काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को नेतृत्व सहितको साधारणसभाले सहकारी अभियान गर्माएको छ ।
संघसंस्थाहरुमा सुशासन कायम गराउने जिम्मेवारी बोकेका सहकारी नेताहरु भने पदिय मर्यादा विपरित नेफ्स्कूनको चुनाव प्रभावित पार्न सक्रिय भएको पाइएको छ ।
निर्वाचनमा आफु अनुकुलका व्यक्तिलाई जिताउन उनीहरुले गैरकानुनी रुपमा दोहोरो सदस्यतादेखि प्रतिनिधि छनोटमा समेत चलखेल गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघ तथा राष्ट्रिय सहकारी बैंककी संचालक अमृता सुब्बा सुनसरीको इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुनु । उनी नेफ्स्कूनको ३२ औं साधारणसभाका लागि भने इटहरीकै समर्पण साकोसको प्रतिनिधी भएर सहभागी हुँदैछिन ।
यसअघि राष्ट्रिय सहकारी वैकमा संचालक बन्न भने उनी महिला साकोसबाट प्रतिनिधि बनेकी थिइन् । यसैगरी सहकारी महासंघमा भने सुब्बा जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीबाट प्रतिनिधि आएकी थिइन् ।
सहकारी ऐनमा एक व्यक्तिले एउटा उद्देश्यको एक मात्र संस्थाको सदस्य बन्ने व्यवस्था भएपनि उनले सहकारी राजनीतिका लागि दोहोरो सदस्यता लिएको पाइएको छ । सुब्बाले आफु अध्यक्ष रहेको महिला साकोसबाट भने नेफ्स्कून प्रतिनिधिमा अनिता गुरागाईलाई पठाएकी छिन् ।
त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीको अध्यक्ष योगमाया सुवेदी पनि संघको अध्यक्षमा निर्वाचित हुदा महिला साकोसको प्रतिनिधि भएर आएकी थिइन । अहिले नेफ्स्कूनको साधारणभामा भाग लिनका लागि भने इटहरीकै सुगम साकोसबाट प्रतिनिधि भएकी छिन् ।
त्यस्तै जिल्ला सहकारी संघ, सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल संघको अध्यक्ष हुनलाई पुर्वाञ्चल साकोसको प्रतिनिधि भएका थिए । तर हाल नेफ्स्कूनको साधारणभाका लागि भने जुनतारा साकोसको प्रतिनिधि बनेका छन् । दोहोरो सदस्यताको विषय अभियानकै समस्या रहेको र आफुले मात्र रोक्न नसकिने बताए ।
त्यसैगरी जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल राष्ट्रिय सहकारी महासंघका संचालक हुन् उनी महासंघको संचालक बन्न जिल्ला सहकारी संघबाट प्रतिनिधि बनेका छन् भने नेफ्स्कून निर्वाचनका लागि नयाँ मिलन साकोस विर्तामोडबाट प्रतिनिधि ल्याएका छन्। स्रोतका अनुसार योगमाया सुवेदी र अनिता गुरागाइ नेफ्स्कूनको संचालकमा उठ्ने तयारी गरिरहेका छन् ।
Leave a comment