हाइलाइट

सफ्टवेयर र घरजग्गाको विवादमा नेफ्स्कून नेतृत्व, अनियमितता भएको पूर्वअध्यक्षकै आरोप 

सफ्टवेयर र घरजग्गाको विवादमा नेफ्स्कून नेतृत्व, अनियमितता भएको पूर्वअध्यक्षकै आरोप  :: Sahakari Akhabar

संघको ३३ औं स्थापना दिवसको अवसरमा २०७७ साउनमा तत्कालिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले शिलान्यास गरेपनि हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) सफ्टवेयरदेखि घरजग्गा खरिदको विवादमा मुछिएको छ ।

संघले अघि बढाएका काभ्रे वनेपास्थित सहकारी तालिम केन्द्र, काठमाडौैं नयाँबानेश्वरस्थित भवन र मिरा इआरपी सफ्टवेयरको काम प्रभावकारी रुपमा अघि बढ्न नसकेपछि नेतृत्व विवादमा तानिएको हो । संघका पूर्वअध्यक्षले समेत यसमा अनियमितता भएको आरोप लगाउन थालेका छन् ।

नेफ्स्कूनले गत वर्ष मिरा इआरपी नियोसिस टेक्नोलोजी प्रालीसँग सम्झौता गरी मिरा इआरपी सफ्टवेयर निर्माण गरेको थियो । सफ्टवेयर निर्माणकै लागि नयाँ कम्पनी स्थापना गरी त्रिपक्षिय सम्झौता गरेको थियो ।

मिरा इआरपी निर्माणका लागि २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएकोमा नेफ्स्कूनको ६० प्रतिशत अर्थात १२ करोड रुपैयाँ र रारा डिजिटलको ८ करोड लगानी छ ।

त्यसअघि नेफ्स्कूनले ‘नेकोस प्लस’ सफ्टवेयर बिक्री गर्दै आएको थियो । उक्त सफ्टवेयरको निर्माता कम्पनी जिनोव इंक र नेफ्स्कूनबीच सम्झौता नसकिदै मिरा बिक्री गर्न थालेपछि विवाद अदालतसम्म पुगेको थियो । तर, हाल दुवै पक्षबिच सहमति भई मुद्दा फिर्ता भइसकेको छ ।

जसमा नेकोस प्लस नाम दुवै पक्षले प्रयोग नगर्ने र उक्त सफ्टवेयर चलाइरहेका संस्थाहरु जिनोवको हुने सम्झौता भएको बताइएको छ । एउटा कम्पनीसँग सम्झौता कायमै रहँदा नेफ्स्कूनले नयाँ कम्पनीसँग सम्झौता गरी सफ्टवेयर निर्माणका लागि ठूलो लगानी गरेको छ । सदस्यहरुले यसको औचित्यतामाथी प्रश्न गर्दै यसमा ठूलो आर्थिक चलखेल भएको आशंका गर्दै आएका छन् ।

संघका पूर्व अध्यक्ष ऋषीराज घिमिरे सफ्टवेयरमा लगानी अनुसार उपलब्धी नदेखिएको बताउछन् । ‘नेफ्स्कूनले लगभग २० करोडको सफ्टवयर बनाउने कोसिस गरिरहेको छ, १० करोड जती भुक्तानी पनि गरिसकेको छ । तर उपलब्धी के हो ? जिम्मेवारी कसले लिने अलमलमा रहँदै लगानी गरेको छ ।

ओनरसिप कसले लिने भन्ने थाहा नभइकन जनताले खाइनखाई जम्मा गरेको त्यत्रो पैसाको दुरुपयोग भएको छ’ राजधानीमा भएको एक कार्यक्रममा उनले भने ।

यसअघि सफ्टवेयरको निर्माणबारे नेफ्स्कूनको संचालक समितिको बैठकमा समेत बिवाद भएको थियो । संचालक समितिमा बिवाद भएपछि अध्यक्ष परितोष पौड्यालले सफ्टवेयर निर्माण समितिको संयोजकबाट कोषाध्यक्ष दिपक पनेरुलाई हटाएर उपाध्यक्ष शान्ति अधिकारीलाई जिम्मेवारी दिएका छन् ।

यसैगरी नयाँ बानेश्वरमा भवन निर्माणका लागि नेफ्स्कूनले २ वर्षअघि शिलान्यास गरेपनि काम भने सुस्त गतिमा अघि बढेको छ । संघको ३३ औं स्थापना दिवसको अवसरमा २०७७ साउनमा तत्कालिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले शिलान्यास गरेपनि हालसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

पूर्वअध्यक्ष घिमिरेले संचालक समितिको निकट व्यक्तिलाई ठेक्का दिइएको बताए । ‘२७ करोडको घर बन्दैछ, घर बनाउने ठेकेदार पनि मेन मान्छेको घरकै मान्छेलाई पर्ने गरेर ठेक्का लगाइएको बुझिएको छ ।’

यसैगरी संघले काभ्रेको बनेपा नगरपालिका–१२ स्थिती वासडोलमा निर्माण गर्ने भनेको तालिम केन्द्र पनि अलपत्र अवस्थामा छ । चार वर्षअघि नै राष्ट्रिय सहकारी महासंघका तत्कालिन अध्यक्ष केशवप्रसाद बडालबाट तालिम केन्द्र शिलान्यास गर्ने बाहेक अन्य काम अघि बढेको छैन ।

पूर्व अध्यक्ष घिमिरेले तालिम केन्द्र संचालनकालागि काभ्रेमा किनेको जग्गाको विषयमा पनि प्रश्न उठाएका छन् । ‘काभ्रेमा किनिएको ५ करोडको जग्गा बेबारिसे छ, तालिम केन्द्र बनाउने कुरा अलपत्र छ, थ्रिडि नक्सामा २२ लाख खर्च गरेर प्रचार मात्र गरियो, अहिले बेच्दा किनेको मूल्य पनि आउदैन ।’

तालिम केन्द्र बनाउनका लागि तत्कालिन अध्यक्ष डिबी बस्नेतको कार्यकालमा जग्गा खरिद गरिएको थियो । उनकै कार्यकालमा भवन शिल्यान्यास भएपनि हालको नेतृत्वले त्यो पुरा गर्नेतर्फ चासो नदिएको बताइएको छ ।



Leave a comment