काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी आन्दोलनलाई समस्याबाट बाहिर निकाल्नुपर्छ भन्ने सरकारको दृष्टिकोण रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघसँगको भेटमा अर्थमन्त्री पौडेलले भने,‘सप्रेको खेतीमा पनि कहिलेकाँही सलह लाग्छ, अहिले सहकारी आन्दोलनमा केहि चुनौती देखिएको छ। त्यसो भन्दैमा सहकारी आन्दोलन बेठिक थियो भन्ने होइन । यो नेपालको अर्थतन्त्रको बलियो आधार हो । यसलाई चुनौतीबाट पार लगानुपर्छ ।’ सहकारीलाई स्वनियमनमा फर्कने आधार बनाएर हाललाई नियमनको केहि व्यवस्थापन गर्ने अर्थमन्त्री पौडेलले बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको चुनौती समाधानका लागि कर्जा सूचना केन्द्र, ऋण असुली न्यायधिकरण तथा बचत तथा ऋण सुरक्षण कोषका लागि सहयोग गर्नुपर्ने र सहकारीलाई उत्पादन, उद्योगमा लैजानका लागि ४७ वटा ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने बताइन् । महासंघले आजै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीलाई पनि भेटेको थियो । मन्त्री अधिकारीले सहकारी ऐन संशोधनका लागि तयारी भइरहेको बताए ।
Leave a comment