काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारीमा जस्तै बैंकमा पनि पैसा फिर्ता लिनेको लाइन लाग्यो भने बैंकले थेग्ननसक्ने बताएका छन् ।
शुक्रबार ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस कोषाध्यक्ष गोष्ठीमा उनले बैंक सदस्यमा आधारित संस्था नभएर ग्राहकमा आधारित संस्था भएको बताएका हुन् ।
उसको पछाडि सपोर्ट गर्ने निकाय छ, तर सहकारीको सपोर्ट गर्ने भनेको सदस्य नै हुन्, उनले भने । पूर्व अर्थमन्त्री डा.खतिवडाले भने, ‘सहकारीमा जस्तै गरी बैंकमा पैसा फिर्ताको लागि लाइन लागे भने आजै नै बैंक ढल्छन्’ सदस्यको विश्वास गुम्यो भने सहकारी ढल्ने हो, ग्राहकको विश्वास धरमरायो भने बैक डुब्ने हो ।’
त्यसैगरी सहकारीलाई राष्ट्र बैकले नियमन गरिदिए ईज्जत बढ्छ भन्नु गलत भएको उनको भनाई छ । उनले सहकारी पनि आफ्नै ईज्जत भएको प्रणाली भएकोले राष्ट्र बैंक गुहार्नु गलत भएको बताए । खतिवडाले अर्थतन्त्रको व्यवस्थापकिय कमजोरी र सहकारी क्षेत्रको आन्तरिक समस्याले अभियान अप्ठ्यारोमा परेको बताए ।
वित्तीय जानकारी नराख्ने समाज र चेतनाको अभावले पनि सहकारीमा अहिलेको समस्या आएको खतिवडाको भनाई छ । सामाजिक पूँजी निमार्ण गरी उत्पादनको साधनको रुपमा सहकारीलाई बढाउन आवश्यक रहेको उनले बताए ।
सहकारी अभियानले चेलीबेटी बेचबिखन, मानव ओसारपसार, लागू पदार्थको कारोबार र हातहतियारको कारोबार बाहेक जे पनि गर्नहुन्छ भन्ने भाष्य बिकास गरेकाले सहकारीमा समस्या आएको उनको ठम्याई छ ।
ति बाहेकका क्षेत्रमा लगानी गर्दा हुने रहेछ भन्ने गलत धारणाको बिकास हुँदा सहकारीले समस्यामा भोग्नु परेको उनले बताए । खतिवडाले विश्वमा आर्थिक संकट रियल स्टेट कारोबारबाट नै भएको बताए ।
खासगरी एसियाली राष्ट्रहरुमा आएको आर्थिक संकटको मुख्य कारण घर जग्गा कारोबार रहेको उनले बताए । सहकारीको नेतृत्व तहले बिचार पुर्याउन नसक्दा र शिक्षा तालिमका साथै सहकारी सिद्धान्त पालना नहुँदा सहकारीले समस्या भोग्नु परेको उनको भनाइ छ।
सदस्यको हित नखोज्ने र संस्थाको ब्यालेन्ससिट मात्र फुलेको, सहकारी समाजले नखोजको उनले प्रष्ट पारे । उनले भने,‘ संस्थाको ब्यालेन्ससिटसँगै सदस्यको आर्थिकस्तर पनि माथि उठेको संस्था खोजिएको हो ।
तर सञ्चालक मोटाउँदै जाने र सदस्य दुब्लाउँदै जाने अवस्था आयो । सञ्चालकहरुलाई नाफा बढी चाहियो, १५ प्रतिशत नाफाले नपुगेर १८ प्रतिशत बनाए । यस्तो कुरा माग गर्नु नेतृत्वको गल्ती भएको उनको भनाई छ ।
सहकारी समाजिक व्यवसाय भएको र कतिपय अवस्थामा सदस्यको मुख हेरेर पनि लगानी गर्नु पर्ने भएकाले सय रुपैया तलमाथि हुँदा पनि राष्ट्र बैंकले समाउन सक्ने उनले प्रष्ट पारे ।
नेपालको ठूलो व्यापार भारतसँग जोडिएको र भारतमा मन्दी आउँदा त्यसको असर नेपालको अर्थतन्त्रमा समेत परकोले हरेक दश बर्षमा आर्थिक मन्दी आउन थालेकाले सावधानी अपनाएर आर्थिक कारोबार गर्न उनको आग्रह छ ।
बैंकका ग्राहकबीच चिनजान नहुने तर सहकारीमा एउटा सदस्यले अर्को सदस्यलाई चिन्ने र मैले पैसा झिकेर ल्याए है भन्ने बित्तिकै सदस्यहरु लाइन लाग्ने गरेकाले तरलता व्यवस्थापनमा समस्या भएको उनको भनाई छ । सहकारीले पनि सदस्यलाई ग्राहक ठानेर व्यवहार गर्ने हो भने सहकारी र नीजि बैंक एउटै हुने उनको भनाई छ ।
Leave a comment