हाइलाइट

जिडिपीमा सहकारीको योगदान १.५मा झर्यो : रामेश्वर खनाल

जिडिपीमा सहकारीको योगदान १.५मा झर्यो : रामेश्वर खनाल :: Sahakari Akhabar

काठमाडौं । पूर्व अर्थ सचिव रामेश्वर खनालले देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा सहकारीको योगदान ह्रास भएको बताएका छन् । उनले सहकारीको योगदान बढाउनुपर्नेमा जोड दिएका छन् ।

ललितपुर जिल्ला बचत तथा सहकारी संघले आयोजना गरेको साकोस अध्यक्षहरुको गोष्ठीमा नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको उपस्थितिःराष्ट्रिय पुँजी निमार्ण र ग्राहस्थ उत्पादनमा योगदान विषयमा कार्यपत्र पस्तुत गर्दै  उनले सहकारीको जिडिपीमा योगदान २.६२ प्रतिशतबाट १.५ प्रतिशतमा झरेको बताए ।

दुई वर्ष अघिको तथ्यांकमा आधारित सहकारीमा गरिएको पुँजी लगानी, बचत परिचालन र कारोबारको समग्र अवस्थालाई मूल्यांकन गरेर हेर्दा सहकारी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ह्रास भएको बताए ।

राष्ट्रिय सहकारी विकास बोर्डले आर्थिक वर्ष २०८२ / ८३ सम्म ५ प्रातिशत पुर्याउने र २५ वर्षको अवधिमा बढाएर १५ प्रतिशत पुर्याउने लक्ष लिएको थियो । उनले पछिल्को  समयमा सहकारी क्षेत्रको करीब १सय अर्ब रुपैयाको सम्पत्ति संकटग्रस्त बन्न गएको बताए ।

राष्ट्रिय तथ्यांक कार्यालयले समग्र रूपमा सहकारी संस्थाहरूले एक वर्षमा कति राष्ट्रिय पुँजी निर्माणमा योगदान पुर्याए त भनेर अलग्गै गणना नगर्ने उनले बताए  निजी  प्रतिष्ठान र घरायसी क्षेत्र जस्तो आर्थिक गतिविधिमा विविधता सहकारीको नभएको उनले भने ।

पर्यटन, जलविद्युत उत्पादन, ठुला उद्योग, खानी उत्खनन्, सूचना प्रविधिमा आधारित सेवा, ढुवानी तथा हवाई यातायात सेवा, निर्माण व्यवसाय आदिमामा सहकारीको उपस्थिति शून्य रहेको खनालको भनाई छ ।

खेती, बन, मत्स्यपालन, र खानी उत्खनन्मा सहकारीको संलग्नता नरहेको उनले जानकारी दिए । त्यसैगरी उत्पादनशील उद्योग, विद्युत उत्पादन, खानेपानी तथा सरसफाइ क्रियाकलाप, र निर्माण जस्ता क्षेत्रमा पनि सहकारीको लगानी एकदमै गौण रहेको खनालले  बताए ।

सेवा क्षेत्रमा वित्तीय सेवा र नगन्य खुद्रा व्यापार सेवा बाहेकका अरू उपक्षेत्रहरू जस्तै होटेल तथा रेस्टुरेन्ट, सूचना प्रविधि सेवा, शिक्षा, स्वास्थ्य सेवा, कला तथा मनोरञ्जन, घरायसी सेवा, ढुवानी तथा भण्डारण सेवा, सार्वजनिक प्रशासन, रियल इस्टेट क्रियाकलाप जस्ता काममा सहकारीको संलगनता शुन्यप्राय रहेको छ ।



Leave a comment