हाइलाइट

एक प्रतिशत सहकारीको बदमासीले सवै सहकारी बदनाम भएः मन्त्री बज्राचार्य

एक प्रतिशत सहकारीको बदमासीले सवै सहकारी बदनाम भएः मन्त्री बज्राचार्य :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले एक प्रतिशत सहकारीको बदमासीका कारण सवै सहकारीले बदनाम सहनु परेको बताएका छन् । उनले जनतामा सहकारीप्रति गलत धारणा विकास भएकाले त्यसलाई चिर्न सबै पक्ष लाग्नुपर्ने बताए ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस कोषाध्यक्ष गोष्ठी २०८१ को उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सहकारीको समस्या समाधानमा इमान्दारिता नभए बसमस्या बढेर जाने बताए ।

उनले सहकारीप्रति सकरात्मक भावना विकास नभए समग्र अर्थतन्त्रमा असर पर्ने जनाए । अर्थतन्त्र धरासायी हुँदा त्यसको प्रभाव सबै क्षेत्रमा पर्ने भन्दै उनले समस्या  समाधान गरेर जानुको विकल्प नरहेको बताए ।

बागमती प्रदेशमा ३२ सय सहकारी रहको र त्यसमध्ये ११ वटा सहकारी सिआईवीमा, २१६ सहकारी प्रहरीमा उजुरी परेको तथा ११५ संस्था आपसी छलफल र सल्लाहबाट समस्या समाधान उन्मुख रहेको जानकारी दिए।

१ /२ प्रतिशत सहकारीमा समस्या आएको भए पनि त्यसको प्रभाव सिङ्गो अभियानमा परेको भन्दै केही ठूला सहकारीमा आएको समस्याले समग्र अभियानलाई नै समस्यामा पारेको बताए । सहकारीमा सबै क्षेत्र जोडिएकाले समस्या समाधानका लागि अभियानले साथ दिनुपर्ने उनको भनाई छ ।

सहकारीका समस्या समाधानमा आफु लागिपरेको र धेरै सहकारीका सञ्चालकलाई भेटेर समस्या समाधानको लागि पहल गर्दै आएको उनले जानकारी दिए । सहकारीको प्रवद्र्धनका लागि आगामी बजेटमा ३ गुणा बजेट बढाउने गरी लागिपरेको उनले सुनाए ।

सहकारीले गरेको ऋण लगानी उठेन भने सरकारले सघाउने भन्दै उनले सहकारीकर्मीले पनि सामुहिक हित खोज्नुपर्नेमा जोड दिए । कतिपय सहकारीले नाफा कमाउन घर जग्गा लगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्दा पनि समस्या आएको उनले बताए।

सहकारीका समस्या समाधानमा भन्दा पनि इन्टरनल नेगोेशनमा लागेका कारण समस्या समाधान हुन नसकेको उनले प्रष्ट पारे । सहकारीका समस्या समाधान फास्टट्रयाकमा गर्न मन्त्रालय अघि बढेको उनले जानकारी दिए ।

सहकारीले उत्पादन र सेवाको क्षेत्रमा काम गरेको भए पनि त्यसको प्रचारप्रसारमा कमी भएको उनको भनाई छ । समुदाय र सदस्यको हितको लागि राम्रो काम गरेका सहकारीले राम्रा कुरा प्रचारप्रसार नहुँदा नकरात्मक भावना मात्र बढेको उनको भनाई छ।

संघका अध्यक्ष रामहरी बजगाईको अध्यक्षतामा आजबाट सुरु भएको गोष्ठीमा सहकारी संस्थाहरुलाई व्यवस्थित र मर्यादित बनाउन कोषाध्यक्षको गोष्ठी आयोजना गरिएको बताए ।

कोषाध्यक्षहरुको काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराई संस्थाहरुलाई थप व्यवस्थित गर्न गोष्ठीले सघाउने उनको भनाई छ।

संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले स्वागत मन्तव्य राख्दै कोषाध्यक्षको भूमिकाका बारेमा बृहत छलफल गरी सांकोस अभियानलाई व्यवस्थित गर्न सघाउने उदेश्यले गोष्ठीको आयोजना गरेको बताए ।

संस्थामा कोषाध्यक्षको भूमिका महत्वपुर्ण हुने भन्दै उनले संस्थागंत सुशासन कायम गर्दै सदस्यको बचतको सुरक्षाको प्रत्याभुति दिलाउन गोष्ठीले सघाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन संघका सचिव श्याम महर्जनले गरेका थिए । गोष्ठीमा ललितपुरमा रहेका बचत तथा ऋण सहकारी संस्थाका ८० कोषाध्यक्ष सहित एक सय जनाको सहभागिता रहेको छ ।



Leave a comment