काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सन् २०३० सम्म एकीकरण मार्फत ३० हजार सहकारीलाई १० हजारमा झार्ने लक्ष्य लिएको बताएकी छन् ।
ललितपुर बचत संघको आयोजनामा आजबाट धुलिखेलमा सुरु भएको साकोस कोषाध्यक्ष गोष्ठीमा बोल्दै अध्यक्ष मल्लले बजेटले पनि एकीकरणमा जाने संस्थालाई प्रोत्साहनको प्याकेज ल्याउने कुरा आउनु सकरात्मक भएको बताइन् ।
महासंघले सहकारीको वास्तविक तथ्याङ्क संकलन गर्ने बताएकी छिन् । अध्यक्ष मल्लले अहिलेको असहज कारणले कति संस्था बन्द भए र कति संस्था राम्रोसँग सञ्चालन भएका छन्, त्यसको यकिन तथ्याङ्क नभएको बताइन् ।
सदस्यले ५ लाखसम्मको बचत फिर्ता पाउने कुरा बजेटमा आउनु राम्रो पक्ष भएको उनको भनाई छ । सहकारीमा समस्या आउनुमा घर जग्गामा गरेको लगानी नै मुख्य हो कि अन्य कारण पनि रहेको छ भन्ने विषयमा अध्ययन गरेर सहकारीको वास्तविक समस्या पत्ता लगाउने उनले बताइन् ।
उनले सातै प्रदेशमा सहकारी गोष्ठी गरेर सहकारीमैत्री वातावरण निमार्ण गरी स्थानीय अर्थतन्त्र निर्माणमा सहकारीले योगदान गर्नसक्छ भन्ने सन्देश दिने मल्लले जानकारी दिइन् ।
युवालाई सहकारीप्रति आकर्षित गर्न प्रविधि प्रयोग बढाउन आवश्यक रहेको उनको भनाई छ । बचत फिर्ता नपाएको भन्दै सदस्यहरु सडकमा पुगेका कारण सहकारीप्रति नकरात्मक भावना विकास भएको उनको जनाइन् ।
यस्ता गोष्ठीले अभियानलाई सुद्धिकरण गर्न सघाउनले र सहकारीमा कोषाध्यक्षको गोष्ठी नयाँ भएको उनले बताइन् । सिकेका कुरालाई व्यवहारमा लागु गर्दै संस्थालाई राम्रो बनाउन सबै सहभागिलाई उनको आग्रह छ । कोषाध्यक्ष कोषको अध्यक्ष भएकाले आफ्नो भूमिकालाई बुझेर संस्थालाई सुशासनमा लैजान उनको सुझाव छ ।
Leave a comment