काठमाडौं । कोभिड–१९ महामारीको असर र रुस युक्रेन युद्धका कारण समग्र आर्थिक गतिविधिमा देखिएको शिथिलतासँगै तरलता अभावले सहकारी संस्थाहरु पनि प्रभावित भएका छन् । केही संस्थाहरुले बचत फिर्ता समेत गर्न नसकी समस्याउन्मुख भइरहेका बेला सिंगो सहकारीप्रति सर्वसाधारणको विश्वास घट्दै गएको छ। यहि बेला नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले ३७ औं स्थापना दिवसको अवसर पारेर साकोसका उत्कृष्ट ब्यवस्थापकहरु घोषणा गरेको छ।
संघले देशभरका साकोस ब्यवस्थापक मध्येबाट एक जना र हरेक प्रदेशबाट एक–एक जना गरी कुल आठ जनालाई वर्ष ०८१को उत्कृष्ट ब्यवस्थापक घोषणा गरेको छ । उत्कृष्ट घोषित ब्यवस्थापकलाई संघको आगामी साधारणसभामा पुरस्कृत गरिने संघले जनाएको छ।
नेफस्कूनले उत्कृष्ट ब्यवस्थापक पोखराको पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङलाई घोषणा गरेको छ । स्नातकोत्तर अध्ययन गरेका उनीसँग सहकारी क्षेत्रमा २० वर्ष भन्दा बढीको अनुभव छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारी तालिममा भाग लिइरहने गुरुङ सहकारी प्रशिक्षकका रुपमा समेत परिचित छन् ।
हाल २ अर्व ५३ करोड ५४ लाख ८० हजार रुपैयाँ कूल सम्पत्ति रहेको संस्थाको नेतृत्व गरिरहेका उनी मातहत ३८ जना कर्मचारी छन् । १५ करोड १३ लाख १९ हजार सेयर पूँजी रहेको पोखरा रोयल साकोसको जगेडा कोषमा १९ करोड ९४ लाख १३ हजार तथा अन्य कोषमा ११ करोड २० लाख ९७ हजार रहेको छ ।
त्यसैगरी संस्थागत पूँजी १९ करोड ९४ लाख १३ हजार रुपैंयाँ रहेको छ । संस्थाले साउन मसान्तसम्म १ अर्ब ९२ करोड १५ लाख १४ हजार बचत संकलन गरी १ अर्ब ६८ करोड ५८ लाख ४ हजार ऋण लगानी गरेको छ। त्यसैगरी संस्थामा साउन मसान्तसम्म ९ हजार ४६७ जना सदस्य रहेको संस्थाले १ हजार ३२४ जना सदस्यलाई लगानी गरेको छ।
नेफस्कून कोशी प्रदेश उत्कृष्ट व्यवस्थापक कनकलक्ष्मी साकोस मोरङका गोपाल देउजा घोषित भएका छन् । सहकारीमा १० वर्षभन्दा बढीको अनुभव भएका देउजाले स्नातक उर्तिण गरेका छन् । ब्यवस्थापक देउजाले नेतृत्व गरेको संस्थामा १९ जना कर्मचारी कार्यरत छन् ।
संस्थाको साउन मसान्तसम्म ७ करोड ४७ लाख ५३ हजार रुपैयाँ शेयर पूँजी रहेको छ भने ५० करोड ९७ लाख ७ हजार बचत संकलन गरी ५० करोड २० लाख ८३ हजार रुपैयाँ ऋण लगानी गरेको छ । ७ हजार ४४२ सदस्य रहेको संस्थाले १ हजार ९०० जना सदस्यलाई ऋण लगानी गरेको छ । संस्थासँग हाल २०.८३ प्रतिशत तरलता रहेको छ । संस्थाको कोषमा ७ करोड ७१ लाख १६ हजार रुपैंयाँ तथा ७० करोड ३१ लाख ८७ हजार कूल सम्पति रहेको छ ।
यस्तै नेफस्कून मधेश प्रदेश उत्कृष्ट व्यवस्थापकमा नन्देश्वर महिला साकोस सर्लाहीकी कबिताकुमारी कार्की घोषित भएकी छन । सहकारी क्षेत्रमा १० वर्षको अनुभव रहेकी कार्कीले नेतृत्व गरेको संस्थामा २ हजार २२३ जना सदस्य रहेको छन् भने शेयर पूँजी १ करोड ३० लाख ७४ हजार रहेको छ।
संस्थाले गत साउन मसान्तसम्म ८ करोड ४० लाख ९० हजार निक्षेप संकलन गरी १० करोड कर्जा लगानी गरेको छ । संस्थाको जगेडा कोषमा ७८ लाख ४४ हजार रहेको छ भने अन्य कोषमा २ लाख ६२ हजार रहेको छ । ७९ लाख ३५ हजार संस्थागत पूँजी रहेको संस्थामा १२ करोड ४५ लाख ८५ हजार कूल पूँजी रहेको छ । ७३० जना बाल सदस्य रहेको संस्थाले ८८५ जनालाई ऋण लगानी गरेको छ।
नेफस्कून बागमती प्रदेश उत्कृष्ट व्यवस्थापक चमेली कल्याणकारी साकोस भक्तपुरका सुदर्शन चौलागाई घोषित भएका छन् । सहकारी क्षेत्रमा २२ वर्ष माथिको अनुभव रहेका चौलागाईले ब्यवस्थापन सम्हालेको संस्थामा १४ जना कर्मचारी तथा ५ हजार ४४ जना सदस्य छन । ६ करोड ३९ लाख ६४ शेयर पूँजी रहेको संस्थाले असार मसान्तसम्म ६९ करोड ७५ लाख ८६ हजार बचत संकलन गरी १ हजार २०८ जना सदस्यलाइ ६९ करोड १८ लाख ५१ हजार ऋण लगानी गरेको छ।
