काठमाडौं । सहकारीको कानुन पालना गर्न र गराउन पहल गर्नुपर्ने निकायका ब्यक्तीहरु नै कानुन कार्यान्वयनमा उदासिन देखिएका छन् । पछिल्लो समय कानुन पालनामा सहकारी नेताहरु कमजोर देखिएका हुन् । सहकारीको नीति विधि सिकाउने अगुवाहरुबाटै कानुन विपरित काम हुँदापनि नियामक भने मौन देखिन्छन् ।
यसको पछिल्लो उदाहरण हो, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) तथा राष्ट्रिय सहकारी बैंक संचालकले कानुनलाई चुनौती दिएको विषय । नेफ्स्कून संचालक दिप्ती शाही र सहकारी बैंक संचालक शिवा थापा माघ १२ गते जिल्ला सहकारी संघ कैलालीको उपाध्यक्ष तथा राष्ट्रिय प्रतिनिधिमा निर्वाचित भएका छन् । शाही नेफ्स्कून संचालक हुन् भने थापा सहकारी बैंक संचालक हुन् ।
सुदुरपश्चिम प्रदेशबाट नेफस्कूनको सञ्चालकमा निर्वाचित भएकी दिप्ती शाही र कैलालीको पशुपति महिला साकोसबाट प्रतिनिधि गरी सहकारी बैंकमा संचालक बनेकी थापाले सहकारी विभागको निर्देशनलाई अवज्ञा गरेको देखिन्छ ।
विभागले गत मंसिर १० गते नेफ्स्कून लाई पत्र नै लेखेर सहकारीमा दोहोरो पदको विषयमा ब्याख्या गर्दै सहकारी ऐनमा भएको ब्यवस्था लागू गर्न भनेको थियो । तर नेफस्कून सञ्चालकमा निर्वाचित शाही र सहकारी बैंककी संचालक थापाले उक्त निर्देशनको अवज्ञा गर्दै जिल्ला सहकारी संघ कैलालीको उपाध्यक्ष तथा राष्ट्रिय प्रतिनिधिको पदकालागि निर्वाचनमा भाग लिएर संचालक बनेका छन् ।
सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको संचालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको सपथ लिएपछि त्यसअघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने विभागले ब्याख्या गरेको छ ।
ऐनको मर्म विपरीत अरुलाई नीति, विधि र प्रविधिको कुरा सिकाउने संघका सञ्चालकहरुले नै कानुन पालना नगरेपछि अरु संघ संस्थाले के पाठ सिक्लान सहकारीकर्मीको गुनाँसो छ ।
Leave a comment