हाइलाइट

संसदीय छानविन विशेष समितिले सहकारी अभियानसंग माग्यो सुझाव

संसदीय छानविन विशेष समितिले सहकारी अभियानसंग माग्यो सुझाव :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले रहकारी अभियानसंग सुझाव मागेको छ । समितिले आज राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकका पदाधिकारी एवम् कर्मचारीसँग सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरी सुझाव मागेको हो ।

समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा छलफल भएको थियो । छलफलमा समितिका सभापति सुर्य थापाले सहकारी समस्याका बारेमा र समाधानको उपाय पत्ता लगाउने सम्बन्धमा विभिन्न सरोकारावालसँग छलफल जारी रहेको बताए ।

उनले तथ्यगत रुपमा अध्ययन अनुसन्धान गरेर समस्या समाधानका लागि उपाय खोजी गर्ने बताए । उनले विगतका विभिन्न समितिका प्रतिवेदन समेत अध्ययन गरिरहेको बताउँदै समस्या पालेर समाधान खोज्न नहुने बताए। छलफलमा सांसद ध्रुवबहादुर प्रधान, लेखनाथ दाहाल, शिशिर खनालले सहकारी संस्थाहरुमा देखिएको संकट समाधानका लागि गर्नुपर्ने आवश्यक कार्यको विषयमा अभियानकर्मीसँग सुझाव लिएका थिए ।

महासंघका अध्यक्ष ओमदेवी मल्लले समस्या हुनुको मुख्य कारण र समाधानका उपायहरुको विषयमा जानकारी गराउँदै लिखित रुपमा समेत सुझाव बुझाएकी थिइन् । छलफलमा महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्ष डिवि बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईको उपस्थिति रहेको थियो ।

समितिले राष्ट्रिय राजनीतिक दलहरुसँग पनि सुझाव माग गर्ने निणर्य गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुसँग सुझाव माग्ने निर्णय गरेको समितिका सभापति सूर्य थापाले बताए ।



Leave a comment