काठमाडौं । विषेशत संगठन प्रमुखले विभागलाई मजबुत बनाउन नेतृत्वमा अरुलाई अघि सारेर त्यसको पनि नेतृत्व गर्ने गर्छन् । संगठनमा धेरै भन्दा धेरैलाई सहभागी गराएर नयाँ नेतृत्व उत्पादनमा अग्रसर हुनुपर्ने प्रमुखनै पदकालागि चुनावी मैदानमा उत्रिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को हालै सम्पन्न निर्वाचनमा यस्तै दृष्य देखियो । संघको पुष ७ र ८ गते भएको ३२ औं बार्षिक साधारण सभाले नयाँ नेतृत्वकोलागि निर्वाचन पनि गरेको थियो ।
नयाँ नेतृत्व चयनकालागि नेपाली कांग्रेस निकट सहकारीकर्मीले गठबन्धन गरेर नेकपा एमाले निकट सहकारीकर्मीसंग प्रतिष्पर्धा गरेको थियो ।
नेकपा एमाले निकट सहकारीकर्मीले काठमाडौको हार्दिक होटमा पार्टीका सहकारी विभाग प्रमुख खगराज अधिकारी राखेर परितोष पौड्यालको नेतृत्व घोषणा गरेका थिए ।
त्यसैगरी गठबन्धनले धुम्बाराहीको दियो महलमा पार्टीका सहकारी विभाग प्रमुख राखेर चन्द्रप्रसाद नेतृत्वमा निर्वाचनमा जाने घोषणा गरेका थिए । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओबादी (केन्द्र) रहेको थियो ।
नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेल, नेकपा एसका सहकारी विभाग प्रमुख नवराज अर्याल र नेकपा माओबादी (केन्द्र) सहकारी विभाग प्रमुख लिलामणि पोख्रेल अनुपस्थित भएकोले पार्वती थापा विभागको तर्फबाट रहेकी थिइन।
एक दिन अघि तीनै दलका प्रमुखले गठबन्धनको सहमती गरेका थिए । गठबन्धनले सिट बाँडफाँड पछि पौष ७ गते निर्वाचनमा नेकपा एसका सहकारी विभाग प्रमुख नवराज अर्यालले आफै नेफ्स्कूनको संचालक पदमा उम्मेदवारी दिए ।
संघको ८ गते भएको निर्वाचनमा गठबन्धनको ६ सिट सहित साझा उम्मेदवार चन्द्रप्रसाद ढकाल अध्यक्षमा विजय भए । नेफ्स्कूनको निर्वाचनमा कूल २ हजार ६३३ मतमा २ हजार २४९ मत खसेको थियो ।
निर्वाचनमा नवराज अर्यालले आफूसहित ५ सिट लिएका थिए । त्यसमध्ये आफूसहित तीन जनालाई निर्वाचित गराउन सफल भए । विभाग प्रमुख अर्यालले खुला सदस्यबाट १ हजार ८३ मत पाएका थिए ।
उनी काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का बरिष्ठ उपाध्यक्ष पनि हुन् । नेफ्स्कूको निर्वाचन निर्देशिकाले एउटै उद्देश्यको माथिल्लो संघमा निर्वाचित भएपछि तल्लो संघको पद स्वत खारेज हुने ब्यवस्था गरेको छ । कास्कूनमा बरिष्ठ उपाध्यक्षको पद खाली भएको छ । नेफ्स्कूनको नयाँ संचालक समितिले आजै पदभार ग्रहण गरेका छन् ।
Leave a comment