ललितपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा ‘साकोस अध्यक्षहरुको गोष्ठी’ सुरु भएको छ । गोष्ठी संघका अध्यक्ष रामहरी बजगाइको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मल्लले संस्थाहरुले सदस्यको मन जिन्त नसकेसम्म सहकारीको समस्या समाधान गर्न नसकिने बताइन् । सदस्यको मन जित्न संस्थाहरुले सहकारी शिक्षाका साथै सदस्यसँग जोडिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ ।
अहिलेको आवश्यकता ऋण असुली न्यायधिकरण भएको र समयमा ऋण असुली नहुँदा सदस्यले मागेको बेलामा बचत फिर्ता गर्न नसको उनको भनाई छ ।
आगामी चैत्र मसान्तभित्र ऋण असुली न्यायधिकरण गठन हुने उनले बताइन् । सदस्यले मागे जति बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सदस्यको विश्वास घटेको उनले सुनाइन् ।
मूलकको ५० जिल्लाको सहकारीमा कुनै समस्या नभएको र ५ सय जति सहकारीमा समस्या आए पनि त्यसको प्रभाव सिंगो अभियानमा परेको मल्लको भनाई छ ।
सहकारीलाई सरकारले सहुलियत ऋण नदिदाँ सदस्यलाई २३ प्रतिशत बढी ब्याज दिएर बचत लिनु पर्ने बाध्यता रहेको उनले बताइन् । सरकारले सहकारीलाई सहुलियत ऋण दिए र कानुनमा संसोधन गरिदिए सहकारीले पनि उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने मल्लले बताइन् ।
सहकारी ऐन संसोधनका लागि महासंघ अगाडी बढेको र त्यसका लागि राजनितिक नेतृत्वसँग छलफल अगाडी बढाएको उनले जानकारी दिइन् ।
सहकारीका समस्या समाधानमा सबै एकजुट हुनुपर्ने र सहकारीको वोर्ड राखेर बचत संकलना गर्ने थलो बनाएकाहरुलाई भने बहिष्कार गर्नु पर्नेमा उनले जोड दिइन् । सरकारले ऐन नियम कार्यन्वयनमा उदासिनता देखाउँदा अहिलको समस्या आएको उनको भनाई छ।
अहिले बचत तथा ऋण सहकारीमा बढी समस्या रहेको र संघले साकोसका अध्यक्षहरुलाई सहभागि गराएर गोष्ठी आयोजना गरेकाले यसले सकरात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने उनेको विश्वास छ ।
संघका अध्यक्ष रामहरी बजगाईले अध्यक्षहरुलाई संस्थाप्रति थप जिम्मेवार बनाउने उद्धेश्यले गोष्ठीको आयोजना गरिएको बताए । अध्यक्षहरु मर्यादित, अनुशासित र जवाफदेही हुनसके सहकारीमा समस्या नआउने उनको भनाई छ।
सहकारी संस्थामा समस्या आएपछि कतिपय संस्थाका अध्यक्षहरु पन्छिने गरेको भन्दै उनले संस्थामा अध्यक्ष नै मुख्य जिम्मेवार हुनुपर्नेमा जोड दिए । अध्यक्ष जति क्रियशिल हुन्छ, त्यति नै संस्था चलायमान हुने भन्दै उनले त्यसका लागि गोष्ठीले थप टेवा पुग्ने जनाए ।
संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्रचार्यले स्वागत मन्तव्य राख्दै सहकारीको वर्तमान समस्यासँग लड्न र अध्यक्षहरुमा सकरात्मक भावना विकास गर्न गोष्ठी सहयोगी हुने बताए ।
सहकारीमा शुसासन कायम गर्दै सदस्य केन्द्रीत भएर सञ्चालन गर्न र समस्या समाधान गर्न गोष्ठीले सघाउने उनले बताए । नगरकोटको रत्नागिरी होटलमा आजबाट सुरु भएको गोष्ठी दुई दिनसम्म चल्ने छ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुवराज विष्ट, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटालगायतले शुभकामना मन्तब्य दिएका थिए । गोष्ठीमा एक सहकारी संस्थाको अध्यक्षहरुको सहभागिता रहेको छ ।
Leave a comment