विराटनगर । मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको साझा सहकारी संस्थाको साधरणसभा विगत १७ वर्षदेखि भएको छैन । कृषि विकास बैंकबाट लिएको ३ करोड ऋण तिर्न नसकेको सहकारीको अध्यक्षमा भगटबहादुर कुँवर र व्यवस्थापक टिकाराम लुईटेल रहेका छन ।
सहकारीका पूर्व अध्यक्षहरु भोकनारायण गच्छदार र देवी संग्रौलाहरुको पालामा नै सहकारी डुबेको हालका अध्यक्ष कुँवरले आरोप लगाएका छन् । ‘म त कोही अध्यक्ष बन्ने अवस्था नभएपछि बनेको मात्रै हुँ । सहकारी निस्क्रिय भइसकेको छ’ उनले भने, ऋण–धनबारे मलाई धेरै जानकारी छैन ।’
कृषि विकास बैंकको ३ करोड रुपैयाँ ऋण अहिले पनि कायम रहेको कुँवरले बताए । तर, बैंकलाई ऋण तिर्नसक्ने अवस्था सहकारीको छैन । सहकारीको नाममा भएको भवन, जगा तथा सम्पत्तीले ऋणको भार नबोक्ने उनी स्वीकारछन् ।
लिलामी गरेर लान्छ नि ? ऋण कसरी तिर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,’ सहकारीको बबिया, बाहुनी र होक्लाबारीमा भएको सम्पती बैंकले जफत गर्छ होला । तर, अहिलेसम्म ऋण नबोक्ने भएको कारण बैंक लिलामी प्रक्रियामा नगएको हो ।
कुँवरका अनुसार अहिले पनि सहकारीले ऋण लगानी गरेका मध्ये २२ जनाबाट ऋण असुली भएको छैन । २०४० सालमा ५ हजार साँवा ऋण दिएको सहकारीले ब्याजसमेत असुल गर्दा १९१५ हजार पुग्छ ।
त्यसबेला सावा मात्रै साढे ३ लाख हाराहारीमा ऋण लगानी गरेकोमा अहिले ब्याजसहित १९ गुणा बढी असुल गर्दा पनि बैंकको ऋण पुग्न सक्ने अवस्था छैन । सावाको दोब्बर भन्दा बढी ब्याज लिन नपाइने व्यवस्थाले गर्दा ऋण तिर्न नसक्ने अवस्था रहेको कुँबर बताउँछन् ।
अबको एक हप्तामा सहकारीको विस्तृत अडिट गरेर साधरणसभा गर्ने कुँवरले बताएका छन् । अव एक हप्तामा अडिट गर्नका लागि लेखापरीक्षकको व्यवस्था गरेका छौं । त्यसपछि हिसावकिताब फरफारक भएपछि साधरणसभा राख्छौं, उनले भने,’ कृषि विकास बैंकबाट लिएको ३ करोड रुपैयाँले जगा खरिद र भवन निर्माण भएको देखिएको छ ।’
सहकारीका शेयर सदस्यहरुले भने संस्थाको कारोबार, अडिट रिपोर्ट र माइन्यूटको अवस्थाबारे सार्वजनिक हुनुपर्ने माग गरेका छन् ।’ २०३६ सालमा स्थापना भएको उक्त सहकारीमा ५ सयभन्दा धेरै शेयर सदस्य थिए।
सहकारीका शेयर सदस्य तथा जग्गा दाता गोपाल कार्की भन्छन्,’ २०६२ सालको अडिट रिपोर्टमा २१ लाख रुपैयाँ ऋण लगानी गरेको उल्लेख छ। तर, त्यसपछि भित्रभित्र कारोबार गरेको भएपनि अहिलेसम्म त्यसको सत्य तथ्य जानकारी आएन । सहकारी कसरी डुब्यो ? किन डुबाइयो ? जनतालाई जानकारी दिनुपर्ने उनको माग छ ।
कार्कीले आइतबार जिल्ला प्रसासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसमक्ष उजुरीसमेत दिएका छन् । उनका अनुसार बुबा टेबहादुर कार्कीले आफ्नो नाममा दर्ता गरेको २ कठ्ठा जग्गा सहकारीलाई दिएका थिए । होक्लाबारीमा भएको २ कठ्ठा जगामध्ये २ कठ्ठा जग्गा दानबाट पाएपछि अर्को १ कठ्ठा जग्गा सहकारीले नै खरिद गरेको थियो ।
सहकारीको नाममा सोही जग्गामा निर्माण भएको भवन मात्रै हो । अरु विषयबारे सर्वसाधरण अनविज्ञ छन् । अहिले उक्त भवन र जगामा प्रहरी चौकी राख्नका लागि गाउँपालिकाले सिफारिस गरेको छ । स्थानीयले भने हिसाव किताब फरफारक नगरी चौकी राख्न नहुने बताउँदै आएका छन् ।
कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले खाली भवन र जगामा अस्थायी हिसावले प्रहरी चौकी राख्न खोजिएको बताए । स्थानीयले सहकारीको हिसाब कितावको बारेमा छानविनको माग गर्दै यसअघि नै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको अधिकारीले बताए । तर, सहकारीको हिसाव किताब छानविनको जिम्मा प्रदेश रजिष्टार कार्यालयको भएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले भने सहकारीको हिसाव किताब पारदर्शी बनाउन अध्यक्ष र व्यवस्थापकलाई बोलाएर छलफल गर्ने बताएका छन् ।’ सहकारीको जग्गा र भवनमा प्रहरी चौकी रहने कुरा हुँदैन ।
सहकारीमा अनियमितता भएको भए वा हिसावकिताब पारदर्शी नभएको भए पारदर्शी गरेर पुनः सहकारी संचालनको लागि हामी सहजीकरण गर्दै उनले भने । स्थानीय ७१ जना शेयर सदस्यहरूले भने सहकारीको साधरणसभा फागुन ११ गते भित्रमा गरेर पुनः सहकारी संचालन गर्नुपर्ने निर्णय गरेका छन् ।
Leave a comment