काठमाडौं । पछिल्लो समय सहकारीहरु बचत तथा ऋण कारोबारमा मात्र सिमित रहेको आरोप खेपिरहेका छन् । सहकारी ऐनमा उद्देश्य अनुरुप ७० प्रतिशत काम गर्नुपर्ने भन्ने ब्यवस्थालाई सहकारीहरुले बेवास्ता गरेको पनि अरोप छ ।
तर दोलखाको भीमेश्वर बहुउद्देश्यीय सहकारी भने बचत ऋणमा मात्र सिमित नभएर उद्देश्य अनुरुप काम गर्न तम्सिएको छ । संस्थाले सदस्यको आवश्यकतालाई ध्यानमा राखेर उत्पादन तर्फ आकर्षित भएको छ । संस्थाले स्थानीय स्तरमै अहिले साढे दुई करोडको लगानीमा पेलेट दाना उद्योग स्थापना गरेको छ ।
संस्थाको उद्देश्य नै उत्पादन, संकलन र बजारीकरणलाई सहजीकरण गरी उद्योग व्यापार संचालन गर्नु र सदस्यहरुलाई व्यवसायिक रुपमा आत्मनिर्भर बनाउदै वित्तीय तथा गैर वित्तीय कारोवार मार्फत सुखी बनाउने रहेको छ । वहुउद्देश्यीय प्रकृतिको संस्थाले हाल दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ भिरकोटमा पशुपक्षी पेलेट दाना उद्योगको स्थापना गरेको छ ।
०७५ सालदेखि उद्योग स्थापनाको काम गरेपनि २०७७ साल देखि भने उद्योगबाट उत्पादन शुरू भएको संस्थाका अध्यक्ष सीताराम उप्रेतीले बताए । उनले उद्योगबाट मासिक २५ टनसम्म दाना उत्पादन हुँदै आएको र ६ जनाले प्रत्यक्ष रोजगारी पाएको पनि बताए ।
२ करोड ९५ लाख ६९ हजार १९९ रुपैंयाँ लगानीमा स्थापना गरेको उद्योगले बिएससि पेलेट दान उत्पादन सुरु गरेको छ । सदस्यद्धारा उत्पादित वस्तुहरु संकलन तथा बजारीकरण गराई आर्थिक तथा सामाजिक उन्नति गर्न संस्थाले दाना उद्योगमा लगानी गरेको छ ।
उद्योग स्थापनाको लागि संघ, प्रदेश र स्थानीय तहले ६८ लाख अनुदान दिएको संस्थाले सुरुमा ५० प्रतिशत साझेदारी लागतमा उद्योग स्थापना गर्ने सम्झौता भएको भए पनि त्यो हुन नसकेको कामु व्यवस्थापक उदय कटुवालले जानकारी दिए ।
उनले प्रति केजी २ रुपैया नाफा राखेर दाना बिक्री गर्दै आएको र एक बोरा दानामा ७५ रुपैँया मात्रै नाफा संस्थाले लिने गरेको बताए । संस्थाले उपादन गरेको दाना दोलखा र रामेछापका कुखुरापालक किसानलाई बिक्री गर्दै आएको छ ।
संस्था २०५२ साल कार्तिक १५ गते स्थापना भएको हो । तामाकोशी गाउँपालिका, वैतेश्वर गाउपालिकाको केही भाग, मैलुङ गाउपालिका र शैलुङ गाँउपालिकाका केही भाग र भीमेश्वर नगरपालिकाको केही भागलाई संस्थाले कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।
संस्थाको आफनै दुई तलाको भवन रहेको छ । संस्थाले सदस्यहरुलाई कृषि व्यापार उद्योग वैदेशिक रोजगार तथा स्वदेशी रोजगारमा ऋण लगानी गरी उनीहरूको जीवनशैलीमा आमुल परिवर्तन भएको संस्थाका अध्यक्ष उप्रेतीको भनाइ छ । ७ हजार ३६६ सदस्य रहेको संस्थामा महिला ३ हजार ८१३ पुरुष ३ हजार ४९५ संस्था ५८ र बाल बचतकर्ता २ हजार ८४८ रहेका छन् भने १९ जना कर्मचारीहरु रहेका छन् ।
संस्थाका सामाजिक कार्य
कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गर्नकालागि सुलभ दरमा उन्नत बिउ बिजन तथा डिएपी, यूरीया र पोटास जस्ता रासायनिक मल उपलब्ध गराउँदै आएको छ । सदस्यको मृत्यू भएमा किरिया खर्चबापत १ हजार र मृतकको हकवालालाई १५ हजार देखि ३५ हजारसम्म सहयोग, मृगौला, क्यान्सर, मुटु प्रत्यारोपण तथा प्यारालाइसिस जस्ता रोगहरुमा ५ हजारसम्म राहत प्रदान गर्दै आएको छ ।
प्राकृतिक प्रकोपका कारण कुनै सदस्यको घर काम नलाग्ने गरी क्षति भएमा वा सदस्यको मृत्यु भएमा तत्काल ५ हजार सम्म सहयोग दिने गरेको छ । संस्थाले प्रत्येक वर्ष ७० वर्ष भन्दा माथिका वृद्ध सदस्यहरुलाई वार्षिक ६०० देखि ६ हजार रुपैंयाँ सम्मको ज्येष्ठ सदस्य सम्मान गर्ने गरेको छ भने दुईवटा बच्चा पाउने सुत्केरी महिला सदस्यलाई एक पटकमा १ हजार सुत्केरी भत्ता दिंदै आएको छ।
त्यसैगरी उद्यमी सदस्यलाई नमूना उद्यमी प्रशंसा पत्र तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रशंसापत्र सहित २ हजार पुरस्कार प्रदान गरिरहेको संस्थाले जनाएको छ । सदस्यहरुलाई निरन्तर रुपमा सहकारी शिक्षा शिविरको आयोजना गरी सहकारी सम्बन्धी शिक्षा प्रदान गर्ने र आवश्यकतामा आधारित शीपमूलक तालीम तथा वित्तीय साक्षरताको तालिम पनि प्रदान गर्ने गरेको छ ।
संस्थालाई सम्मान
संस्थालाई जिल्ला पशु सेवा कार्यालय चरिकोट, दुग्ध विकास संस्थान पुल्चोक, इफको फर्टिलाइजर इन्डिया, दोलखा दुग्ध उद्योग लि, जाइका नेपाल र जिल्ला सहकारी संघले पुरस्कृत तथा सम्मानीत गरेको छ ।
संस्थाको वित्तिय अवस्था
संस्थामा ७ हजा ३३६ सदस्य, ५८ संस्था समुह र २८४८ बाल सदस्य आवद्ध रहेका छन् । गत माघ मसान्तसम्म संस्थाको शेयरपुँजी ३ करोड ५३ लाख ८१ हजार, जगेडा कोष २ करोड ५६ लाख, अन्य कोषहरु ६२ लाख ३० हजार र बचत संकलन ३५ करोड २५ लाख ३३ हजार रहेको छ । त्यसैगरी संस्थाले ३६ करोड ६८ लाख ६४ हजार रुपैया सदस्यमाझ ऋण लगानी, तथा कुल कारोबार ४५ करोड ५ लाख छ ।
Leave a comment