संस्थामा हाल ७ करोड २० लाख २३ हजार रुपैंयाँ जगेडा कोषमा रहेको संस्थाको विभन्न कोषमा ४ करोड ४६ लाख ५३ हजार रहेको छ । संस्थागत पूँजी ७ करोड ४३ लाख ५३ हजार रहेको छ भने संस्थामा ९१ करोड ५१ लाख १० हजार कूल पूँजी रहेको छ । संस्थामा २० करोड ६५ लाख ४९ हजार अर्थात २९ दशमलव ६१ प्रतिशत तरलता रहेको छ।
त्यसैगरी नेफस्कून गण्डकी प्रदेश उत्कृष्ट व्यवस्थापक नवराज श्रेष्ठ भिमकुल साकोस गोरखाका ब्यवस्थापक हुन् । उनले ३० करोड ८४ लाख २७ हजार बचत, २८ करोड २२ लाख ८४ ऋण लगानीलाई ब्यवस्थापन गरिरहेका छन् ।
सहकारी क्षेत्रमा १० वर्ष माथिको अनुभव रहेका श्रेष्ठले सम्हालेकोे संस्थामा ३ करोड ९१ लाख २ हजार शेयर पूँजी, जगेडा कोषमा ३ करोड ५९ लाख १२ हजार रुपैयाँ रहेको छ । ४ हजार २५८ जना सदस्य रहेको संस्थामा १ हजार २४ जना ऋणी सदस्य रहेका छन् । संस्थामा हाल १२ करोड ५ लाख २६ हजार अर्थात ३९.०८ प्रतिशत तरलता रहेको छ । संस्थागत पूँजी ३ करोड ८६ लाख ५६ हजार रहेको संस्थामा ४३ करोड १८ लाख ५७ हजार कूल सम्पति रहेको छ।
यस्तै, नेफस्कून लुम्बिनी प्रदेश उत्कृष्ट व्यवस्थापकमा नमुना महिला बिकास साकोस, रुपन्देहीकी मञ्जु गोदार घोषित भएकी छन् । स्नातकोत्तर गरेकी उनीसंग सहकारी क्षेत्रमा १० वर्ष माथिको अनुभव रहेको छ। ४० करोड ७७ लाख १२ हजार कूल सम्पति रहेको संस्थाको नेतृत्व गरिरहेकी गोदारको संस्थामा ४ हजार ७१० जना सदस्य रहेका छन् भने १ हजार ६१६ बाल बचत तथा १ हजार २२२ जना ऋणी सदस्य रहेका छन्।
संस्थाले साउन मसान्तसम्म ३० करोड ७८ लाख ८० हजार रुपैयाँ बचत संकलन गरी २९ करोड २४ लाख ५८ हजार रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको शेयर पूँजी २ करोड ९७ लाख ४४ हजार तथा जगेडा कोषमा २ करोड १३ लाख ६९ हजार रहेको छ । संस्थाको संस्थागत पूँजी २ करोड २५ लाख रहेको छ भने ८ करोड १६ लाख ६३ हजार अर्थात २६.५२ प्रतिशत तरलता रहेको छ।
त्यसैगरी नेफस्कून कर्णाली प्रदेश उत्कृष्ट व्यवस्थापकमा जनसेवक साकोस दैलेखका विपिन गुरुङ घोषणा भएका छन् । सहकारीमा ५ वर्ष लामो अनुभव रहेका गुरुङले स्नातक गरेका छन् । उनी आवद्ध संस्थाले असार मसान्तसम्म ६८ लाख ८५ हजार सेयर पूँजी तथा ४ करोड २५ लाख ९१ हजार निक्षेप संकलन गरी ५ करोड ३३ लाख २८ हजार ऋण लगानी गरेको छ।
१ हजार ३४ जना सदस्य रहेको संस्थाले २७९ जनालाई ऋण लगानी गरेको छ । संस्थाको जगेडा कोषमा १ करोड ६ लाख ५ हजार रहेको छ भने ६ करोड ९२ लाख ६ हजार कूल सम्पति रहेको छ । १ करोड ७ लाख २४ हजार संस्थागत पूँजी रहेको संस्थामा १ करोड १७ लाख ९२ हजार अर्थात १७.०४ प्रतिशत तरलता रहेको छ।
यसैगरी नेफस्कूनको सुदुरपश्चिम प्रदेश उत्कृष्ट व्यवस्थापक घोषित भएका लालबहादुर भण्डारीले १३ करोड ५४ लाख ७६ हजार कूल सम्पति रहेको तिला कर्णाली साकोस कैलालीको व्यवस्थापकीय नेतृत्व गरिरहेका छन । स्नातक गरेका उनको सहकारी क्षेत्रमा १० वर्ष माथिको अनुभव छ । १ करोड २१ लाख ३१ हजार शेयर पूँजी रहेको संस्थामा २ हजार १८१ जना जम्मा सदस्य र ९३१ ऋणी सदस्य रहेका छन्।
संस्थाले साउन मसान्त सम्ममा ८ करोड ६८ लाख ४३ हजार बचत संकलन गरी ८ करोड ६७ लाख ९४ हजार ऋण लगानी गरेको छ । त्यसैगरी ९ जना कर्मचारी रहेको संस्थामा ९१ लाख ९७ हजार संस्थागत पूँजी तथा ७७ लाख ४४ हजार जगेडा कोष र २४ लाख ३२ हजार अन्य कोष रहेको छ । संस्थामा ३ करोड ५० लाख ६३ हजार अर्थात २५.८८ प्रतिशत तरलता रहेको छ।
Leave a comment