सहकारीमा ‘हुल अफ ल’ स्थापित गर्ने प्रयास भइरहेको छः मन्त्री अर्याल

सहकारीमा ‘हुल अफ ल’ स्थापित गर्ने प्रयास भइरहेको छः मन्त्री अर्याल :: Sahakari Akhabar

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सहकारीमा ‘हुल अफ ल’ स्थापित गर्ने प्रयास भइरहेको बताएका छन् । उनले सहकारीमा अहिले ‘रुलअफ ल’ बिर्साउने र ‘हुल अफ ल’ स्थापित गर्ने प्रयास भइरहेको बताएका हुन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो रोजगार मेलाको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीमा नगन्यरुपमा केहीले गरेको बदमासिले सिंगो संस्थालाई नै बदनाम गराउन लागीपरे पनि संघ महासंघहरु प्रतिरक्षामा उत्रनुपर्नेमा संरक्षणमा लागेको आरोप लगाए ।

उनले भने, ‘सहकारीको बदनाम गराउनेहरु नै नीति नियम बनाउनेमा पहुँच पुर्याउने र सहकारी अभियन्ता भएर बदनाम गराउनेलाई नै उराली रहेको देखिन्छ । उनीहरुले कसरी ‘रुलअफ ल’ बिर्साउने र ‘हुल अफ ल’ स्थापित गर्ने भन्ने प्रयास भइरहेको देखिन्छ, यस्तो प्रवृतिले सहकारी टुङ्गोमा पुग्न गाह्रो हुन्छ।’

नेपालमा सहकारीले पुर्याएको योगदानको विषयमा बोल्न हामी किन डराएको हो, उनले प्रश्न गरे । त्यसैगरी उनले एउटा जमात सहकारी ठगीगर्ने थलो भनेर बहस गर्न ब्यस्त रहेको र अर्को जमात आफूहरुले राखेको अबैद्ध सम्पत्ति लुकाउन सकिन्छ भनेर बदनाम गर्न ब्यस्त रहेको बताए ।

मन्त्री अर्यालले देश परिवर्तन गर्न र अर्थतन्त्रलाई चलायमान गर्न सहकारीले खेलेको भूमिका महत्वपूर्ण भएको जनाए ।  सहकारीको माध्यमबाट धेरैले स साना व्यापार व्यवसाय गरी स्वरोजगार बन्दै आएको उनले जनाए । सहकारीले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा समेत सहयोग र्पुयाएको उनको भनाई छ ।

सहकारी मार्फत थुप्रै उपलब्धी भएको भन्दै उनले सहकारीले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले भने,‘सहकारीले किसानले उत्पादन गरेको वस्तुको बजारसम्म पहुँच पुर्याएको छ । एक माना दुध, मह र घिउलगायत बेच्ने बातावरण सहकारीले सृजना गरेको छ । हरेक टोलमा गएर सहकारीले बचत गर्ने, उद्यमशीलता विकास गर्ने र बजारीकरण गर्ने विषयमा खेलेको भूमिका महत्वपूर्ण छ ।’

उनले विदेश जाने युवाको विषयमा बहस गर्नुभन्दा पनि देशमा नै कसरी बस्ने वातावरण बनाउने भनेर सबै पक्ष लाग्ने बेला आएको बताए । पहिलो पटक विदेश जान खोजेकालाई रोक्नु भन्दा पनि एक पटक विदेश गएर फर्किएकालाई विदेश जान नपर्ने वातावरण बनाउनु पर्नेमा सहकारीले जोड दिनुपर्ने उनको भनाई छ ।

नारा र ठूला भाषणले मात्र युवा विदेश जान नरोकिने मन्त्री अर्यालले बताए । स्वदेशमा केही गर्नका लागि अवसर सृजना गर्नुपर्नेमा उनले जोड दिए । कसरी रोजगारी सृजना गर्न सकिन्छ, धेरै भन्दा धेरैलाई स्वरोजागर बनाउन सकिन्छ, त्यसतर्फ सबै पक्ष लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीको ३० वर्षे ईतिहासमा पहिलो मेला गर्न र सहकारीबारे सकारात्मक सन्देश दिन सफल भएको बाइन् । उनले भनिन्,‘हामीले यो मेला पहिलो पटक गरेकाले कति गर्न चुक्यौं वा कती सफल भयौं ? तर शुरुवात गर्यौ।

आगामी वर्षमा भने व्यवस्थित गर्दैजाने छौं ।’ सडक र सदनमा समस्यामा रहेका सहकारीबारे चर्चा भैरहदा कृषि, पर्यटन लगायत क्षेत्रमा पनि सहकारी छ भनेर मेलामार्पmत बुझाउन सफल भएको उनको भनाइ छ । महासंघले असार ७, ८ र ९ गते तीन दिन मेला आयोजना गरेको थियो ।

मेला करीब ३ हजारले अवलोकन गरेको जनाइएको छ । २९ ओटा स्टलहरुमार्फत विभिन्न सहकारीका उत्पादन प्रदर्शन गरिएको थियो । मेलामार्फत महासंघले विभिन्न सहकारीमा आवश्यक पर्ने रोजगारीका लागि अनलाईनबाट संकलन गरिएका आईटि, फाईनान्स, एकाउन्ट अफिसर लगायतको रोजगारीका आवेदनहरु महासंघमार्फत समन्वय गरिदिने महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले जानकारी दिईन ।



Leave a comment