हाइलाइट

नवआदर्श सहकारीका व्यवस्थापक उमेशकुमारलाई थुनामा राख्न अदालतको आदेश

नवआदर्श सहकारीका व्यवस्थापक उमेशकुमारलाई थुनामा राख्न अदालतको आदेश :: Sahakari Akhabar

विराटनगर । बचत तथा ऋण सहकारीको सम्पूर्ण जिम्मेवारी लिएर एकलौटी कारोबार गर्दै १ करोड १५ लाख ८७ हजार रुपैयाँ हिनामिना गर्ने मोरङको कटहरी गाउँपालिका–२ का उमेशकुमार मण्डललाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालतले पनि आदेश  दिएको छ ।

कटहरी–२ मा रहेको नवआदर्श सहकारी संस्थाका व्यवस्थापक मण्डल बचतकर्ताको रकम निकालेर चलाएको आरोपमा जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि कारागारमा थिए ।

मण्डल एक्लैले सहकारीका सञ्चालकले गर्ने नक्कली निर्णय गरेर ऋण लगानी, बचत, सेयर फिर्ता जस्ता गतिविधि गर्दै आएको आरोप लागेको थियो ।

जिल्ला अदालतको आदेशलाई सदर गर्दै उच्च अदालतले बिहीबार उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश गणेशप्रसाद बरालको इजलासले जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

मण्डललाई पुर्पक्षमा पठाउने आदेशसँगै सहकारीका अर्का कर्मचारी भविश्वर न्यौपानेलाई १६ लाख ३० हजार रुपैयाँ धरौटी लिएर छाड्न अदालतले आदेश दिएको छ ।

न्यौपानेले सहकारीबाट १६ लाख ३० हजार रुपैयाँ चलाएको प्रमाण भेटिएको थियो । उनले सो रकम तिरिसकेको भए पनि अदालतले त्यत्तीनै रकम धरौटी माग गरेको थियो ।

मण्डलले कानुनी छिद्रको प्रयोग गर्दै कारागार भित्रैबाट सहकारी सञ्चालकबिरुद्ध आफूले नभई सञ्चालकहरुले रकम हिनामिना गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी समेत दिएका छन् ।

प्रहरीले जाहेरी नलिएपछि उनले उच्च अदालतबाटै आदेश गराएका छन् । मण्डलले धेरै मानिससँग संकलन गरेर चलाएको रकमको ब्ययभार सञ्चालकको काँधमा आएको छ ।

मण्डलले ३ सय ८० जना बचतकर्ताको रकम हिनामिना गरेको सहकारीको आन्तरिक छानविनले देखाएपछि सरकारी वकिलको कार्यालयले सोही प्रमाण अदालतमा पेश गरेको थियो ।

ब्यवस्थापक मण्डलले सहकारीमा सफाईको काम गर्ने, सडक किनारमा बसेर चिया र पकौडी बिक्री गर्ने महिलाहरुको बचत पनि आफैंले चलाएको छानविनले देखाएको छ ।

सामाजिक सुरक्षाभत्ता लिएर सहकारीमा जम्मा गर्ने एकल महिला फुलोदेवी शर्माको रकम पनि उनने चलाएको देखिएको सहकारीका अध्यक्ष किशोरकुमार पाण्डे बताउँछन् ।

सेयर सदस्य निरु पाख्रिन, भूमि राई लगायतको नक्कली भर्पाई गरेर उनीहरुको सेयर फिर्ता गरेको देखाई मण्डल आफैंले लिएको अध्यक्ष पाण्डेको भनाई छ ।

कटहरी ४ नयाँ बजारका सुरेन्द्र साहले १६ लाख रुपैंयाँ जम्मा गर्न ब्यवस्थापक मण्डललाई दिएका थिए । मण्डलले पासबुकमा २ लाख ६० हजार रुपैंयाँ र त्यसको ब्याज पनि चढाएर रकम थप गरेपछि उनी दंग परे ।

