Sahakari Akhabar

बैशाख मसान्तसम्म सहकारीका समस्या समाधान गर्ने कानुनको खाका बन्छः रजिष्ट्रार घिमिरे

बैशाख मसान्तसम्म सहकारीका समस्या समाधान गर्ने कानुनको खाका बन्छः रजिष्ट्रार घिमिरे :: Sahakari Akhabar

काठमाडौं । संघीय सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले बैशाख मसान्तभित्रै सहकारीको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने खालको कानुनी खाका तयार हुने बताएका छन् । राष्ट्रिय सहकारी बैंकले आयोजना गरेको एशियाली ऋण महासंघ अकूको एक्सेस कार्यक्रममा बोल्दै जिष्ट्रार घिमिरेले मन्त्रालयका तर्फबाट विज्ञहरुलाई जिम्मेवारी दिइसकेको बताएका हुन्।

उनले सहकारी क्षेत्रमा देखिएका समस्या छिटो तथा प्रभावकारी रुपले समाधानका लागि आवश्यक कानुन निर्माणको चरणमा रहेको र बैशाख मसान्तभित्रै मस्यौदा आउने बताए । रजिष्ट्रार घिमिरेले भने, मस्यौदा आएपछि सरोकारवालाहरुसंग छलफल तथा समन्वय गरी सुधार गरेर सहकारीका समस्या समाधानमा लाग्दैछौ ।

सहकारीबाट वचत फिर्ता नपाएकाहरुको रकम फिर्ता गर्न तथा सहकारीको ऋण असुलीका लागि समेत मन्त्रालयको तर्फबाट गम्भिरताका साथ छलफल गरी प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

सहकारीलाई लयमा ल्याउनका लागि सरोकारवालाहरुको सक्रिय र रचनात्मक सहयोगको अपेक्षा गरिएको भन्दै रजिष्ट्रार घिमिरेले सहकारीको समस्या छिटो समाधान गर्न नसक्दा देशको अर्थतन्त्र र शान्ति सुरक्षामा समेत समस्या सिर्जना हुने बताए ।

सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको भन्दै सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरेको बताए ।

बैंकका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले एक्सेस कार्यक्रमले सहकारीको क्षमता विकास गर्न सहयोग पुग्ने भएको हुँदा यो महत्त्वपूर्ण रहेको बताए ।

अकूकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यानरोकेले एक्सेस कार्यक्रम सहकारीहरूको सेवाको गुणस्तर अभिवृद्धि गरि संस्थालाई सुरक्षित र व्यावसायिक बनाउन सहयोग गर्ने कार्यक्रम भएको बताइन् ।

अकूका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचिले एक्सेस कार्यक्रमले सहकारीको दिगो विकास र गुणस्तर सुनिश्चितताका लागि कार्य गर्ने भएकाले यसले संस्थाहरुलाई अनुशासन कायम गर्न र सदस्यको पैसाको सुरक्षाको लागि सहज हुने बताए ।

बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भइरहेका कामको बारेमा जानकारी गराउँदै यति बेला सहकारीलाई बचाउनुपर्ने बाध्यता आइलागेको र सबै मिलेर बचाउनुपर्ने बताए ।

तालिमको उद्देश्य, बैंकका वर्तमान अवस्था र आगामी योजनाका बारेमा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी गराएका थिए । बैंशाख २२ देखि २४ गतेसम्म भक्तपुरको नगरकोटमा सञ्चालित तालिममा बैंकको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापन र प्रदेश प्रमुखहरूको सहभागिता थियो ।

बैंकका सदस्य सहकारीहरूको सेवाको गुणस्तर अभिवृद्धि गरि संस्थालाई सुरक्षित र व्यावसायिक बनाउन सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको तालिम कार्यक्रममा एक्सेससँग सम्बन्धित ८६ सूचकहरूमा छलफल र अन्तरक्रिया भएको बैकका सञ्चालक एवं शिक्षा, तालिम तथा स्तरीकरण उपसमितिका सदस्य महेन्द्र गिरीले जानकारी गराए ।



Leave a comment