हाइलाइट

अध्यक्षलाई जिम्मेवार बनाउन ‘साकोस अध्यक्ष गोष्ठी’

अध्यक्षलाई जिम्मेवार बनाउन ‘साकोस अध्यक्ष गोष्ठी’ :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाका अध्यक्षहरुलाई जवाफदेहि बनाउने उद्देश्यले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दुई दिवसीय गोष्ठी गर्ने भएको छ । संघको आयोजनामा आगामी फागुन ४ र ५ गते नगरकोटको रत्नागिरि रिसोर्टमा अध्यक्षहरुको आवासीय गोष्ठी हुन लागेको हो ।

संघका अध्यक्ष रामहरि बजगाईले सहकारी क्षेत्रमा अहिले देखिएको समस्याको समाधानको दायित्व संघको भएकाले संस्थाका अध्यक्षहरुलाई जवाफदेहि बनाउँदै समस्या समाधानमा सघाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए ।

सुशासनयुक्त संस्था बनाउन र संस्थाभित्र गुड गभर्नेन्स कायम गर्न अध्यक्ष नै मुख्य हुने उनले बताए । अध्यक्ष जस्तो हुन्छ, संस्था त्यसै अनुसार चल्छ । त्यसैले संस्थामा अध्यक्षको प्रभावकारी भूमिका हुनुपर्छ र त्यसका लागि ज्ञान, सीप र क्षमता चाहिन्छ, त्यहि कुरा सिकाउनु गोष्ठीको उद्देश्य रहेको उनको भनाई छ ।

निर्णय प्रक्रियादेखि व्यवसायिक संस्था बनाउन पनि अध्यक्ष सक्रिय हुनुपर्नेमा उनको जोड छ । अध्यक्षहरुको क्षमता अभिवृद्धि गरी जवाफदेहि बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीले जिल्लामा मात्र नभई देशभर नै सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा उनको छ । संस्था र अभियानलाई बलियो, दीगो र सुरक्षित बनाउन समेत गोष्ठीले सघाउ पुर्याउनेछ । त्यसका साथै सहकारीप्रति आम विश्वासको बातावरण सृजना गर्न समेत टेवा पुग्नेछ ।

संघको साधारणसभाले नै अध्यक्ष, सीइओ र कोषाध्यक्षको छुट्टाछुट्टै गोष्ठी गर्ने निर्णय पारित गरेको र सोही अनुसार अध्यक्षहरुको गोष्ठी हुन लागेको हो । संघको नीति तथा कार्यक्रममा समेत ती कुरा उल्लेख रहेका छन् ।

ललितपुर सहकारीको लागि उर्वर भूमि भएको र ५१९ वटा बचत तथा ऋण सहकारीमध्ये ४८२ वटा संघमा आवद्ध रहेका छन् । ती मध्ये केहि संस्थाहरुमा मात्रै समस्या रहेको र अध्यक्षहरु संस्थाप्रति जवाफदेहि नभएको पाइएको उनले जानकारी दिए ।

संस्थाका अध्यक्षहरु ‘मैले जागिर खाएको छैन, संस्थाको कारोबारको बारेमा मलाई केहि थाहा छैन र वित्तीय कारोबारको सबै जिम्मा व्यवस्थापकलाई लगाएका छौं, म त नाममात्रको अध्यक्ष हो’ भनेर पन्छिने गरेका छन् ।

उनले भने ‘अप्ठेरोमा परेका अधिकांश संस्थामा यस्तो समस्या देखिन्छ ।’ त्यसका साथै संस्थाहरुले कुन क्षेत्रमा लगानी गर्नुपर्ने, कति प्रतिशत लगानी गर्ने, ऐनकानुनमा के व्यवस्था छ, पल्र्स मनिटरिङ सिस्टम अनुसार संस्था सञ्चालन गर्न किन सकिएन ? घरजग्गामा मात्रै किन लगानी भयो ? ऋण लगानीमा विविधिकरण गर्नुपर्छ र एउटै क्षेत्रमा अधिक ऋण लागनी गर्दा अहिलेको समस्या भोग्नुपरेको भन्ने जस्ता विषयका बारेमा संस्थाका अध्यक्षहरुलाई गोष्ठीमा प्रशिक्षित गरिने उनले बताए ।

