काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । संस्थालाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २६ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजबिक्रम थापा, ब्यवस्थापक सजना राजकर्णिकारसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा अध्यक्ष थापा ब्यवस्थापक सजना राजकर्णिकार तथा संचाल सदस्य भीमसेन महर्जन र संस्थापक सदस्य सञ्जय सापकोटा रहेको प्रहरीले जनाएको छ । बचतकर्ताको निक्षेप अपचलन गरेको जाहेरीपछि उनीहरुविरुद्ध गत पुस १९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भइ अनुसन्धान सुरु भएको थियो । संस्थाका अध्यक्षसहितका अन्यलाई कार्यालयबाट खटिएको टोलीले जेठ ३२ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
अध्यक्ष थापा २०५६ सालदेखि सत्र वर्षको उमेर श्री कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको चिफ एकाउन्टेन्ट र संस्थापक सदस्य रहेका थिए । थापा २०६० सालदेखि निरन्तर कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको कार्यकारी अध्यक्ष पदमा रहेको प्रहरीले जनाएको छ ।
थापा २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीका अध्यक्ष थिए भने उनले २०७१ सालमा कृषि टेलिभिजन समेत सञ्चालन गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सहकारीले ठगी गरेको भन्दै ५६६ बचतकर्ताले जाहेरी दिएका छन् । पक्राउ परेकाहरुले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । सहकारीका २ हजार ५ सय ३१ बचतकर्ता पीडित रहेको प्रहरीको भनाइ छ । सहकारीमा २ अर्ब ८० करोड निक्षेप रहेको छ ।
Leave a comment