काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीको ऋण चुक्ता गर्न ऋणी सदस्यलाई सूचना जारी गरेको छ । मन्त्रालयले सूचना प्रकाशन गरी सहकारी संस्थासंग लिएको ऋण समयमै चुक्ता नगरे सम्पत्ति रोक्का गर्ने जनाएको छ ।
मन्त्रालयले सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समय भित्र ऋणको सावा तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको समेत पाईएको जनाएको छ ।
ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्ने जनाएको छ ।
सूचनामा सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने सावा तथा व्याज विभिन्न बहानाबाजी एवं केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्याक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख छ ।
मन्त्रालयले जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोहि बमोजिम ऋणको सावा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न मन्त्रालयको अनुरोध गरेको छ ।

Leave a comment