काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सदस्य संस्थाहरुको सम्पूर्ण अवस्थाबारे जानकारी दिन अफसाइट मनिटरिङ सिष्टम सुरु गरेको छ ।
संघले संचालन गरेको एमआईएस (सदस्य सूचना प्रणाली) लाई परिस्कृत गरी सदस्य संघ संस्थाको (अफसाइट मनिटरिङ सिष्टम ) गैरस्थलगत रुपमै प्रविधि मार्फत सुपरिवेक्षण गर्ने सेवा सुरुवात गरेको हो । संघले आजबाट प्रविधिमार्फत आफ्ना सदस्य संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण तथा अनुगमन कार्यको शुभारम्भ गरेको हो ।
नेफ्स्कूनले सदस्य सूचना प्रणाली (एमआईएस) मा आवश्यक परिमार्जन तथा नवीनतम विशेषताहरु थप गरी सदस्यहरुको गैर स्थलगत सुपरिवेक्षण तथा अनुगमनको कामलाई व्यवस्थित, बैज्ञानिक र समयानुकूल बनाएको जनाएको छ ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले प्रविधिमार्फत एकीकृत रुपमा गैर–स्थलगत सुपरिवेक्षणको शुभारम्भ गरेका थिए ।
अध्यक्ष ढकालले प्रविधिमार्फत एकीकृत तथा वैज्ञानिक रुपमा सुपरिवेक्षणले अनुगमनलाई थप प्रभावकारी बनाउने बताए । उनले नेफ्स्कूनले आजबाट गरेको गैरस्थलगत अनुगमनको थालनी समय, स्रोत र सहजताका हिसाबले पनि प्रभावकारी भएको बताए ।
सदस्य संस्थाका वित्तीय प्रतिवेदनहरुसँगै मानव संशाधनको पछिल्लो अवस्था, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको बैठकसँगै सुशासनका विषयहरुमा एमआईएस प्रणालीमार्फत अद्यावधिक तथ्याङ्क, सूचना तथा जानकारी उपलब्ध हुने भएकाले यसले विशेष महत्व रहने अध्यक्ष ढकालले बताए ।
प्रमुख कार्यकारी अधिकृत सापकोटाले पहिलो चरणमा गुणस्तर सुनिश्चितता तथा जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी संस्थाहरुबाट गैरस्थलगत सुपरिवेक्षण तथा अनुगमन गरिने जानकारी दिए ।
सुरुमा एक्सेस, प्रोवेशन तथा कब्र्स कार्यक्रममा आवद्ध संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण तथा अनुगमन गरिनेछ,’ उनले भने, ‘त्यसपछि बिस्तारै सबै सदस्यहरुको अद्यावधिक जानकारी यसै प्रविधिबाट उपलब्ध हुनेछ ।’
गैर स्थलगत सुपरिवेक्षण अन्तर्गत विद्यमान समस्याहरुको एकमुष्ट सम्बोधन हुने गरी एमआईएस प्रणालीलाई द्रुत गतिमा परिस्कृत गरी यो उपलब्धि हासिल गरिएको सीईओ सापकोटाले बताए ।
उनले आगामी चैत सम्ममा नेफ्स्कूनको गुणस्तर सुनिश्चितता तथा जोखिम सुपरिवेक्षण कार्यक्रममा आवद्ध सबै संस्थाहरुको विवरण एमआइएसमा अद्यावधिक गरिसक्ने बताए ।
उनले नेफ्स्कूनको सञ्जाल भित्रका सबै सदस्यहरुको कुल कारोबार, बचत तथा ऋण लगानी, सेयर पुँजी, सञ्चालक समिति तथा व्यवस्थापन समूहसँगै अन्य आवश्यक सबै तथ्याङ्क, सूचना र जानकारी एकीकृत रुपमा उपलब्ध हुने बताए ।
नेफ्स्कूनको सदस्य सूचना प्रणालीलाई थप चुस्त बनाई संघको सञ्जाल भित्रको यकिन तथ्याङ्कहरु प्राप्त गर्ने गरी यो कार्यक्रम शुरुवात उनको भनाइ छ ।
यसमार्फत सदस्य संस्थाहरुले सहजतापूर्वक आफ्नो वित्तीय तथा गैरवित्तीय अवस्था केन्द्रीय संघलाई जानकारी गराउन सक्ने मात्र नभई आफूलाई परेका समस्याहरुको पनि सजिलै समाधान पाउने सीईओ सापकोटाले बताए ।
Leave a comment