हाइलाइट

कृषि विकास सहकारी समस्याग्रस्त घोषणा, समस्याग्रस्त सहकारीको संख्या १६ पुग्यो

कृषि विकास सहकारी समस्याग्रस्त घोषणा, समस्याग्रस्त सहकारीको संख्या १६ पुग्यो :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको कुमारीपाटीमा केन्द्रीय कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ ।

संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट माघ २६ गते समस्याग्रस्त घोषणा गरिएको हो । यससंगै समस्याग्रस्त सहकारीको संख्या १६ पुगेको छ ।

संस्थाले लामो समयदेखि बचत फिर्ता नगरेपछि सञ्चालकहरुले संघीय सहकारी विभाग समक्ष बचत फिर्ता गराउने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धता अनुसार संस्थाले बचत फिर्ता नगराएपछि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो ।

संघीय सहकारी विभागमा संस्थाका २८८ जना बचतकर्ताहरुले २६ करोड ८८ लाख बराबरको बचत फिर्ताको मागदावीसहित निवेदन दिएका थिए । उक्त निवेदनपछि सहकारी विभागले विभागबाट स्थलगत अनुगमन र निरीक्षण समेत गरेको थियो ।

निरीक्षणमा संस्थाका अध्यक्ष, सञ्चालक, विभिन्न व्यक्तिहरु तथा कम्पनीहरुको नामबाट अपारदर्शी रुपमा बचतकर्ताको रकम लगानी गरेको, बचत उठाएर निजी स्वार्थ रहेको अस्पताल र अन्य कम्पनी एवं प्रयोजनमा लगानी गरेको, समयमा ऋण लगानीको सावाँ र ब्याज उठाउन नसकेको, ऋण हानी कोषमा नियमानुसार रकम जम्मा नगरेको, संस्थामा तरलता प्राय शून्य अवस्थामा रहेको पाएको थियो ।

यस अघि भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी र मोरङको तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। यसका साथै पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहित १३ वटा संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरिसकेको छ।

समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या १६ वटा पुगेको छ । यसअघि मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको  संस्थामा स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ हुन ।

यसैगरी कन्जुमर बचत तथा ऋण सरकारी संस्था र कुवेर बचत तथा ऋण सरकारी संस्था, चार्टर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सरकारी संस्था, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था र ओरेण्टल को–अपरेटिभ समस्याग्रस्त सहकारी घोषणा भइसकेका छन् ।



Leave a comment