Sahakari Akhabar

साकोस अभियानमा अभाव र दवावले जन्मिएको मीरा

वित्तीय सहकारीलाई आवश्यक सबै प्राविधिक सेवा एउटै सफ्टवेयरबाट  

साकोस अभियानमा अभाव र दवावले जन्मिएको मीरा :: Sahakari Akhabar

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को हरेक साधारणसभामा सदस्य संस्थाहरुको सधै गुनासो हुनेगथ्र्यो, सफ्टवेयर गुणस्तरिय भएन, हाम्रो आवश्यक्ता पुरा भएन ।

आफ्ना सदस्यलाई उपलब्ध गराइरहेको सफ्टवेयरको सेवाप्रति निरन्तर गुनासो आउन थालेपछि संघमा निरन्तर दवाव बढ्दै गयो । संचालनमा रहेकै सफ्टवेयर अपग्रेड गरेर लैजाने वा नयाँ बनाउने विषयमा संघले कुनै निर्णय लिन सकेको थिएन ।

सफ्टवेयरमा संस्थाहरुको गुनासो बढिरहँँदा नेफ्स्कून आफैले भने रणनीतिक योजनामा आधुनिक प्रविधिको प्रयोग गर्दै सहकारीलाई डिजिटाइजेसन गर्ने, डिजिटल फाइनान्सिङ र शाखारहित वित्तीय सेवाको विस्तारमार्फत वित्तीय समावेशीकरणसम्मको योजना अघि सारिरहेको थियो ।

एकातर्फ सहकारी संस्थाहरुका लागि गुणस्तरिय प्रविधिको अभाव र अर्कातर्फ रणनीतिक उद्देश्य अनुसार वित्तीय सहकारीहरुको सेवालाई प्रविधिमैत्री वनाउनुपर्ने दवावमा रहेको नेफ्स्कूनले सन् २०२० मा यसै विषयमा स्वतन्त्र अनुसन्धान नै गरायो ।

थ्रि एच म्यानेजमेन्ट कम्पनीले गरेको अनुसन्धान प्रतिवेदनमा सहकारीमा उपलब्ध आइटी सेवाले संस्थाहरुको आवश्यक्ता पुरा नभएको उल्लेख गर्दै सम्पूर्ण सेवाहरु एकै ठाउँबाट उपलब्ध हुनेगरी इन्टरप्राइजेज रिसोर्स प्लानिङ अर्थात ‘इआरपी’ सिस्टम बनाउन सुझाव दियो।

उक्त प्रतिवेदन अनुसार नै नेफ्स्कूनले १५ माघ २०७७ मा सार्वजनिक सूचना जारी गर्दै साकोसहरुका लागि इआरपी सिस्टम बनाउनका लागि प्रस्ताव आवहान गर्यो । सूचनामा नेफ्स्कूनको ६० र कम्पनीको समेत ४० प्रतिशत शेयर लगानी साझेदारी हुनेगरी प्रविधिमा ५ वर्ष अनुभव भएको कम्पनीबाट प्रस्ताव मागिएको थियो ।

सूचना अनुसार आधा दर्जन कम्पनीहरुले प्रस्ताव पेश गरेकोमा रारा डिजिटल ल्याब्स प्राली छनोट भयो । नेफ्स्कूनका तत्कालिन कोषाध्यक्ष दिपक पनेरु र प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले सिफारीस र संचालक समितिबाट निर्णय गरी ६० प्रतिशत लगानी साझेदारीमा इआरपी सिस्टम बनाउनका लागि रारासँग सम्झौता भएको थियो ।

सम्झौता अनुसार नियाोसिस टेक्नोलोजी स्थापना गरी सोही कम्पनीबाट २०७९ कात्तिकदेखि बचत तथा ऋण सहकारीका लागि इआरपी सिस्टम ‘एमवाइआरए इआरपी’ अर्थात मीरा इआरपी सेवा सुरु भएको रारा डिजिटल ल्याब प्रालीका अध्यक्ष मनोज घिमिरेले जानकारी दिए ।

वित्तीय सहकारीका लागि आवश्यक सम्पूर्ण प्राविधिक सेवा एकीकृत रुपमा उपलब्ध गराउने गरी कम्पनीले काम गरिरहेको उनले जानकारी दिए । ‘सहकारीलाई कम शुल्कमा उच्च गुणस्तरिय प्रविधि दिनुपर्छ भन्ने यो प्रोजेक्टको मुख्य लक्ष्य हो’ उनले भने, ‘सोही अनुसार सहकारी संस्थाहरुको आवश्यता अनुसार हामीले मिरा इआरपीको सेवा विकास र विस्तार गरिरहेका छौं ।’