यस्तो परिस्थितिमा अध्यक्षको भूमिका बढी प्रभावकारी हुनुपर्ने र अध्यक्ष संस्थाको अभिभावक भएकाले संस्था कसरी सञ्चालन भएको छ ? नीति र विधिमा सञ्चालन भएको छ कि छैन ? संस्था सञ्चालनका लागि कस्तो कार्यविधि बनाउनुपर्छ र अध्यक्षको भूमिका के हुन्छ भन्ने कुरा गोष्ठीमा सिकाइने छ ।

संस्थाहरुलाई सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा लगाउनुपर्छ, भिजनरी अध्यक्ष हुनुपर्छ, ऐन नियममा के व्यवस्था छ भनेर त्यसको अध्ययन गर्नुपर्छ, कानुनमा उल्लेख भएको कुरा थाहा छैन भन्न पाईंदैन भन्ने विषयमा समेत छलफल गरिने भएको छ ।

गोष्ठीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व राजदूत एवं मोटिभेटर महेश दाहाल, सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्याय, सहकारी क्षेत्रको कानुनी जटिलता के छ र सदस्यहरुले कसरी न्याय पाउँछन् भन्ने विषयमा केन्द्रिय अनुसन्धान ब्यूरोका प्रतिनिधिले प्रस्तुतिकरण गर्नेछन् । वित्तीय सहकारीको जोखिम के छ ? जोखिमलाई कसरी न्यूनिकककरण गर्न सकिन्छ भनेर सहकारी बैंकका सिइओ बद्रीकुमार गुरागाईंले सिकाउने भएका छन् ।

त्यसैगरी, सहकारी कसरी सबल हुन्छ र त्यसका लागि कसरी सञ्चालन हुुनुपर्छ भन्ने विषयमा चन्द्रागिरि साकोसका सिइओ कृष्णकुमार श्रेष्ठ र सहकारीको समस्या समाधानमा जिल्ला प्रशासन कार्यालयले कसरी सघाउँछ भनेर ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले प्रस्तुतिकरण गर्नेछन् । त्यसले गर्दा गोष्ठी उपलब्धीमूलक हुने उनको भनाई छ ।

आवासीय गोष्ठी भएकाले सहभागिहरुको सम्पूर्ण ध्यान केन्द्रित हुने र सहभागिले पूरा समय दिने विश्वास आयोजकको छ । संघले संस्थाबाट ७ हजार ५ सय मात्र शुल्क लिएको छ । गोष्ठीमा खर्च प्रति सहभागी १२ हजारभन्दा बढी हुने संघले जनाएको छ ।

सहभागिबाट ५० प्रतिशत र संघले ५० प्रतिशत खर्च व्यहोर्ने उनले बताए । गोष्ठीमा एक सय संस्थाका अध्यक्षहरु सहभागि हुनेछन् । गोष्ठीको लागि सिट सीमित भएकाले धेरैवटा संस्थाका अध्यक्षले सहभागिता जनाउने इच्छा गरेपनि सहभागि गराउन नसकिएको संघले जनाएको छ ।

ललितपुरबाट नै साकोस समिट शुरु भएको र त्यसको अनुसरण अन्य जिल्लाका बचत संघहरुले पनि गरेको उनले बताए । गोष्ठीले जवाफदेहि, पारदर्शी र सुशासनयुक्त संस्था बनाउन भूमिका खेल्न, संस्थामा अध्यक्ष नै बढी जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिने भएकाले गोष्ठी सफल रहने विश्वास गरिएको छ । सदस्य संस्थाहरुको बृहत्तर हित गर्दै सबल संस्था बनाउन गोष्ठीले सघाउने अपेक्षा गरिएको छ ।



Leave a comment