काठमाडौं । सरकारले ललितपुरमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ।
संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले श्री लालिगुँरास सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहकारी विभागले श्री लालिगुँरास बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा गर्न केही दिन अघि सिफारिस गरेको थियो । यससंगै समस्याग्रस्त सहकारीको संख्या १७ पुगेको छ ।
सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अघि भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी र मोरङको तुलसी बहुमुखी सहकारी, पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ तथा ललितपुरको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । यसका साथै समस्याग्रस्त सहकारी संस्थाको संख्या १७ वटा पुगेको छ ।
यसअघि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको संस्थामा स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ छन् ।
यसैगरी कन्जुमर बचत तथा ऋण सरकारी संस्था र कुवेर बचत तथा ऋण सरकारी संस्था, चार्टर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सरकारी संस्था, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था र ओरेण्टल को–अपरेटिभ समस्याग्रस्त सहकारी घोषणा भइसकेका छन् ।
Leave a comment