काठमाडौं । काठमाडौँ महानगरपालिका सहकारी विभागले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमै ऋण तिर्न अनुरोध गरेको छ । विभागले सूचना प्रकाशन गरी ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिन अनुरोध गरेको हो ।
विभागले सहकारी संस्थाहरूमा आएका विविध समस्याहरूले सहकारीहरूको व्यवस्थापनमा असहज परिस्थिति सिर्जना भएको भन्दै सदस्यहरूको बचत रकम नै ऋणीहरूलाई कर्जाको रूपमा प्रवाह हुने भएकोले ऋणी सदस्यहरूले लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तान गर्न अनुरोध गरेको छ ।
सूचनामा केही ऋणीहरूले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने गरेकोले सदस्यले ऋण चुक्ता नगरेको गुनासो आइरहेको विभागले बताएको छ ।
ऋणी सदस्यहरूले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन अनुसार ऋणी सदस्यहरूको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउने सूचनामा उललेख छ ।
त्यसैले जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गरी समस्या समाधानमा सहयोग गरिदिनुहुन सम्पूर्ण ऋणी सदस्यहरूमा अनुरोध छ, सूचनामा उल्लेख छ ।
Leave a comment