काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी पिडितकालागि सडक आन्दोलन सुरु गरेको छ । लाखौँ जनता जोडिएको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थालेको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
आज पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन गरिएको हो । कांग्रेसले सहकारी पिडितहरुको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यका केन्द्रित सडक आन्दोलन थालेको हो । उनले ब्यक्तिसंगको विषय नभएर सरकारको प्रवृतिप्रतिको आन्दोलन भएको बताएका छन् ।
कांग्रेसको गत बुधबार बसेको केन्द्रीय कार्यसमिति तथा संसदीय दलको संयुक्त बैठकले आजदेखि सडक आन्दोलन गर्ने निर्णय गरेको थियो । कांग्रेसका अनुसार विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको छ । यति ठूलो रकम अपचलन हुँदासमेत सरकार गम्भीर नभएपछि कांग्रेसले आन्दोलनको बाटो रोजेको बताइएको छ । हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएको काग्रेसले उल्लेख गरेको छ । कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ ।
छानविन समिति बन्छ: महामन्त्री थापा
नेपाली काग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले सहकारीको छानबिन समिति कुनै हालतमा बन्ने बताएका छन् । उनले सहकारी पिडितलाई न्याय दिन सहकारीको छानबिन समिति जसरी पनि बन्नुपर्ने बताएका हुन् ।
नेपाल प्रेस युनियनको ३३ र्औ स्थापना दिवसको अवसरमा काठमाडौमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले प्रमुख प्रतिपक्ष दलले उठाएको विषयमा सरकारले सम्बोधन गर्ने बताए । उनले भने, ‘सहकारी पिडितले न्याए पाउने कुरामा हामी पछि हट्दैनौं, सहकारीको समिति नबनि धरै छैन, समिति बन्छ र हामीले भनेजस्तै बन्छ ।’ उनले सहकारी पिडितले न्याए पाउनेगरी आफूले संसदमा कुरा उठाएकोले सवैले साथ दिनु पर्ने बताए ।
Leave a comment