काठमाडौं । सहकारी ऐन अनुसार कार्य नगरेकोले सहकारी विभागले २०७९ साल साउन ३० गते नेपाल केन्द्रीय स्वाथ्य सहकारी संघलाई खारेजीको सूचीमा राखेको थियो ।
सहकारी विभागले स्पष्टिकरण माग गर्दै नेपाल केन्द्रीय स्वाथ्य सहकारी संघलाई विवरण पेस गर्न भनेको थियो । विभागले सूचना प्रकाशित गरी खारेज गर्न नपर्ने भए संघमा आवद्ध भएका संघ संस्थाको विवरण सहित स्पष्ट पार्न भनेको थियो ।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अध्यक्ष रहेको उक्त संघमा महासचिव खेमराज सुवेदी रहेका छन । सहकारी ऐन विपरित गैरकानुनी रुपमा दोहोरो पदमा बसेका महासचिव सुवेदी यतीखेर नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ( नेफ्स्कून ) मा संचालकको उम्मेदवार छन् ।
स्वास्थ्य केन्द्रीय संघ लथालिङ्ग रहेको र सकृय बनाउन पहल गर्नुपर्ने मान्छे अर्को केन्द्रीय संघको संचालक पदमा उम्मेदवारी दिनु पदको मात्र लोभ भएको एक सहकारीकर्मीले बताए । सुवेदी यतीखेर भोली हुने नेफ्स्कूनको संचालक पदमा उम्मेदवारी दिन एसएमएस मार्फत भोट मागीरहेका छन् ।
नियमित साधारणसभा नै नगरी निश्कृय संघमा महासचिव रहेका सुवेदी जिल्ला सहकारी संघ काठमाडौंको बरिष्ठ उपाध्यक्ष र जिल्ला स्वास्थ्य सहकारी संघ काठमाडौंको उपाध्यक्षको भूमिकामा समेत छन् ।
जबकी सहकारी ऐन–२०७४ तथा वागमती प्रदेश सरकारको सहकारी ऐनले एकै व्यक्ति एक भन्दा बढि संघसंस्थामा संचालक बस्न नपाउने ब्यवस्था गरेको छ । तर, सहकारीका नेताहरुले ऐनको प्रावधान कार्यान्वनमा अटेरी गर्दै आएका छन् ।
स्वास्थ्य सहकारीकै दुई वटा संघमा पदाधिकारी रहेका सुवेदी व्यक्तिगत रुपमा भने बचत तथा ऋण सहकारीमा सक्रिय छन् । उनी नयाँ बानेश्वरस्थित सहयात्री बचत तथा ऋण सहकारीको कार्यकारी अध्यक्ष हुन् ।
उक्त संस्था यसअघि बहुउद्देश्यीय सहकारी संस्था भएपनि सहकारी ऐन अनुसार कारोबार गर्न नसकेपछि बचत तथा ऋणमा परिवर्तन भएको हो । स्वास्थ्य सहकारीको जिल्ला संघ काठमाडौं र केन्द्रीय संघ नै लामो समयदेखि साधारणसभा नगरी निश्कृय बसेको छ ।
महासचिव सुवेदीको पद कानुन ब्यवस्था विपरित भएपनि साधारणसभा गरी संघको नेतृत्व परिवर्तन गर्न तथा संघलाई पुर्नजीवन दिन वेवास्ता गरेको सहकारीकर्मी गुनाँसो छ ।
स्वास्थ्य केन्द्रीय संघ ६ वर्षदेखि निष्कृय रहेपनि संघका सञ्चालकको राजनीतिक पहुँचका कारण नियामकले कारवाही गर्न सकेको छैन ।विभागले साधारणसभा नगर्ने स्वास्थ्यलगायत आधा दर्जन केन्द्रीय संघहरुलाई गत वर्ष माघ ५ गते पत्र काटी साधारणसभा नगरेकोबारे स्पष्टीकरण सोधेको थियो ।
त्यसपछि अधिकांश संघहरुले साधारणसभा गरेपनि स्वास्थ्यले न साधारणसभा गरेको छ, न त विभागमा साधारणसभा गर्न नसक्नुको कारणबारे कुनै जवाफ दिएको छ ।
Leave a comment