काठमाडौं । संघिय सहकारी विभागले सहकारीबाट लिएको ऋण समयमै तिर्न सदस्यहरुलाई सूचना प्रकाशन गरेको छ । विभागले जेठ ३१ गते सूचना प्रकाशन गरी सहकारीका ऋणी सदस्यहरुलाई साँवा तथा ब्याज भुक्तान गर्न भनेको हो ।
विभागले सहकारी संस्थाहरुवाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयभित्र ऋणको सावाँ तथा व्याज चुक्ता नगर्दा केही संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको जनाएको छ ।
सहकारी संस्थामा सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफुले भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्तामा नकरात्मक असर परेको विभागको भनाई छ । प्रचलित कानुनी व्यवस्थाको पूर्ण परिपालना गरी सहकारी संस्थाहरुलाई आफ्ना सदस्यहरुको बचत समयमा फिर्ता गर्न र ऋण तथा बाँकी बक्यौता असुली गर्ने तर्फ थप क्रियाशिल रहन विभागले अनुरोध गरेको छ ।
विभागले सहकारीका सम्पूर्ण ऋणी सदस्यहरुलाई प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी सम्झौता वा शर्त बमोजिम ऋण लिए बमोजिम ऋणको सावाँ र व्याज लगायतका रकम सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गर्न निर्देशन दिएको छ ।
Leave a comment