हाइलाइट

सहकारीको समस्यामा नियामकको भूमिका शंकास्पदः मीनराज कडेल

सहकारीको समस्यामा नियामकको भूमिका शंकास्पदः मीनराज कडेल :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कडेलले सहकारीको समस्यामा नियामकको भूमिका पनि शंकास्पद रहेको बताएका छन् ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ(बागमती प्रोस्कून) ले आयोजना गरेको दुईदिने ‘बागमती प्रदेश साकोस समिट’मा सहकारी अभियानको सुदृढिकरणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

‘बचत तथा ऋणको कारोबार गर्ने तथा सहकारीको मूल्य मान्यता भन्दा बाहिर रहेका सहकारीहरूमा समस्या सिर्जना भएको छ।यसलाई समाधान गर्नको लागि सबैको हातेमालो आवश्यक छ’ उनले भने, ‘अहिले सहकारीमा नियामक निकायको भूमिका पनि शंकास्पद छ ।

सहकारी क्षेत्रमा देखिएको प्रतिकुल अवस्थामा पनि एउटै संस्थाले एकैदिन २४ वटासम्म सेवा केन्द्र सञ्चालनका लागि स्वीकृति दिएको छ। यसले पनि सहकारी क्षेत्रमा समस्या ल्यायो ।’ उनले सहकारीले २२ प्रतिशतसम्म ब्याज दिएर सदस्यबाट ठूलो बचत लिएका संस्थाहरु नै समस्यामा परेको बताए

 कसैले सहकारी जोगाईदिने भन्दा पनि सहकारी आफैले सदस्यहरुको विश्वास जित्दै समस्याको समाधान गर्न केन्द्रित हुनपर्छ उनले सुझाए । यस्तै, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्याहरूको समाधानमा यस्ता किसिमका  समिटले समाधान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न, दीगो सहकारी अभियान बनाउन, स्वनियमन र सुशानसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न  महासंघले नेतृत्व गर्ने उनको भनाई छ ।

सहकरीले वित्तीय साक्षरता, रोजगारी सृजना गर्न, समावेशिता विकास र संगठन निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै मिलेर सहकारीको वर्तमान भ्रम चिर्नु पर्नेमा जोड दिए । पछिल्लो समय सहकारीमा यथार्थभन्दा पनि बढी समस्याका कुरा मात्रै बाहिर आएको उनले बताए ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने ढकालले औल्याए । अभियानलाई सुदृढ पार्नका लागि सबै पक्षले हातेमालो गरेर अगाडी बढ्नु पर्ने धारणा राखे ।

‘बचत तथा ऋण सहकारी अभियानलाई साकोस समिटले एक किसिमको सन्देश दिनेछ,’ उनले भने । यस्तै, उनले सहकारी महासंंघले सहकारी क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ की छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेकोमा उनको जोड छ ।

बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारी सस्थाहरुलाई सुशासित र मर्यादित बनाउनको लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ प्रतिवद्ध रहेकोे बताए ।

‘सहकारी क्षेत्रमा भएको जोखिम ब्यावस्थापनको लागि नै संघ केन्द्रित रहेको छ’, उनले भने । साकोस समिट सहकारी क्षेत्रमा सदस्यहरुको बचतको सुरक्षा गर्ने, देखिएका जोखिमलाई न्यूनीकरण विषयमा केन्द्रित हुने उनको भनाई छ । सहकारी अभियानलाई नीति र विधि अनुसार लैजानको लागि संघ सधै प्रतिवद्ध रहेको उनको भनाई छ ।

सहकारी क्षेत्र मजबुत बनाउनको लागि सबै निकायसँग मिलेर जानु पर्ने उनले औल्याए । सहकारीका विषयमा सरकार र सरोकारवाला निकायहरुसँग बहस र पैरबी निरन्तर रुपमा भैरहने सापकोटाले बताए । दुई दिनसम्म साकोस समिटमा १३ जिल्लाका २७० जना सहकारीकर्मीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।



Leave a comment