाना गर्न र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न भुल्न नहुने बताए ।

उनले सहकारी जनचेतना अभिवृद्धि आवश्यक रहेकोले नेपाली कांग्रेस त्यसै अभियानमा लागेको भन्दै उनले ४ वटा प्रदेशमा सहकारी जागरण कार्यक्रम सम्पन्न गरिसकेको जनाए । कोशी र मधेश प्रदेशमा तत्कालै उक्त अभियान सम्पन्न गरि बागमती प्रदेशमा बृहत कार्यक्रमको तयारी रहेको उनले जानकारी दिए ।

उनले आफूलाई पार्टीले सहकारी विभागको जिम्मा दिएकोमा धेरै खुसी भएको भन्दै सहकारी मार्फत पिछडिएको वर्गको उत्थान गर्न सकिने भएकोले आफूले जिम्मेवारी पूरा गर्ने पनि बताए । केही ब्यक्तिले सहकारीको नाम बदनाम गराएकोले सहकारी क्षेत्र नै गलत हो भन्ने मानसिकता बाट सबै टाढा बस्नुपर्ने उनको भनाइ थियो ।

सहकारीमा भएका कमी कमजोरीलाई हटाएर यसलाई शुद्ध अभियानका रुपमा अघि बढाउन नेपाली कांग्रेस महत्वका साथ लागिपरेको उनले बताए । अमरावती बलामीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सहकारी विभागका संयोजक भानुभक्त ढकाल, सचिव चन्द्रप्रसाद ढकाल तथा पार्टीका केन्द्रीय सदस्य र सहभागीहरुले सहकारीमा महिलाहरुको नेतृत्व र भूमिकाका विषयमा चर्चा गरेका थिए ।

सभाकी अध्यक्ष बलामीले महिलाहरुले संचालन गरेको र नेतृत्व गरेको सहकारी अब्बल रहेको र न्युनमात्र समस्या रहेको बताइन् । उनले पार्टीको सहकारी प्रतिको धारणा प्रष्ट आउनुपर्ने र नेतृत्वमा आउन महिलालाई शिक्षा जागरण र प्रवर्धनका कार्य गर्नुपर्ने बताइन् । कार्यक्रममा नेपाली कांग्रेस सहकारी विभागका सदस्यलगायत काठमाडौं, भक्तपुर र ललितपुरका महिला सहकारीकर्मीका साथै विभिन्न सहकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


 



Leave a comment