काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालकले आफैले ब्याख्या गराएको कानुन मिचेका छन् । कानुन कार्यान्वयन गर्न प्रतिवद्ध रहेको नेफ्स्कून, संचालकले कानुन मिच्दा चाँही मुकदर्शक मात्र बनेको छ ।
संघका संचालक खेमराज सुवेदीले नेफ्स्कूनले नै ब्याख्या गराएको सहकारी ऐन ०७४ को दफा ४१ को उपदफा ५ मा भएको ब्यवस्थाको उलंघन गरेका छन् । उनी अहिलेसम्म पनि प्रारम्भिक संस्थाको कार्यकारी अध्यक्ष पदमा नै रहिरहेका छन् ।
नेफ्स्कूनको प्रकाशन रहेको साकोस आवाजसंग २० फागुन २०८० सम्म उनले संस्थाको अध्यक्ष पदको हैसियतमा अन्तर्वार्ता दिएका छन् । यसले उनी अहिलेसम्म उक्त संस्थाको कार्यकारी अध्यक्ष पदमा नै रहेको पुष्टि हुन्छ । नेफ्स्कूनको स्वनियम मार्गदर्शनले समेत संचालक कार्यकारी पदमा रहन नहुने विषयमा प्रष्ट बोेलेको नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर अधिकारीले बताए ।
उनले नेफ्स्कूनका केही संचालक बाहेक उक्त ब्यवस्था कार्यान्वयन गरेको र यो विषय संघले बाध्यकारीरुपमा लागु गर्ने भन्दा पनि, स्वघोषणा गरेर जाने विषय भएको बताए । उनले भने, सहजीकरण गर्नुपर्ने ठाउँमा संघले सहजीकरण गरी कानुन कार्यान्यनमा प्रश्न नउठ्ने काम गर्ने छौं ।
गत मंसिर १० गते सहकारी विभागका कानुन अधिकृत भोजराज दाहालले निर्देशन दिंदै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) लाई पत्र पठाएका थिए । पत्रमा सहकारी ऐन ०७४ को दफा ४१ को उपदफा ५ मा भएको ब्यवस्थाको ब्याख्या सहित कानुन कार्यान्वयनको निर्देशन पनि दिएका थिए ।
सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको छ । यसैगरी ऐनको परिभाषा सम्बन्धी दफा २ (फ) मा ‘सहकारी संस्था’ भन्नाले संस्था वा संघ सम्झनु पर्छ र सो शब्दले सहकारी बैंकलाई समेत जनाउँछ भन्ने व्याख्या गरिएको छ ।
नेफ्स्कूनले ऐनको उक्त दफाको ब्याख्या गरिदिन २०८० साल मंसिर ८ गते सहकारी विभागलाई पत्र पठाएको थियो । सहकारी विभागले मंसिर १० गते उक्त बुँदाको ब्याख्या गर्दै ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने व्यहोरा आदेशानुसार अनुरोध छ, पत्रमा उल्लेख छ ।
ऐनका यी व्यवस्थाले एकै व्यक्ति एक भन्दा बढी प्रारम्भिक संस्था या संघमा सञ्चालक बन्न बन्देज लगाएपनि फितलो नियमनका कारण सहकारीका संचालकहरु धमाधम ऐन विपरित हुनेगरी कानुन मिचिरहेका छन् ।
नेफ्स्कूनको गत पौष ७ र ८ गते निर्वाचन सहितको साधारण सभाबाट अध्यक्ष सुवेदी पनि संचालकमा निर्वाचित भएका हुन् ।
संघमा निर्वाचित सुवेदीले ८ गते सपथग्रहण पनि लिइसकेका छन् । तर कानुनत नव निर्वाचित सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा संचालकहरुको तल्लो तहमा रहेको पद स्वतः खारेज हुने भएपनि प्रारम्भिक संस्थाको निर्णय तहमा संचालकको हैसियतमा भाग लिइरहेको देखिन्छ ।
नेफ्स्कूनले पौष २३ गते बोर्ड बौठक पनि बसिसकेको छ । बोर्डले कानुनको पालना गरेर जानु पर्ने कुरालाई जोड दिएको प्रवक्ता दामोदर अधिकारी बताउँछन । अधिकांश साथीहरुले ब्यवस्था मिलाएर छोड्नुहुन्छ । हाम्रो कुरा चाही प्रारम्भिक संस्था र संजालको एउटा निकायसंग जोडिन पाउनुपर्ने हो, उनले भने ।
पुष ७ र ८ गते सम्पन्न संघको ३२ औं वार्षिक साधारण सभाबाट १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुरपरीवेक्षण समिति निर्वाचित भएका थिए । उक्त निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुमा अधिकांश व्यक्ति दोहोरो र तेहरो पदमा रहेका छन् ।
Leave a comment