काठमाडौं । तरलता अभाव भएर सदस्यको बचत फिर्ता गर्न समस्या भइरेको समयमा सहकारीहरुलाई राष्ट्रिय सहकारी महासंघले कोषमा रकम जम्मा गर्ने उर्दी गरेको छ । महासंघले स्थापना गरेको राष्ट्रिय सहकारी विकास कोषमा योगदान गर्न भन्दै सूचना जारी गरेको हो ।
महासंघले स्थापना गरेको कोषमा ९६ लाख रहेको पनि जनाएको छ । उता सहकारीहरुले नै योगदान गरेको भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहेको सहकारी प्रवर्धन कोष भने परिचालन हुन सकेको छैन ।
मन्त्रालयले कोष स्थापना गर्दै सहकारी संस्थाबाट रकम संकलन गरेपनि न योगदान गरेका संस्थाहरुको रेकर्ड राखेको छ न त जम्मा भएको रकम परिचालन नै गरेको छ । कोषमा जम्मा भएको ९ करोड १९ लाख बढी रकम अलपत्र परेको छ । महालेखाले कोषमा कुल ९ करोड १९ लाख ६७ हजार रुपैयाँ पुगेपनि कुन संस्थाले योगदान कति गरे भन्नेबारेमा यकिन बिवरण समेत राख्न नसकेको उल्लेख गरेको छ ।
‘कोष सचिवालयले सहकारीहरूबाट बिवरण संकलन नगरी बैंक स्टेटमेण्टको आधारमा एकमुष्ट आम्दानी जनाउने गरेकोले रकम दाखिला गर्ने सहकारीको बिवरण यकिन हुने अवस्था छैन’ महालेखाको ६१ र्औ प्रतिवेदनमा भनिएको छ । महालेखाले सहकारी संस्थाहरूको अनगुमन गरी कोषमा जम्मा भएको रकम प्रभावकारी रुपले परिचालन गर्न समेत निर्देशन गरेको छ।
यता सहकारी महासंघको उक्त कोषमा विभिन्न सहकारी संघ र संस्थाबाट योगदान भई हाल ९६ लाख ४४ हजार ८३० र जम्मा रहेको जनाएको छ । सूचना जारी गर्दै महासंघले नीतिगत पहलकदमी, समस्या समाधानार्थ बहसपैरवी, अध्ययन अनुसन्धान, असल अभ्यासहरूको प्रचारप्रसार, संस्थागत क्षमता अभिवृद्धिलगायतका क्रियाकलाप संचालन गर्न महासंघले स्थापना गरेको कोषमा एक पटक योगदान गर्न भनेको छ।
हाल केही सहकारीमा देखिएको समस्याका कारण अभियानप्रतिको विश्वासमा चुनौती थपिएको महासंघको भनाइ छ । सहकारी नियन्त्रित नियामकीय प्रावधानको बहस सिर्जना भएको भन्दै सहकारीको मूलभूत सिद्धान्त स्वायत्तताको रक्षा गर्दै अनुकुल वातावरण निर्माणकालागि महासंघ दरिलो पहलकदमीतर्फ केन्द्रित हुन आवश्यक रहेको उल्लेख गरेको छ । यसका लागि महासंघ स्वंम आत्मनिर्भर र श्रोतसाधन सम्पन्न हुनुपर्ने जनाएको छ।
यस्तो छ महासंघको विनियममा कोषको व्यवस्था
१, प्रवेश शुल्क,
२, शेयर पूंजी,
३, सदस्यहरूवाट संकलित वचत,
४, नेपाल सरकार वा अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरूवाट प्राप्त हुने आर्थिक सहायता, अनुदान वा दान दातव्य,
५, सदस्य संघ र संस्थावाट प्राप्त हुने सेवा शूल्क,
६, कारोवारवाट प्राप्त बचत,
७, वित्तिय संस्था तथा अन्य संस्थाहरूवाट प्राप्त हुने ऋण,
८, ऋणपत्र विक्री वाट प्राप्त हुने रकम
९, महासंघले प्रचलित कानुन वमोजिम आर्जन गरेको सबै किसिमका आम्दानीहरू ।
१०, सहकारी प्रवर्धन कोषबाट प्राप्त हुने रकम
कसरी हुन्छ कोषको उपयोग
१, विनियममा उल्लेख भए बमोजिम महासंघको स्वीकृत योजना अनुसार कार्यक्रम वा व्यवसाय सञ्चालन गर्न ।
२, ऋण पत्र खरीद गर्न वा ऋण लगानी गर्न ।
३, स्वीकृत योजना अनुसारको कार्य गर्नका लागि आवश्यक स्थिर सम्पत्ति खरीद गर्न ।
४, कुनै संघ र संस्था निकाय वा बैंकको शेयर खरीद गर्न ।
५, कुनै बैंकको बचत वा मुद्दती खातामा जम्मा गर्न ।
Leave a comment