काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे दुई महिना लगाएर ४० वटा सहकारीको अनुगमन गरेको छ । महानगरले कार्यक्षेत्र भित्रका ४० वटा सहकारी संस्थाको अनुगमन गरेको हो । महानगरले कार्यक्षेत्र भित्रका सहकारीको गत वर्षको चैत्र १६ गतेदेखि अनुगमन थालेर २०८१ को असार ७ गते सम्पन्न गरेको थियो ।
अनुगमनमा महनागरलाई जिल्ला सहकारी संघ काठमाडौंले सघाएको संघकी उपाध्यक्ष एबी महर्जनले जानकारी दिइन् । उनले भनिन्, ‘महानगरले गरेको अनुगमनमा जिल्ला सहकारी संघका पदाधिकारीहरु पनि संगै रहेका थियौं, रिपोर्ट तयार हुँदैछ, केही समयमा सार्वजनिक पनि हुन्छ होला ।’
सहकारीहरुमा समस्या बढ्दै गएपछि विभागमा परेको उजुरी र गुनासोका आधारमा महानगरले जिल्ला संघ तथा स्थानीय प्रतिनिधिको रोहबरमा अनुगमन गरेको थियो । अघिल्ला बर्षहरुमा केही सहकारीको मात्रै अनुगमन गरेको विभागले यो वर्ष भने ४० वटा संस्थाको अनुगमन सकेको छ ।
४० वटा सहकारीको अनुगमन गर्दा महानगरले २ वटा सहकारी संस्थाको फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाएको जनाएको छ । विभागले कालिमाटीमा रहेको सुमेरु बचत तथा ऋण सहकारी र स्क्वायर बचत तथा ऋण सहकारीको फाइल थप अनुसन्धानका लागि सीआईबीमा पठाएको हो ।
दुबै सहकारीको कारोबार शंकास्पद देखिएपछि फाइल ब्यूरोमा पठाएको महानगरले जनाएको छ । अनुगमनमा समस्यामा परेका, बचत फिर्ता गर्न नसकेका सहकारी मात्र नभएर महानगरमै रहेर उत्कृष्ठ काम गरिरहेका सस्था पनि रहेको जिल्ला संघकी उपाध्यक्ष बलामीले बताइन ।
उनले समस्यामा परेका संस्थालाई सल्लाह सुझाव तथा सुध्रने अवसर दिने गरेको छ भने अनुगमनमा उकृष्ठ भेटिएका संस्थालाई नगद पुरस्कार समेत दिने नीति महानगरको रहेको जानकारी दिइन् । सदस्यकोे साढे ७ करोड ठगी आरोप लागेका स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्क्वायर बचत तथा ऋण सहकारी संस्था अध्यक्ष, सचिव र सदस्यलाई पक्राउ गरेको छ । सदस्यहरुको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ बचत अपचलन गरेको आरोप लागेका संस्थाका अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक, सदस्य धर्मरत्न पाछैंलाई ब्यूरोले २५ गते पक्राउ गरेको हो ।
सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालकलाई भने प्रहरीले खोजी कार्य जारी राखेको छ । महानगरले अनुगमन गरेको सहकारीमध्ये अन्य केही सहकारीलाई पनि थप अनुसन्धानका लागि सीआईबीमा पठाइने बताइएको छ ।
महानगरले अनुगमन गरेका सहकारीहरु:
महानगरले अनुगमन गरेका सहकारीहरुमा महागुथि बहुउद्देश्यीय सहकारी, अग्रिम बाँसबारी बचत तथा ऋण सहकारी, साई स्वागत बचत तथा ऋण सहकार, पर्यटन व्यवसायी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, आनन्दनगर बचत तथा ऋण सहकारी, स्क्वायर बचत तथा ऋण सहकारी रहेका छन् ।
त्यसैगरी यलुङ बचत तथा ऋण सहकारी, सराफी बचत तथा ऋण सहकारी, महिला शक्ति बचत तथा ऋण सहकारी, महिला तरकारी व्यवसायी बचत सहकारी, रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी, श्रद्धा सबुरी बचत तथा ऋण सहकारी संस्था, गोफल पलान्चोक भगवती बचत सहकारी र आधारभूत बहुउद्देश्यीय सहकारीको अनुगमन गरेको थियो ।
यसैगरी उक्त अवधीमा महानगरले इजि वे बचत तथा ऋण सहकारी, तेजवान बहुउद्देश्यीय सहकारी, विजय शान्ति बचत तथा सहकारी सहकारी, सामुहिक परिवर्तनशिल महिला बचत सहकारी, माता पञ्चकुमारी बचत तथा ऋण सहकारी, न्हुँ बचत तथा ऋण सहकारी, पशुपति सेवा उपभोक्ता सहकारी, सत्कार बचत तथा ऋण सहकारी सहकारीको पनि अनुगमन गरेको थियो ।
भूदेव बहुउद्देश्यीय सहकारी, भिजन बचत तथा ऋण सहकारी, महावौद्ध बचत तथा ऋण सहकारी कुस्मावती बचत तथा ऋण सहकारी, आधारशिला बचत तथा ऋण सहकारी, पचली बहुउद्देश्यीय सहकारी, मैजुबहाल बहुउद्देश्यीय सहकारी, अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी, परियोजना बचत तथा ऋण सहकारी, नमो हारती बचत तथा ऋण सहकारी, अनामनगर बचत तथा ऋण सहकारी, छक्कु बक्कु भगवती बचत तथा ऋण सहकारी, सिल्भर स्टार बचत तथा ऋण सहकारी, शैक्षिक उत्थान बचत तथा ऋण सहकारी, परावर्तन बहुउद्देश्यीय सहकारी, दक्षिणा बचत तथा ऋण सहकारी संस्था तथा नव विश्वास बचत तथा ऋण सहकारीको अनुगमन सकिएको अपाध्यक्ष बलामीले जानकारी दिइन् । हाल काठमाडौं महानगरपालिकाको कार्य क्षेत्रमा १९२३ सहकारी संस्था रहेका छन् ।
Leave a comment