काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बुधबार देखि जारी दुइदिने बागमती प्रदेश साकोस समिट नौ बुँदे संकल्प गर्दै सम्पन्न भएको छ ।
समिटले सहकारी अभियानको वर्तमान समस्या समाधानमा संघहरुले खेल्ने भूमिकाहरु प्रभावकारी बनाई संघहरुको सञ्जालमा आवद्ध संस्थाहरुको दिगो विकासको संकल्प पनि गरेको छ ।
त्यसैगरी आम सदस्यहरुको बचतको सुरक्षाको प्रत्याभूतिका लागि बहस र पैरवीमा सामूहिक जिम्मेवारी, वर्तमान सहकारी समस्या समाधानमा सामूहिक पहल र जोखिम व्यवस्थापनमा साझेदारी गर्ने संकल्प पनि समिटले गरेको छ ।
समिटको संकल्प
१.वर्तमान समयमा सञ्जालमा आवद्ध भएका सहकारीहरुमा देखिएको समस्याको पहिचान गरी निरुपण गर्नका लागि सामूहिक भूमिका निर्वाह गर्नेछौं । यसका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) र प्रदेश भित्रका जिल्ला बचत संघहरुसंग समन्वय गरी अवस्था विश्लेषण, समस्याको पहिचानका साथै, वर्गिकरण गर्ने र निरुपणका विधिहरु निर्माण गर्ने कार्यका लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि। लाई खुल्ला दिलले साथ दिनका लागि प्रतिवद्धता गर्दछौं ।
२. अभियानको सुदृढीकरणका लागि साझा सञ्जाल निर्माण गर्न यसै आ।व मा सामूहिक पहल गरी साझा सञ्जालको ढाँचा र कार्य प्रकृया सार्वजनिक गर्नेछौं ।
३. सहकारी ऐनको व्यवस्था बमोजिम सञ्जालमा आवद्ध सहकारी संस्थाहरुको सुधारात्मक अनुगमनको विधी तयार गरी बचत तथा ऋण सहकारी अभियानको तर्फबाट नेफ्स्कूनको सहकार्यमा अनुगमनको ढाँचा बनाई सो ढाँचाको आधारमा यसै आ।व देखि साझा अनुगमन गरी सुधारका लागि निरन्तर प्रयास गर्नेछौं ।
४.सहकारी सञ्चालनका लागि आवश्यक विषयवस्तुहरुमा आधारित श्रोत सामाग्रीहरुको विकास गरी एकै विषयवस्तु प्रवाहको वातावरण निर्माण गर्नेछौं । सहकारीको सञ्चालन क्षमता विकासका लागि सहकारीका सञ्चालकहरू क्षमता विकास र कर्मचारीहरुको क्षमता विकासमा प्रविधीमा आधारित तालिमहरुको विकास गरी एकिकृत सेवा प्रदान गरिने छ ।
५. जिल्ला भित्रका विषयबस्तु जिल्ला बचत तथा ऋण सहकारी संघहरु मार्फत, प्रदेशका विषयवस्तुहरु प्रदेश बचत तथा ऋण सहकारी संघ मार्फत र राष्ट्रियस्तरका विषयवस्तुहरु केन्द्रीयसंघबाट उठान गर्ने र निरुपणका लागि सबै संघहरुको भूमिका संयुक्त बनाउने गरी कार्यप्रकृयाको निर्माण गर्नेछौं ।
६.सहकारी ऐन, नियमावली, मापदण्ड र निर्देशनहरुको कार्यन्वयन, सम्पत्ति शुद्धिकरण निवारण ऐनको कार्यन्वयन, कोपोमिसको प्रयोगमा जिम्मेवार ढंगबाट प्रस्तुत हुनेछौं ।
७.सहकारीका वर्तमान समस्या समाधान, गलत गर्नेलाई कारबाहीमा सहयोगी र असल कार्य गर्ने सहकारीको प्रभावकारिताका लागि प्रवद्र्धनात्मक कृयाकलापहरुमा सहयोग, भावी कार्यदिशा निर्माण र सम्भावित जोखिमहरुको व्यवस्थापनमा तीनै तहका सरकार र अभियान बीचको सहकार्यलाई मजबुत बनाउदै लैजाने छौं ।
८.सहकारी संस्थामा सदस्यहरुको सेवाको गुणस्तरीयता वृद्धि, सदस्य सुरक्षा सिद्धान्तको पालना वित्तीय जोखिमको न्यूनीकरणका लागि जोखिम स्थानान्तरणका गर्न सदस्य संस्थाहरुलाई सुसूचित गर्दै उपयुक्त विधी र प्रकृयाको छनौट र उपयोगमा प्रोत्साहित गर्नेछौं ।
९.सहकारी अभियानको आफ्नै विशिष्ट संस्कृति र पहिचानका लागि एकै किसिमको सहकारी संस्कृतिको विकास गराउन र सहकारी अभियानको छवि विकासका लागि सहकारीमा सुशासन कायम गर्न गराउन एवम् सहकारीमा स्वःनियमन कायम गर्न प्रतिवद्धता व्यक्त गर्दछौं ।
Leave a comment