हाइलाइट

सहकारीको समस्या पहिचान हुनेगरी प्रतिवेदन तयार गर्न प्रधानमन्त्रीको निर्देशन

सहकारीको समस्या पहिचान हुनेगरी प्रतिवेदन तयार गर्न प्रधानमन्त्रीको निर्देशन :: Sahakari Akhabar


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् ।

सरोकारवालासँग बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले सहकारीका समस्या पहिचान हुनेगरी प्रतिवेदन तयार पार्न भनेका हुन् । उनले समस्यामा रहेका संस्थाहरुको बर्गिकरण गरी समस्या समाधान गर्न आवश्यक रहेको बताए ।

उनले समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनु पर्ने बताए ।

प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढङ्गले आवश्यक गृहकार्य गर्न सरोकारवाला मन्त्रालय र निकायलाई निर्देशन दिए ।

सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारीसम्बन्धी हाल कार्यरत नियामक संस्थाहरुलाई राम्रा, सङ्कटमा रहेका र डुबेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिए ।

उनले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गर्नुहुँदै यसमा तिनवटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

सहकारीसम्बन्धी छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू उपस्थिती रहेको थियो ।



Leave a comment