वित्तीय सेवामा प्रविधिको विकास र बिस्तारसँँगै सहकारी संस्थाहरु पनि विस्तारै यसतर्फ आकर्षित भइरहेका छन् । सहकारीहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघले सन् २०३० सम्म देशभरका सबै सहकारीलाई पूर्ण डिजिटलाइज गर्ने प्रतिबद्धता पनि गरेको छ । सर्वसाधारणको रुची र चासोका कारण सहकारीहरुलाई पनि आफ्नो सेवा प्रविधिमैत्री बनाउनुपर्ने दवाब छ ।

मिराले हाल वार्षिक १६ हजार रूपैयाँमा मिरा सफ्टवेयरका आधारभूत सुविधा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । यसमा थप सेवाहरू लिँदा पनि न्युनतम शुल्क लाग्ने गरी कम्पनीले बजार विस्तार गरिरहेको छ । मिरा इआरपी सहकारीका लागि सस्तो मूल्यमा गुणस्तरीय, भरपर्दो र सुरक्षित प्राविधिक सेवा भएको न्यौपानले दावी गरे ।

बचत तथा ऋण सहकारीहरुलाई प्रविधिमैत्री बनाउनका लागि उनीहरुलाई आवश्यक सम्पूर्ण प्रविधि सेवा एकमुष्ट रुपमा दिने सोच र उद्देश्य सहित मिरा इआरपी सुरु गरिएको नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । ‘नयाँ सफ्टवेयर बनाएर बेच्नु मात्र हाम्रो उद्देश्य होइन’ ढकालले भने, ‘सहकारीको सेवालाई पूर्ण प्रविधिमैत्री बनाउने र यसका लागि आवश्यक सबै सेवाहरु एकीकृत रुपमा दिने सोचमा काम भइरहेको छ ।’

थोरै सदस्य रहेका र सानो आकारमा कारोबार गर्ने सहकारीदेखि धेरै सदस्य भएका, ठूलो वित्तीय कारोबार गर्ने सहकारीहरुको लागि उपयुक्त हुने किसिमले सेवा दिने उनले बताए । यसबाट सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

मिरा इआरपी रारा ल्याब्स प्रालिसँगको सहकार्यमा नियोसिस टेक्नोलोजीले विकास गरेको हो । क्लाउडमा आधारित र प्रोपर ( SaaS: Software as a Service) सिष्टममा बनेको मिरा इआरपी सहकारीका सबै किसिमका कामहरुलाई डिजिटल बनाउन सकिने नियोसिस टेक्नोलोजीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) मनोज तिवारीले जानकारी दिए ।

मिरा सफ्टवेयरमा हाल सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा प्रणाली, मोबाइल बैंकिङ तथा ईबैंकिङ व्यवस्थापन, मौज्दात व्यवस्थापन प्रणाली लगायत सुविधाहरु उपलब्ध छन् । यसैगरी सहकारी संस्थाका लागि आवश्यक अन्य सुविधाहरु पनि थप गर्न लगिएको कम्पनीले जनाएको छ ।

मीराले औपचारिक सेवा सुरु गरेको करिव डेढ वर्ष भएको छ । यस अवधिमा २ सय संस्थाहरुले यसको प्रयोग सुरु गरेका छन् । अहिले कम्पनीले निःशुल्क सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम र अन्तरक्रिया जस्ता कार्यक्रम संचालन गरिरहेको कम्पनीका चिफ प्रोडक्ट अफिसर कवी न्यौपानेले बताए ।

मिराले हाल वार्षिक १६ हजार रूपैयाँमा मिरा सफ्टवेयरका आधारभूत सुविधा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । यसमा थप सेवाहरू लिँदा पनि न्युनतम शुल्क लाग्ने गरी कम्पनीले बजार विस्तार गरिरहेको छ । मिरा इआरपी सहकारीका लागि सस्तो मूल्यमा गुणस्तरीय, भरपर्दो र सुरक्षित प्राविधिक सेवा भएको न्यौपानले दावी गरे ।

मिरा ईआरपीले विभिन्न चरणमा इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमको अडिट गरी आईएसओ २७००१ सर्टिफिकेट समेत प्राप्त गरेको छ । यसलाई अझै सुरक्षित बनाउन उच्चस्तरीय प्रविधि पूर्वाधार तयार गरिएको छ ।

हाल मिरा ईआरपीलाई नेपाली र अंग्रेजी दुवै भाषामा चलाउन सकिन्छ । कम्पनीले प्रयोगकर्तालाई आवश्यकता अनुसार २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।



Leave a comment