तर, सहकारीको कुनै पनि अभिलेखमा उनले जम्मा गरेको रकम नदेखिएपछि आफू मर्माहत भएको उनी बताउँछन् । ‘सहकारीको ब्यवस्थापकनै आफू भएकाले सम्पूर्ण जिम्मेवारी लिन्छु भन्थे, अहिले जेलमा छन् मेरो पैसा कसले दिन्छ ?’ साहले भने ।

सहकारी संस्थाको रकम हिनामिना शीर्षकको मुद्दामा सहकारीका सञ्चालक सञ्जयकुमार मण्डल र दिलिप अधिकारीले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई गत असारमा नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

खाता परिपक्क भएपछि साहले रकम माग्दा बचतमा १२ प्रतिशत ब्याज दिनेगरी जम्मा गरेको बताउँदै आएका थिए । साहले रकम माग्दै दवाब दिन थालेपछि हस्ताक्षर नै नचल्ने भए पनि ब्यवस्थापक मण्डलले सही गरेर सहकारीको चेक दिएका थिए ।

२०७५ देखि २०७९ को साढे ३ वर्षको अवधिमा ब्यवस्थापक मण्डलले सहकारीको रकम हिनामिना गरेर तीन ठाउँमा घडेरी र एक ठाउँमा घर खरिद गरेका थिए । अदालतको आदेशले उनले त्यस अवधिमा जोडेको अचल सम्पत्ती रोक्का भएको छ ।

उनले बचतकर्ताको पासबुकमा रकम चढाए पनि सहकारीको सफ्टवेयरमा राखिने ब्यक्तिगत खातामा रेकर्ड राख्दैन थिए । चार्टर एकाउण्टले छानविन गरेपछि मात्रै ब्यवस्थापक मण्डलको हिनामिना पत्ता लागेको सहकारीले जनाएको छ ।

मण्डलले सहकारीमा खाता नै नभएका उनका बाबु शम्भुप्रसाद मण्डल र आमा सीतादेवी मण्डलका नाममा १६ लाख ५२ हजार रुपैंयाँ बचत फिर्ता गरेको देखाएका छन् ।

खाता भएकी स्थानीय गायत्रीदेवी ठाकुरलाई उनका नाममा २ लाख रुपैंयाँ ऋण निकालेर १ लाख मात्रै दिएका थिए भनें बाँकी १ लाख रुपैंयाँ आफैं चलाएका छन् ।

सहकारीको नाममा रहेको जमिन बिक्रीका लागि बैना कागज बनाउँदा पूर्वअध्यक्ष लालबहादुर खत्रीलाई नक्कली साक्षी खडा गरेर उनको नाममा किर्ते हस्ताक्षर गरी  मण्डलले ९ लाख ५० हजार रुपैंयाँ बुझेको देखिएको छ ।

बचतकर्ता अर्चना साहले मण्डलमार्फत बिभिन्न मितिमा ११ लाख ७९ हजार रुपैंयाँ बचत गरेको पासबुकमा उल्लेख छ । तर, बचतको रकम मण्डल आफैंले चलाउने गर्थे ।

खाता परिपक्क भएपछि साहले रकम माग्दा बचतमा १२ प्रतिशत ब्याज दिनेगरी जम्मा गरेको बताउँदै आएका थिए । साहले रकम माग्दै दवाब दिन थालेपछि हस्ताक्षर नै नचल्ने भए पनि ब्यवस्थापक मण्डलले सही गरेर सहकारीको चेक दिएका थिए ।

मण्डलले हिनामिना गरेको रकम र त्यसको ब्याज बचतकर्तालाई फिर्ता गर्न झण्डै २ करोड रुपैंया लाग्ने सहकारीले जनाएको छ।

बचतकर्ताको रकम नदेखिएपछि छानविन गर्दा चार वर्षदेखि उनले बचतकर्ताबाट लिएको रकम सिधै आफैंले लाने गरेको देखिएको सहकारी सञ्चालक किशोर पाण्डे बताउँछन् ।



Leave a comment