काठमाडौं । सहकारी ऐन पालना गर्न र गराउन पहल गर्नुपर्ने निकायका जिम्मेवार ब्यक्तीहरु बाटै कानुन मिच्ने काम भइरहेको छ । कानुन कार्यान्वयनमा नेतृत्व नै उदासिन देखिँदा सहकारी ब्यक्तिगत स्वार्थकालागि प्रयोग भएको देखिएको हो । पार्टी र पहुँचका आधारमा सहकारी कानुनको अवज्ञा हुँदा समेत नियमक निकाय भने मुकदर्शक मात्र भएको छ । नियमक मुकदर्शक हुँदा सहकारी ऐनमा भएका ब्यवस्था कार्यान्वयनको पाटो कमजोर देखिएको छ ।
यसको पछिल्लो उदाहरण हो, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) की उपाध्यक्ष कल्पना श्रेष्ठ । श्रेष्ठ सहकारी प्रशिक्षक संगै अभियन्ता पनि हुन् । उनी पछिल्लो समय पूनः जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष बनेकी छन् । उनी गत मंसिरमा भएको संघको १८ औं बार्षिक साधारण सभा तथा सातौं निर्वाचन कार्यक्रमबाट पूनः अध्यक्ष बनेकी हुन् । उनले प्रतिनिधि गरेको संस्था मकवानपुरको जागरण बचत तथा ऋण सहकारी संस्थामा समेत उनी अध्यक्ष छन् ।
श्रेष्ठले सहकारी ऐन र विभागको पछिल्लो निर्देशनलाई अवज्ञा गरेको देखिन्छ । सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था छ ।
त्यसैगरी गत मंसिर १० गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले उक्त ब्यवस्थाको ब्याख्या गरिदिन संघिय सहकारी विभागलाई पठाएको पत्रमा दोहोरो पदको विषयमा सहकारी ऐनमा भएको ब्यवस्थाको ब्याख्या गर्दै उक्त ब्यवस्था लागू गर्न निर्देशन दिएको थियो ।
विभागले सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको सोही अनुसार गर्न निर्देशन दिएको छ । यसैगरी बागमती प्रदेश सहकारी ऐन ०७६ मा पनि कुनै ब्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको संचालक हुन सक्ने ब्यवस्था गरेको छ ।
कुनै तल्लो तहको सहकारी संघको संचालक माथिल्लो तहको संघमा निर्वाचित भएमा तल्लो तहको सहकारी संघको संचालक तत्काल छोड्नु पर्ने ऐनमा ब्यवस्था छ । तर ऐनको मर्म विपरीत अरुलाई नीति, विधि र प्रविधिको कुरा सिकाउने संघका संचालकहरुले नै कानुनको विपरित काम गर्न थालेपछि राम्रो संदेश नजाने सहकारीकर्मीको भनाइ छ ।
यस अघि नेफस्कून तथा राष्ट्रिय सहकारी बैंक संचालकले कानुनलाई चुनौती दिएको विषय आएको छ । नेफ्स्कून संचालक दिप्ती शाही र सहकारी बैंक संचालक शिवा थापा गत माघ १२ गते जिल्ला सहकारी संघ कैलालीको उपाध्यक्ष तथा राष्ट्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
प्रोस्कून उपाध्यक्ष कल्पना श्रेष्ठ, माथिल्लो संघमा हुँदा हुँदै पूनः जिल्लाको संघको अध्यक्ष बनेकी छन भने सुदुरपश्चिम प्रदेशबाट नेफस्कूनको सञ्चालकमा निर्वाचित भएकी दिप्ती शाही तथा कैलालीको पशुपति महिला साकोसबाट प्रतिनिधि गरी सहकारी बैंकमा संचालक बनेकी थापाले सहकारी विभागको निर्देशनलाई अवज्ञा गरेको देखिन्छ ।
Leave a comment